कारोबार संवाददाता
आइतवार, श्रावण ५, २०७६
323

भोजपुर- केही दिनअघिको लगातार वर्षाका कारण भोजपुरमा पहिरोबाट एक सय घरपरिवार विस्थापित भएका छन् । घरबारविहिन बनेका उनीहरु पाल तथा छिमेकीको शरणमा दुःखले रात काट्न बाध्य भएका छन् ।
भोजपुर नगरपालिकामा १४, टेम्केमैयुङ्ग गाउँपालिकामा २६, पौवादुङ्मा गाउँपालिकामा २, आम्चोक गाउँपालिकामा ४४, रामप्रसाद राई गाउँपालिकामा ९, अरुण गाउँपालिकामा १, हतुवागढी गाउँपालिकामा ३ र साल्पासिलिछो गाउँपालिकामा १ गरी हालसम्म १ सय परिवार विस्थापित रहेका छन् ।

त्यस्तै जिल्लाका नौवटै स्थानीय तहका १६ घर पूर्ण रुपमा र ५८ घरमा आंशिक क्षति पुगेको छ । पहिरोले पूर्ण र आंशिक क्षती पुगेपछि ती परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ नुरहरि खतिवडाले जानकारी दिए । पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरि ५ जनाको ज्यान गएको थियो । अन्य ३ जना घाइते भएका थिए । प्रजिअ खतिवडाले स्थानीय तहहरुलाई आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरि पठाउन पत्राचार गरिएको बताए । क्षति विवरण आउने क्रम जारी छ । बाढी, पहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा र अर्को घर बनाउनुपर्ने बाध्यताका परिवारको व्यवस्थापनका लागि विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको प्रजिअ खतिवडाले बताए ।

पीडित परिवारलाई गाउँपालिकाको राहत
पहिरोमा श्रीमती र दुई छोरा गुमाएका रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङ तुन्ताङका कुमार राईको परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पिडित राईलाई गाउँपालिकाले जनही २५ हजारका दरले ७५ हजार र आवास निर्माणका लागि २० हजार गरी ९५ हजार राहत रकम हस्तारन्तरण गरेको हो ।
प्राकृतिक विपत्मा परिवार गुमाएका पीडितलाई सहयोगी भावनाले राहत रकमसहित पाल र खाद्यान्न हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष विजय राईले बताए । गत असार २८ गते घरमाथिबाट खसेको पहिरोले पुरिएर राईकी ३६ वर्षिया श्रीमती मनकुमारी राई, १७ वर्षिय छोरा शिव कुमार राई र १५ वर्षिय छोरा शक्ति कुमार राईको मृत्यु भएको थियो ।