कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
327

संखुवासभा-पहिरोका कारण सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । खाद्यान्न संकट हुँदा जनजीवन कष्टकर भएको भन्दै भोटखोलास्थित भोटखोला सरोकार केन्द्रले पत्रकार सम्मेलन आयोजना गरी खाद्यान्न संकटको जानकारी गराएको हो । खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा सरोकार केन्द्रका संयोजक मिथुन भोटेले बाढीपहिरोका कारण भोटखोला क्षेत्रमा खाद्यान्न संकटको अवस्था आएको बताए ।
दर्जन बढी भोटखोला क्षेत्रका बासिन्दाले सडक खुलाई दैनिक जीवनयापनमा सहज वातावरण निर्माणको मागसहित प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालसमक्ष ज्ञापन पत्रसमेत बुझाएका छन् । पहिरोका कारण भोटखोला क्षेत्रमा आवतजावत र खाद्य संकट उत्पन्न भएको, भोटखोला गाउँपालिकाको कार्यालय आगजनी गरिएको महिनौं बित्दासमेत दोषी पत्ता नलागेको, विकास निर्माणकार्य पूर्णरूपमा अवरुद्ध भएको, सदरमुकाम खाँदबारीमा रहेको गाउँपालिकाको कार्यालय स्थानीय भोटखोलामै रहनुपर्ने लगायतका माग राखी पत्रकार सम्मेलन आयोजना गरिएको भोटखोला सरोकार केन्द्रका सचिव थुदोक भोटेले जानकारी दिए ।

देशकै अतिदुर्गम हिमाली क्षेत्र भोटखोलामा सातादिन अघिदेखि परेको वर्षाका कारण निर्माणाधीन कोसी ल्हासा राजमार्ग अवरुद्ध भएपछि भोटखोलाको स्याक्सिला, सेबुङ्, सिप्रुङ्, नामासे, राप्सा, तुङ्खालिङ्, हटिया, छुमसुर, चेपुवा, च्याम्ताङ, लिंगमलगायत दर्जन बढी स्थानमा खाद्यान्नलगायत शिक्षा र स्वास्थ्य सेवा प्रभावित भएको गाउँपालिकाका अध्यक्ष ठिलेन भोटेले जानकारी दिए । अधिकांश अलैंची र जडिबुटी खेतिमात्र रहेको त्यस क्षेत्रमा चामलको गेडोसमेत पाउन मुस्किल भएको थुदामका शिक्षक गुरु भोटे बताउँछन् । त्यस क्षेत्रमा उत्पादन हुने कोदो मकै, जौ र फापरले करिब ३ महिनामात्र धान्ने गरेको शिक्षक भोटेको भनाइ छ ।
वर्षात्का कारण निर्माणाधीन कोसी ल्हासा राजमार्गका ठाउँ ठाउँमा ठूलाठूला चट्टानसहितको पहिरो खसेको छ । त्यसलाई पन्छाउने कार्य नहुँदा सदरमुकामबाट भोटखोलाको हटियासम्म चल्ने यातायात पूर्णरूपमा बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट करिब १५० किमि उत्तरमा पर्ने त्यस क्षेत्रमा खाद्यान्न अभाव र महंगिका कारण जनजीवन कष्टकर बनेको भन्दै हटियामा रहेको खाद्य डिपोले त्यस क्षेत्रको खाद्य संकटमा कुनै राहत नदिएको स्थानीयको गुनासो छ ।
सूचना र सञ्चार सेवाबाट पूर्णरूपमा वञ्चित भोटखोलामा पुग्नुपर्ने राहतसहितका खाद्यान्न त्यस क्षेत्रमा नपुगी अन्यत्रै बेचबिखन गर्ने गरिएको भन्दै स्थानीयले तत्काल खाद्यान्नलगायत राहतका सामग्री त्यस क्षेत्रमा पु¥याउनसमेत माग राखेका छन् । उनीहरूले चीनको डेण्डाङ्बाट सामग्री ढुवानीको कुनै सम्भावना नरहेको र सदरमुकाम खाँदबारी जोड्ने सडक सुचारु गर्न महिनौं लाग्ने भएकाले सरकारले हेलिकप्टरबाट भए पनि त्यस क्षेत्रका जनताको जीवन निर्वाहको ब्यवस्था मिलाउन पर्ने बताएका छन् । अत्यन्त जटिल भौगोलिक अवस्थाका कारण त्यहाँ कुनै स्वास्थ्य समस्या आए अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए । अहिले किमाथांका नाका हुँदै चीनको डेण्डाङबाट सामान ढुवानी गर्न अत्यन्त कठिन भएकाले त्यस क्षेत्रमा खाद्य संकटको अवस्था सिर्जना हुँदै आएको भोटखोला–२ च्याम्ताङ्का वाङ्छिरिंङ्ग शेर्पाले जानकारी दिए ।
हिउँदमा खाँदबारीबाट नियमित यातायातका साधन सञ्चालन हुन थालेपछि त्यस क्षेत्रका खच्चड ब्यवसायीले खच्चड बेचेका कारण पनि अहिले ढुवानीमा समस्या आएको स्थानीय भोटखोला–५ का उक्तरमान राईको भनाइ छ ।

कृष्णराज शाक्य