लक्ष्मीप्रसाद सापकोटा
शुक्रवार, असार २७, २०७६
370

पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरका काँक्रोको बीउ उत्पादन गरेका छन् ।
व्यावसायिक रूपमा बीउ उत्पादन गर्दै आएका १ सय घरधुरीले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बीउ उत्पादन गरेका हुन् । दशक अघिदेखि नै बीउ उत्पादन गर्दै आएका कर्नासमा कृषकले खेतमा फलाउने सुनजस्तै पहेँला काँक्रोकै कारण ‘सुन फलाउने गाउँ’ को रूपमा परिचित छ ।

कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बीउ उत्पादन गरेको स्थानीय कृषक बाबुराम भुसालले जानकारी दिए । गत वर्ष झण्डै ५ टन उत्पादन गरेपनि अहिले ४ टन उत्पादन भएको उनको भनाइ छ । कृषकले गत वर्ष गाउँमा डेढ करोड रुपैयाँ भित्र्याएका थिए भने यस वर्ष सवा करोड भित्र्याउने लक्ष्य राखेका छन् । “यस वर्ष भने केही उत्पादन घटेको छ,” भुसालले भने, “उत्पादन घटेपनि सवा करोड गाउँमा भित्रने कुरामा ढुक्क छौं । स्थानीय कृषकहरूले भक्तपुर लोकल जातको काँक्रोको बीउ लगाउँदै आएका छन् ।
कर्नासमा रहेको नारायणस्थान बीउ उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले यसवर्ष उत्पादित बीउ भने बिक्री गर्न पाएका छैनन् । गत वर्ष कृषकले व्यापारीसँग अग्रिम सम्झौता गरेर बीउ उत्पादन गरे पनि यसपटक भने सम्झौता भएको छैन । “बीउ उत्पादन र खरिद गर्ने सहमति भए पनि अहिलेसम्म बिक्री भएको छैन,” सहकारीका सदस्यसमेत रहेका भुसालले भने, “भदौ लागेपछि बिक्री गर्ने भनेर थन्क्याएका छौं ।” कृषकले काठमाडौंको कालीमाटीमा रहेका निमाकोल र हार्कजस्ता सहकारी संस्थामार्फत बीउ बिक्री गर्दै आएका छन् । एक किलो बीउको ३ हजार रुपैयाँका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन् । यसपटक व्यापारीले मूल्य घटाउन खोजेका कारण उनीहरू पछिमात्र बीउ बिक्री गर्ने योजनामा छन् ।
काँक्रोको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेकै कारण बजारको अभाव नहुने कृषक भुसालको दाबी छ । नेपालमा ७ टन भक्तपुर लोकल जातको काँक्रोको बीउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले ५ टन उत्पादन गर्छ । “नेपालभर माग हुने बीउको दुईतिहाईभन्दा बढी हिस्सा एउटा गाउँले नै पूरा गर्दै आएका छौं,” कृषक भुसालले भने । कर्नासमा कृषकहरूले काँक्रोको बीउ उत्पादनबाट घटीमा १ लाखदेखि बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म एउटै घरमा भित्रिने गरेको छ । माघ महिनामा काँक्रो रोपेदेखि जेठमा बीउ निकाल्ने ५ महिनासम्ममा एउटै परिवारले ७ लाखसम्म भित्र्याउन सकेका छन् ।