कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
283

छुपु र छुपु हिलोमा धान रोपेर छाडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला


ताप्लेजुङ-यी लोकभाकाले भने जस्तै माहोल छ तराई र पहाडका गाउँघरमा । ‘मानो खाएर मुरी उब्जाउने’ महिना हो असार । मध्यअसारको चर्को घाम । क्षणभरै दर्किने पानी । चारैतिर हरियाली । खेतवारीमा केटाकेटी र वृद्धवृद्धा । ८२ वर्षीया जसोदा गौतम धानको बीउ उखेल्न ब्यस्त छिन् । फुङलिङ नगरपालिका–७ की गौतमलाई न घाम न पानी । क्षण–क्षणको परिवर्तित मौसमले (घामपानी) उनको व्यस्तता रोकिएको छैन । धानको ब्याडमा टुक्रुक्क बसेकी गौतम हाँस्दै भन्छिन्, “नानी ! असारको झरिले मरिँदैन । असारको पानी त अमृत हो ।” अलिक सिपालुलाई मात्र धानको बीउ काढ्न ब्याडमा पठाउने चलन हुन्छ । त्यही भएर हजुरआमा कस्सिनुभएको नजिकै दाँदे लगाउँदै गरेका नाती राजन गौतमले बताए । कोही गोरु जोत्दै, कोही ब्याडमा बीउ काढ्दै । खेत हिल्याउँदै गरेका ७५ वर्षीय घनश्याम सुनुवार पानीमा रुझ्दै छन् । सुनुवारले भने, “खेताला खोज्दा सबैले आफ्नो सकेको छैन भन्छन् । बरु जति सक्छु, त्यति नै गर्छु ।”
टाउकोमा फन्को मारेको बर्कीको फेट्टा लगाएकी कृष्णमाया विक मास रोप्दैछिन् । अरु पनि एक हातमा हँसिया र एक हातमा पटुकीबाट मास निकाल्दै खेतका आलीमा मास रोप्न व्यस्त छन् । ६१ वर्षीया कृष्णकुमारी विकको फूर्ती उमेर हुँदा खेरी गर्न सक्ने जत्तिकै छ । उनी भन्छिन्, “उमेरमा त एक पटक निहुँरिएपछि एकापट्टिको आलीमा मास वा भटमास रोपिसक्थे । अब त अलिक नसक्ने रैछु ।” छोरा विदेश र बुहारी काम विशेषले तराई झरेकाले असारभरि खेतवारीमा व्यस्त हुनुपरेको उनले सुनाए । खेतका भित्ता तासिएकाले कतै सङ्लिदै गरेको त कतै धमिलो पानी बगिरहेको छ । फुङलिङ नगरपालिका–८ का ६५ वर्षीय अमर लिम्बु हल गोरु जोत्दैछन् । लिम्बुले भने, “बुढेसकालमा खेतमा नखटिए बारी बाँझै हुन्छ । किनकी खेताला पाउन मुस्किल छ ।” बुढेसकालमा अर्मपर्म लगाउनु रहर होइन, बाध्यता हो । यतिका खट्दा पनि उनको खेतमा साउनको पहिलो हप्तामा मात्र रोपाइँ हुने निश्चित छ । त्यतिन्जेल पर्म लगाउनमै व्यस्त हुनुपर्ने उनले बताए ।
१४ वर्षीया सीता बराईली अइचिला काट्न, आली लगाउन र धान रोप्न निकै सिपालु छिन् । कक्षा–९ मा अध्यनरत बराइलीले भनिन्, “घरको सकेर खेताला गर्ने हो । कापी र कलम खरिद तथा पढाई खर्च जोहो गर्छु ।” सन्देश विक १४ वर्ष पुगे । स–साना खेतका गरामा होरी र पच भन्दै गोरु जोत्न खप्पिस छन् । २ वर्षयता गोरु जोत्न हली खोज्नु परेको छैन । कक्षा–९ मा अध्यनरत विकले भने, “खेतालामा महिलालाई २ सय ५० दिन्छन् । मलाई ५ सय ।” विद्यालय वर्खे विदाले बन्द छ । पढाई खर्च आफैंले जुटाउने गरेका छन् ।
गाउँघरमा बुढाबुढी, महिला र केटाकेटी रोपाईँमा व्यस्त छन् । विहान–बेलुका घर सुनसान हुन्छ । साँझ परेपछि मात्र खेतबारीबाट घर फर्कन्छन् । यसपटक ढिला गरि मनसुन सक्रिय बनेको छ । जिल्ला कृषि ज्ञान केन्द्र शाखा प्रमुख श्रीकृष्ण अधिकारीका अनुसार जिल्लामा २५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा गत वर्ष २२ हजार ४ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला, वडा नं–६ लेलेप र मिक्वाखोला गाउँपालिका–५ पापुङ बाहेक सबै वडामा धान खेती हुन्छ । फुङलिङ नगरपालिका, नाङखोल्याङ, थेचम्बु, हाङ्पाङ, चाँगे, खोक्लिङ, फूलबारी, सिनाम, हाङ्देवा, फुरुम्बुमा धान बढी खेती कार्यालयको तथ्यांकमा उल्लेख छ । यद्यपी धान खेती हुने क्षेत्रफल बर्सेनि घट्दो छ । ४ वर्ष अघिसम्म १० हजार ९ सय ९० हेक्टरमा हुने गरेको धान गत वर्ष ८ हजार ७ सय ३७ हेक्टरमा झरेको कार्यालयको तथ्यांक छ ।

देवराज गुरुङ