कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
260

डडेल्धुरा-असारको अन्तिम सातासम्म सुदूरपश्चिम प्रदेशमा ४४.४१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा ४४.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
जसमा कैलालीमा ४०, कञ्चनपुरमा ५०, अछाममा ३५, वाजुरामा ४०, बझाङमा ५०, बैतडीमा ५५, दार्चुलामा ५७, डडेल्धुरामा ५० र डोटीमा ४० प्रतिशत रोपाइँ भएको छ । तराईका जिल्लाभन्दा पहाडि जिल्लामा बढी रोपाइँ भएको छ ।

तराईका कैलाली र कञ्चनपुरमा १ लाख २० हजार ८ सय ९० हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये ५२ हजार ८ सय हेक्टरमा रोपाइँ भएको छ भने पहाडि सात जिल्लाको ६१ हजार ३ सय ३४ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये २७ हजार ७ सय हेक्टरमा रोपाइँ भएको सुदूरपश्चिम कृषि विकास निर्देशनालयका कृषि विकास अधिकृत सरिता पन्त भट्टले बताइन् ।
असार अन्तिम सातासम्म गत वर्षभन्दा यो वर्ष करिव १० प्रतिशतले धान रोपाइँ कम भएको कृषि विकास निर्देशनालय राजपुर डोटीले जनाएको छ । यो वर्ष मनसुन ढिलो गरी सुरु भएका कारण रोपाइँमा केही ढिलाइ भएको हो । सुदूरपश्चिम प्रदेशका दुई तराईका र सात पहाडी जिल्लामा १ लाख ८१ हजार ४ सय ८४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।