कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
308

स्याङ्जा-भीरकोट नगरपालिकाले नगर क्षेत्रका सफल व्यवसायी कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ । भीरकोट नगरभित्र विभिन्न व्यवसाय गरेका सफल व्यवसायी कृषकलाई अनुदान प्रदान गरेको हो ।
नगरपालिकाले बाख्रा फार्म सुधार कार्यक्रमअन्तर्गत १४ कृषकलाई १० हजारका दरमा १ लाख ४० हजार, ५ वटा बाख्रा फार्मलाई प्रजनन योग्य ५ वटा बोका अनुदानमा वितरण गरेको छ । दुग्धतर्फ गाई र भैंसीपालक फार्मलाई ढुवानीअन्तर्गत ९ कृषकलाई २० हजारको दरले १ लाख ८० हजार प्रदान गरिएको छ, भने गाई भैसी फार्म सुधार कार्यक्रमअन्तर्गत २० हजारका दरले १५ जना कृषकलाई ३ लाख प्रदान गरिएको छ ।

भकारो सुधार कार्यक्रमअन्तर्गत २० सफल व्यवसायीलाई २ हजार ५ सयका दरले ५० हजार, ७ भेडा फार्मलाई ७ वटा भेडाको थुमा वितरण गरिएको छ, भने लोकल कुखुरा संरक्षण कार्यक्रमअन्तर्गत १५ जना कृषकलाई ५ हजारका दरले खोर निर्माणका लागि ७५ हजार र १५ कृषकलाई १५ वटा कुखुराको भाले प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार नर्सरी सहयोग कार्यक्रमअन्तर्गत सफल नर्सरी व्यवसायी कृष्णबहादुर अधिकारीलाई २० हजार अनुदान प्रदान गरिएको छ । नगरपालिकाले ३ वटा यूरिया मोलालेस मिनरल मेसिन खरिद गरी कृषक समूहलाई शतप्रतिशत अनुदानमा वितरण गरिएको प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए ।
भीरकोट नगरमा दुग्ध र मासुजन्य पशुपालन गर्ने, कृषिमा मौसमअनुसारको खेती र भेगअनुसारको अन्नबाली उत्पादन गर्ने, माछापालन गर्ने, फलफूलतर्फ क्षेत्र र जमिनअनुसार फलफूल उत्पादन गर्ने कृषक र नर्सरी खेतीलाई प्राथमिकता दिएको नगर प्रमुख छाँयाराम खनालले बताए । उनका अनुसार कृषकको सम्मान र उचित पारिश्रमिकको व्यवस्था नहुँदासम्म कृषिमा क्रान्ति सम्भव छैन् ।
नगर क्षेत्रमा कृषिअन्तर्गत बाख्रा, गाई, भैसीपालन, अन्नबाली, तरकारी, फलफूल खेतीलाई आधुनिकीकरण र कृषकलाई आधुनिक औजारको प्रयोग आवश्यक रहेकाले नगरले कृषकसँग सहकार्य गरेर आवश्यकता अनुसार नगद र जिन्सी दिने योजना बनाएको नगर उपप्रमुख सीमा केसी कर्माचार्यले बताइन् ।