अमरराज आचार्य
शुक्रवार, असार २७, २०७६
218

दाङ-घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी जग्गा विवादका मुद्दा परेका छन् ।
आर्थिक वर्ष ०७५-७६ असार २५ सम्ममा जग्गा विवादका ६९ वटा मुद्दा परेको न्यायिक समितिले जनाएको छ । यसरी परेका मुद्दामध्ये ३० वटा मिलापत्र भइसकेको र ३९ वटा प्रक्रियामा रहेको न्यायिक समितिका संयोजक एवं घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन् । न्यायिक समितिमा १ वर्षको अवधिमा १ सय ९५ वटा मुद्दा परेका थिए । जसमध्ये ७९ वटा मिलापत्र भइसकेको र १ सय १६ वटा प्रक्रियामा रहेको न्यौपानेको भनाइ छ । समितिमा लेनदेनका ३० वटा उजुरी परेका थिए । जसमा ७ वटा मिलापत्र भएको र २३ वटा प्रक्रियामा छन् । कुलोपानी सम्बन्धी ६ वटा उजुरी परेकोमा १ वटा मिलापत्र भएको र ५ वटा प्रक्रियामा छन् । घर भाडासम्बन्धी २ वटा उजुरी परेकोमा २ वटाको नै मिलापत्र भइसकेको प्रमुख न्यौपानेले जानकारी दिइन् ।

त्यसैगरी अन्य ३३ वटा उजुरी परेकोमा १५ वटा मिलापत्र भएको र १८ वटा प्रक्रियामा छन् । वातावरण सम्बन्धी २ वटा परेकोमा २ वटै प्रक्रियामा छन् । घरेलु हिंसासम्बन्धी ५२ वटा मुद्दा परेकोमा २४ वटा मिलापत्र भइसकेको र २८ वटा प्रक्रियामा रहेको र कुटपिटसम्बन्धी १ वटा उजुरी परेकोमा प्रक्रियामा रहेको न्यौपानेको भनाइ छ ।
न्यायिक समितिमा गत आव ०७४-७५ का १ सय ५१ वटा मिलापत्र हुन बाँकी रहेका थिए । जसमा १८ वटा मिलापत्र भएका छन् । जसमा लेन देनसम्बन्धी १, जग्गा विवादका १४ वातावरण सम्बन्धी १, घरेलु हिँसा १, गाली बेइज्जती १ वटा मिलापत्र भएको न्यायिक समितिका प्रमुख न्यौपानेले बताइन् । यसैबीच न्यायिक समितिले १ वर्षमा समितिले गरेको कार्यबारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै न्यायिक समितिकी प्रमुख न्यौपानले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आववा मुद्दा कम परेको बताइन् । गत आव ०७४-७५ मा २ सय ५६ वटा मुद्दा परेका थिए । सकेसम्म वडा टोलमा नै सानातिना झैं झगडा मिलाउन वडा कार्यालयलाई नै जिम्मा दिएको उनको भनाइ छ । जसले गर्दा उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी कम भएको न्यौपानेले बताइन् । वडामा नै समस्या समाधान भएपछि नागरिकलाइ सहज भएको उनको भनाइ छ । न्यायिक सम्पादन गर्दा छुट्टै इज्लास नहँुदा समस्या हुने गरेको उनले बताइन् । इजलास आवश्यक रहेको उनको भनाइ छ । त्यसैगरी कानुनसम्बन्धी जानकारी भएको कर्मचारी नहुँदा पनि समस्या हुने गरेको न्यौपानेको भनाइ छ ।