कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
434

पुरुषलाई ५ सय, महिलालाई डेढ सय

ताप्लेजुङमा एउटै कामका लागि पनि महिला र पुरुषबीच ज्यालामा विभेद हुने गरेको छ । समान काम तर असमान ज्याला अझैसम्म हटेको छैन् । खेतवारीदेखि कन्स्ट्रक्सनका काममा समेत ज्याला समान छैन । असारको उखरमाउलो गर्मी । क्षणभरै दर्किने पानी । घामपानी छल्नका लागि कोदोको ब्याडमै घोचासँगै गाडिएको छाता । तल्लो-माथिल्लो गरामात्रै होइन, गाउँभरिका खेतबारीमा कतै कोदो त कतै धान रोप्न व्यस्त किसान । मानो खाएर मुरी उब्जाउने असार महिना भएर होला, दिनको समय गाउँघर सुनसान छन् । खेतवारीमा केटाकेटीदेखि वृदवृद्धासम्म व्यस्त देखिन्छ । पाकेका मकै, धान र कोदोको हरियो ब्याडसँगै चारैतिर लोभलाग्दो असारे हरियाली दृश्य ।
बीउ जति उखेल्दै गयो, उति अगाडि गाड्छन् छाता । फुङ्लिङ नगरपालिका–९ की ५५ वर्षीया दिलमाया घतानी कोदोको बीउ उखेल्दै, छातासँगै बाँधिएको घोचा अघि बढाउँदैछिन् । घरको सकेर अर्काकोमा ज्यालामा काम गर्छिन् । गाउँघरमा सिजनअनुसार काम पाइन्छ, असारमा धान र कोदो रोप्न । कामगरेवापत दिनभरको ज्याला २ सय ५० पाउने गरेको घतानीले बताए । उनले भनिन्, “पुरुषले ५ सय पाउँछन् । महिलाले आधामात्र ।” फुङ्लिङ नगरपालिका–४ की दावाफुटी शेर्पा गुरुङले पनि ज्यालामा पुरुषले पाउने ज्यालाको आधा मात्र पाउने गरेको बताए । उनले भनिन्, “कामअनुसारको ज्याला फरक हुन्छ । तर पुरुषले पाएको ज्यालाको आधामात्र पाउँछौं ।” आफ्नै पति कुमार गुरुङले पत्नीको ठीक दोब्बर ज्याला पाउँछन् । फुर्सद्मा घरनजिकै गिटी कुट्दै गरेका पती पत्नीद्वयका अनुसार काम गराईमा फरक नभए पनि ज्यालामा फरक गर्दा मन बुझाउनुपर्दाको पीडा सैह्य हुँदैन ।

फुङ्लिङ नगरपालिका–७ की कृष्णमाया विक ६१ वर्ष पुगिन् । तर धान, कोदो रोप्नदेखि बेला मौका स्थानीयस्तरमा आयोजनाको काम गर्छिन् । यतिका वर्षसम्म पुरुष सरह ज्याला पाएको उनलाई थाहा छैन । “तुलनात्मक रूपमा पुरुषले जति महिलाले काम गर्न सक्दैन, सायद त्यही भएर होला, कम ज्याला दिन्छन्,” उनले भनिन् । यद्यपी उत्तिकै समय, उही काम, तर ज्याला कम हुँदा चित्त दुख्ने गरेको दुखेसो उनले गरिन् । हिउँदमा जाडो, वर्खामा गर्मी । तर ज्यालामा गएपछि तोकिएको समय पसिना बगाउनैपर्छ । काम गरेको दिन मौसमले साथ नदिए भोलिपल्ट पुरा गर्नैपर्ने बाध्यता छ ।
फुङ्लिङ नगरपालिका–५ का डम्बर माबो लिम्बू घर बनाउने मिस्त्री काम गर्छन् । ५० वर्षीय लिम्बूले घरको ठेक्कापट्टा लिएर काम गर्छन् । कामदार पनि लगाउँछन् । यद्यपी घर निर्माणमा महिला कामदार न्यून हुन्छन् । तर ज्याला भने फरक । उनले भने, “काम अनुसारको दाम हुन्छ, पुरुषले जसरी काम गर्न सक्दैनन् ।” फुङ्लिङ नगरपालिका–८ का ठेकेदार डम्बर लिम्बूका अनुसार पुरुष र महिलाले एउटै काम समान समय दिएर गरे पनि ज्याला कम दिने चलन छ । लिम्बूले भने, “परम्परादेखिको चलन भएर होला । त्यही भएर प्रायःले कम ज्याला दिन्छन् ।”
खेतवारीको कामदेखि ठूला आयोजनाको काममा महिला कामदार ज्यालामा ठगिएका छन् । मानवअधिकारकर्मी शान्ता आङ्वुहाङले महिला भएकै कारणले ज्यालामा विभेद हुुनु पितृसत्तात्मक सोचको उपज भएको बताइन् । उनले भनिन्, “संविधान, कानुनमा सबै समान छन् । तर व्यवहारमा असमानता यथावत छ ।”
पत्रकार महासंघ ताप्लेजुङ शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले ज्याला वहस सैद्धान्तिकरूपमा भएअनुसारको व्यवहारमा कार्यान्वयन नभएको बताए । शहरदेखि गाउँसम्म महिला कामदारले उचित ज्याला पाएका छैनन । समान कामको समान ज्याला जनचेतनामूलक अभियान, अनुगमन र कानुन कार्यान्वयन गर्न संम्बन्धित कार्यालयले बढी अग्रसरता लिनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले ज्याला विभेदवारे प्रशासनमा कुनै उजुरी नआएको बताए । तथापी ज्याला विभेदको समस्याले समाजमा जरा गाडेको उनले स्वीकार गरे । प्रजिअ भण्डारीले भने, “कार्यान्वय हुनुपर्छ, यदि कार्यान्वयन नगरेको उजुरी आए कानुन बमोजिम अघि बढ्छौं ।” जनप्रतिनिधि र संघसंस्थाले लैङ्गिक विभेद शीर्षकअन्तर्गत कार्यक्रम तथा गोष्ठीमा यो विषय प्राथमिकताका साथ उठ्ने गरेको र आफू वा प्रशासनको प्रतिनिधि सहभागी भएर कार्यान्वयन र कानुनी पाटोमा सचेतना प्रदान गर्ने गरेको प्रजिअ भण्डारीले बताए ।

देवराज गुरुङ