कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
278

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले यो वर्ष मलको अभाव नहुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा मन्त्री खनालले ठूलो मात्रामा अनुदानको रकम किसानलाई दिएका कारण मलको समस्या देखिए पनि अभाव भने नरहेको बताए । मन्त्री खनालले युरिया मल प्रशस्त रहेको र डिएपी मलको समस्या भए पनि २-३ दिनमा समस्या समाधान हुने दाबी गरे ।
मन्त्री खनालले अहिलेसम्म मुलुकभर ३० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । अघिल्लो वर्ष यही समयसम्म ५३ प्रतिशत रोपाइँ भए पनि यस वर्ष मनसुन ढिला भित्रिएका कारण रोपाइँ कम भएको उनको भनाइ थियो ।

मन्त्री खनालले विषादी परीक्षणका विषयमा सरकार गम्भीर रहेको बताए । नाकामा भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयात हुने स्याउको पनि परीक्षण हुने गरेको उनले बताए । सर्वोच्च अदालतले विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरूले पालना गर्ने उनको भनाइ थियो । विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटका लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाइसकेको जानकारीसमेत उनले दिए ।
मन्त्री खनालले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समूहको परीक्षण गर्ने भए पनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले बताए । चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफूले खाद्य, पशु र प्लान क्वारेन्टाईनअन्तर्गतका १४ वटा क्वारेन्टाइन थप निर्माण गर्नुका साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको उनको भनाइ थियो ।