गोपाल पोखरेल
आइतवार, श्रावण ५, २०७६
342

उदयपुर-लगातारको वर्षाले दर्जनौं ग्रामीण सडक क्षतिग्रस्त बनेपछि उदयपुरको आन्तरिक यातायात अवरुद्ध भएको छ । बर्षाले रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक अवरुद्ध भएका छन् भने कटारी, चौदण्डी, बेलका र त्रियुगा नगरपालिकाका अधिकांस ग्रामीण सडकसमेत अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको छ । 

वर्षाका कारण मुर्कुची– पुवारे – भुट्टार, बेल्टार– चौदण्डी, साउने–सल्ले, बेतिनी –माझखर्क, वेतेनी भञ्ज्याङ–राउतखर्क–रूपाटार, पुवारे माझखर्क बाराहा, बाराहा ताम्लिछालगायतका ग्रामीण सडक अवरुद्ध भएका छन् । जगंलबाट आएको भेल, बाढी, पहिरो र खहरे खोलाले सडक क्षतिग्रस्त भएको स्थानीय बताउँछन् ।
ट्रयाक खुले लगत्तै सुख्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका सडक अहिले कामै नलाग्ने अवस्थामा रहेको नेकपाका नेता ताम्लिछाका भलराज राईले बताए । “सडकलाई नियमितरूपले सञ्चालन गर्न ट्रयाक खुले लगत्तै नाली बनाउनु पथ्र्यो,” उनले भने, “तर नाली नबनाइएकाले सडक दिगो हुन सकेनन् ।”

भर्खरै खुल्दै गरेका र पहिले खोलिएका धेरै मोड भएका र साँधुरा सडक वर्षापछि अवरुद्ध भएको व्यवसायी बताउँछन् । “सवारी साधन सञ्चालन गर्ने अवस्थै छैन, हरेक सडकका दर्जनौं स्थानमा पहिरो छ,” सवारी चालक दिनेश राउत भन्छन्, “पहाडी क्षेत्रका सडकमा पहिरो पन्छाएर सडक मर्मत नगरी यातायात सञ्चालन गर्न सकिँदैन ।” सवारी साधन सञ्चालन हुन नसकेकै कारण सर्वसाधारणले पैदल यात्रा गरिरहेको उनले बताए ।
जिल्लाको उत्तरी दुर्गम क्षेत्र भनेर चिनिने २ हजार ३ सय मिटरको उचाइमा पर्ने माझखर्क र बाराहालगायतका क्षेत्रलाई समेत सडक सञ्जालले छोएको भए पनि त्यस क्षेत्रका सडकको दर्जनौं स्थानमा पहिरो गएको छ । सुदुरपूर्वमा पर्ने मैनामैनी, सिद्धिपुर बबलालगायतका स्थानमा पनि सडक निर्माण भएको ३ वर्ष नाघेको छ । तर यतिबेला ती सबै सडक काम नलाग्ने अवस्थामा पुगेका छन् । शाहीडाँडादेखि रूपाटारसम्मको सडकको अवस्था झन् दयनीय रहेको स्थानीयले बताएका छन् । वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि यी सडक अबरुद्ध हुने गरेको चौदण्डीगढी १ का वीरबहादुर माझी बताउँछन् ।
“करिव २० लाख रूपैयाँको लागतमा गतसाल मात्र ट्र्याक खोलिएको रानीटारदेखि घारे जोड्ने करिव १० किमी सडक काम नलाग्ने गरी भत्किएको छ,” माझीले भने, “चौदण्डीको वंसिलाघाट जोड्ने सडकको पनि अवस्था नाजुक छ ।” उनका अनुसार सिद्धिपुरबाट चौडण्डी जोड्ने सडक पनि अवरुद्ध छ । यतिबेला यी सडकमा दुर्गमका लागि सवारी साधन बनेको ट्याक्टरसमेत सञ्चालन गर्न समस्या भएको स्थानीय बताउँछन् ।
जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्गबहादुर परियारले वर्षाले ग्रामीण सडक भत्किनुका साथै दर्जनौं स्थानमा पहिरो गएपछि जिल्लाको आन्तरिक यातायात अबरुद्ध भएको बताए । “थोरै बजेटले धेरै काम गर्नुपर्ने अवस्थाका कारण सामान्य बर्षाले नै सडक बिगार्ने अबस्था छ,” उनले भने, “बर्षामा बिग्रे पनि हिउँद महिनामा यातायात सञ्चालनमा ल्याउने भन्दा अन्य कुनै विकल्प छैन ।”
उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिकाका सवै वडामा कच्ची सडक पुगे पनि ती मापदण्ड अनुसारका नहँुदा हरेक वर्षायाममा सवारी सञ्चालनमा कठिनाई हँुदै आएको छ । सरकारी मापदण्डविपरीत र प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गरिँदा हरेक बर्षायाममा यी सडक अवरुद्ध हुँदै आएका छन् ।