मनिषा चम्लागाईँ
शुक्रवार, असार २७, २०७६
585

झापा- सोमबार बन्द हुँदै आएको पूर्वकोे प्रमुख व्यपारीक केन्द्र बिर्तामोड अबदेखि शनिवार बन्द हुने भएको छ । बिर्तामोडको ब्यापारमा ठुलो हिस्सा ओगट्ने विभिन्न १० वटा वस्तुगत संघ, संस्थाको पहलमा शनिबार बन्द गरिने भएको हो ।
व्यवसायीले साउन ४ गतेबाट शनिवार बन्द गरिने बताएका छन् । बिहिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी व्यवसायीले साउन ४ गतेदेखि प्रत्येक शनिबार बजार बन्द गर्ने जानकारी दिएका छन् । मेची डिस्ट्रीव्युटर्स एसोसिएशन, हार्डवेयर व्यवसायी संघ झापा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा, नेपाल मार्वल व्यापार संघ झापा, मेशिनरी एसोसिएशन बिर्तामोड, नेपाल अटोमेकानिक्स ट्रेड युनियन, कम्प्युटर एसोसिएशन अफ नेपाल झापा, नेपाल व्यापार कर्मचारी संघ (युनिकम), मोवाइल एसोसिएशन झापा र हेभि इक्विपमेन्ट व्यवसायी संघले शनिबार बजार बन्द गर्ने बिषयमा ऐक्यबद्धता जनाएका छन् ।

“प्रशासनिक हिसावले पनि शनिवार बजार बन्द गर्नु उपयुक्त हुन्छ, सोमबारको बन्दले व्यवसायमा असर पुगेकाले शनिबार गर्ने निर्णय गरेका हौं” मेची डिष्ट्रिब्युटर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र थापाले भने, “हामी आयात निर्यातमा संलग्न व्यवसायीहरु सोमबारको बन्दले आजित भएका छौँ ।” शुक्रबार भन्सारमा काम नहुने, शनिबार नेपालमा सार्वजनिक बिदा, आइतबार भारतको सार्वजनिक बिदा र सोमबार बिर्तामोड बन्द हुने भएकाले सातामा चारदिन काम गर्न नपाएको थापाले बताए ।
उनले शनिबार बन्द हुँदा शनिबार भारततर्फको प्रक्रिया सकिएर नेपालको प्रक्रियाका लागि अन्य दिन पर्याप्त हुने जानकारी दिए । चारवर्षदेखि शनिबार बन्द गर्नका लागि पहल गरेको भएपनि हाल आएर बिभिन्न संघ, संस्थासँग सहमति जुटेको थापाले बताए । शनिवार व्यवसाय खुल्ला रहेतापनि न्युन कारोवार हुने भएकाले सोही दिन बन्द गर्नु उपयुक्त हुने हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष मात्रिका कोइरालाले बताए । उनले प्रदेशका ठुला शहरले पनि शनिबार बन्द गरिरहेको हुनाले बिर्तामोडले पनि सोही अनुरुप गर्नुपर्ने बताए । शनिबारको बन्दलाई नेपाल उद्योग वाँणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाको पनि समर्थन रहेको जानकारी कोइरालाले दिए । तर, झापा महासंघ यसबारेमा हालसम्म अनिर्णित रहेको उनले बताए । व्यवसायीको छाता संगठन उद्योग बाणिज्य संघ बिर्तामोडलाई शनिवार बजार बन्दको आग्रह गर्दै पटक–पटक लिखित तथा मौखिक आग्रह गरेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । वाणिज्य संघले शनिवार बन्दको बिषयमा कुनै निर्णय नगरेकाले बस्तुगत संगठन र त्यसमा आवद्ध व्यवसायीले बन्दलाई एकरुप बनाउने उदेश्यले साउन ४ गते देखि शनिवार बन्दको आव्हान गरेका बताइएको छ ।