गोपाल पोखरेल
आइतवार, श्रावण ५, २०७६
386

उदयपुरको लिम्चुङबुङ गाउँपालिकालाई बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गाउँकार्यपालिकाको बैठकले पाँचवटा वडा रहेको जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने सो गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिका जोड्ने र आन्तरिक सबै सडक क्षतविक्षत हुनुका साथै गाउँमा खाद्यान्नसमेत अभाव हुन थालेपछि संकटग्रस्त क्षेत्र घोषणा गरेको बताए ।

“गाईघाट कटारीसँग जोड्ने सडक क्षतविक्षत भएको छ,” अध्यक्ष राईले भने, “गएको वैशाख जेठमा लामो खडेरीले मकै उत्पादन शून्य भएपछि खाद्यान्न अभावसमेत भएको छ ।” लिम्चुङबुङको मुख्य खाद्यान्न बाली मकै भए पनि मकै बाली खडेरीले सखाप पारेको उनले बताए ।
राईले गाँउपालिकालाई बजारसम्म जोड्ने मुख्य दुई सडकसमेत पहिरोले क्षतविक्षत पारेको बताए । “लिम्चुङबुङलाई गाईघाट बजारसँग जोड्ने गाईघाट हुँदै मुकुर्ची लिम्चुङबुङ हलेसी सडकको चार दर्जन स्थानमा पहिरो गएको छ,” उनले भने, “ कटारी, बेतेनी, ताप्लीलिम्चुङबुङ सडकको अवस्था पनि त्यस्तै छ ।” गाउँपालिकाकै डोजर, स्क्याभेटरलगायतका मेसिन भए पनि सडक मर्मतका लागि बजेट अभाव भएको र सानोतिनो रकमबाट सडक बन्ने स्थिति नरहेको उनको भनाइ छ ।
लामो खडेरीले मकैबाली सखाप भएपछि खाद्यान्नको अभाव झेल्दै आएका लिम्चुङबुङबासीले गाईघाट र कटारी बजारबाट ढुवानी गरी खाद्य समस्या पूरा गरिरहेका थिए । वर्षाले खाद्यान्न ढुवानी गर्ने सडकसमेत क्षतविक्षत भएपछि उनीहरूलाई खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्रीलगायतको अभाव हुन थालेको हो ।
“बिरामीलाई अस्पताल लैजानका लागि समेत समस्या छ,” प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले भने, “पहिरोले खानेपानीका योजना क्षतविक्षत भएका छन् ।” गाउँमा खाद्यान्न आपूर्ति गर्न पैदल दुई दिनको बाटो हिँडेर मुकुर्ची बजार पुग्नु पर्ने अवस्था आएकाले संटग्रस्त लिम्चुङबुङ गाँउपालिकाका घोषणा गरेको उनले बताए ।
गाँउपालिकामा अत्यावश्यक औषधी र विभिन्न उपभोग्य वस्तुको अभाव हुन थालेको नेकपाका स्थानीय नेता भलराज राई बताउँछन् । “सडकको अधिकांश ठाउँमा पहिरो गएकाले मर्मतमा ठूलो धनराशी लगाउनु पर्ने अवस्था छ,” राई भन्छन्, “प्रदेश र संघीय सरकारले तत्काल ध्यान दिनुपर्ने अवस्था छ ।”
खडेरीको मारमा परेको उच्च पहाडी क्षेत्रमा पर्ने लिम्चुङबुङ गाउँपालिकामा बाढी पहिरोले थप पीडा दिएको प्रदेश साँसद नारायण बुर्जामगरले बताए । “पहाडी क्षेत्रमा धेरै घर पहिरोको जोखिममा छन्,” उनले भने, “पहाडी क्षेत्रमा खाद्यान्न अभावसमेत हुन थालेको छ ।”