गोपाल पोखरेल
मंगलबार, श्रावण ७, २०७६
323

उदयपुर-कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ठूलो पहिरो गएपछि एक सातादेखि सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ । बेतिनी–घुर्मी खण्डमा पर्ने ठाँटीमा पहिरोले सडक नै बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । यहाँ सडक सञ्चालन गर्न सडकको एलाइमेन्ट नै परिर्वतन गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
“ठाँटीभन्ज्याङमा राजमार्ग नै पहिरोले बगाएकोले एलाइमेन्ट परिर्वतन गरेर अहिलेको सडकभन्दा ४० मिटरमाथिबाट नयाँ ट्रयाक खोल्न खोजिरहेका छौं,” सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोदकुमार साहले भने, “ सडक पहिरोमा परेपछि ४० मिटरमाथिबाट झण्डै ५ सय मिटर लामो ट्रयाक खोल्नु परेको हो ।” पहिरोले गर्दा सडक पुरै भत्किएकाले हाइट कटिङ गरेर बेस बनाउनु पर्ने उनले बताए ।

एलाइमेन्ट परिर्वतन गरेर नयाँ ट्रयाक खोल्नु परेकाले सडक सुचारु हुन कम्तीमा एक साता लाग्ने छ । बाढीपहिरोका कारण सिद्धिचरण राजर्मागको माथिल्लो खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । राजमार्गको मिर्चैया–कटारी र कटारी–बेतिनी खण्डको पहिरो पन्छाएर आंशिक रूपमा सडक सञ्चालनमा ल्याइए पनि बेतेनी–घुर्मी खण्ड भने पूर्णरूपमा अवरुद्ध छ ।
“अवरुद्ध सडक जतिसक्दो छिटो खोल्न हामी लागिरहेका छौं,” प्रमुख साह भन्छन्, “तर भौगोलिक कठिनाइका कारण मेसिन औजार प्रयोग गर्न समेत अप्ठ्यारो छ ।” राजमार्ग तत्काल संचालनमा ल्याइए पनि यो दीर्घकालीन समाधान हुने खालको भने नहुने उनले बताए ।
यो राजर्मागको बेतेनी–घुर्मी खण्ड २५ किमिअन्तर्गत कटारी नगरपालिका– ११ ठाँटीभन्ज्याङ र लप्सेको भीरसहित दर्जन बढी स्थानमा पहिरो गएको स्थानीय बताउँछन् । उनीहरूका अनुसार ठाँटीभन्ज्याङमा सडक नै बगेको छ भने लप्सेभीरमा सडक माथिबाट ठूलो पहिरो खसेको छ । यो खण्डमा मोटरसाइकलसमेत सञ्चालन हुनसक्ने अवस्था नरहेको कटारी नगरपालिका ११ का वडाध्यक्ष दिपक बुढाक्षेत्री बताउँछन् ।
“राजमार्गको माथिल्लो क्षेत्र अवरुद्ध हुँदा औषधि, खाद्यान्नलगायत दैनिक रूपमा प्रयोग हुने अत्यावश्यक वस्तुको अभाव हुदै गएको छ,” उनले भने, “माथिल्लो सगरमाथाका लागि आपूर्ति गरिने खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ ।” सगरमाथाका सोलखुम्बुु, ओखलढुंगा र खोटाङ जिल्लाका लागि कटारीबाट दैनिक उपभोग्य सामग्रीको आपूर्ति हुन छाडेको एक साता नाघेको उनले बताए ।
नेपाली सेनाले ०५६-०५७ साल तिर यो राजमार्गको ट्रयाक निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि हरेक वर्ष करोडौं रुपैयाँ खर्च हुँदै आए पनि सडक दिगो हुनसकेको छैन । ओखलढुंगाको हर्कपुरदेखि ओखलढुंगा बजारसम्म सडक कालोपत्रे भइसकेको भए पनि उदयपुर खण्डको सडक भने दिनप्रतिदिन जीर्ण बनिरहेको छ । हाल पहिरो गएर अवरुद्ध भएको ठाँटीभन्ज्यांगमा मात्रै १० करोडभन्दा बढी रकम खर्च भइसकेको स्थानीय बताउँछन् ।