कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
173

इलाम रोङ गाउँपालिका–४ पहरी गाउँका खड्ग बारुङ राई आजकल घरमै बसीबसी मनग्य आम्दानी गर्छन् । युवा अवस्थाको आधा उमेर विदेशमै बिताएका उनी बाँसका सजावट सामग्री निर्माण गरेर आम्दानी गर्न थालेका हुन् । राईलाई विदेशबाट घर फिर्दा गाउँमै कुनै आयमूलक काम गरिएला भन्ने लागेकै थिएन ।
केही दिनमै विदेशिने खड्गको सोच अहिले परिवर्तन भएर गाउँमै ब्यावसायिक बन्न थालेका छन् । सामान्य काठको काम गर्ने राईले रोङ गाउँपालिका र घरेलु विकास समितिले सञ्चालन गरेको बाँसका सजावट सामग्री बनाउने तालिम लिए । उक्त तालिमले राईको जीवन फेरिएको छ । बाँसका सजावटका सामग्री बनाउन थालेपछि अहिले राईको घर बसीबसी कमाइ हुन्छ । सामग्री बनाउन थालेपछि पनि बिक्दैनकी भन्ने डर बोकेका उनी अहिले त अडर धान्नै गाह्रो परेको बताउँछन् ।

बाँसका विभिन्न सजावटका सामग्री निर्माण गर्न थालेपछि रोङकै वीरबहादुर राई पनि अहिले गाउँमै ब्यावसायिक बनेका छन् । राई घर परिवार पाल्नका लागि अरु केही सोचिरहनु नपर्ने बताउँछन् । यही पेसालाई मेहनत गर्दा परिवार पाल्न पुग्ने उनी बताउँछन् । बाँसका सामग्री निर्माण गर्ने उनीहरूको कमाई अहिले विदेशको भन्दा राम्रो छ । मासिक ४०-५० हजार रुपैयाँ कमाउन कतै जानु नपर्ने उनीहरूको भनाइ छ । गाउँपालिले पहरी गाउँका १४ जना युवालाई बाँसको हस्तकला बनाउने तालिम दिएको थियो । तालिमपछि युवाले बाँसका आकर्षक टेबल, कुर्सी आल्ना, सोफासेटलगायतका विभिन्न चराका आकृतीजस्ता सामान बनाउन थालेका छन् । गाउँपालिकाका अध्यक्ष शमसेर राईले युवाको कला देखेर दंग परेको बताए । गाउँ घरमा खेर गैरहेको बाँस विदेशसम्म कोसेली बनेर पुग्न थालेको उनी बताउँछन् । युवा पनि रोजगार भए उनी भन्छन् । सीप सिकेका युवाले बाँसको जरालाई कुदेर आकर्षक हस्तकलाका सामग्री बनाउन थालेका छन् । विभिन्न प्रजातिका चराका आकृति, रुखका आकृति बाँस र बाँसका जराबाट बनाउने गरिएको छ । सलक्क परेको बाँसबाट कुर्सी, टेबलजस्ता फर्निचरका सामान बनाउने गरिएको छ । कला बेचेर गाउँमै भविश्य खोज्न थालेका युवाहरू अहिले गाउँपालिकाकै सहयोगमा लघुउद्यम दर्ता गर्न थालेका छन् । घरेलु तथा साना उद्योग विकास समितिमा लघुउद्यम दर्ता गरेर बाँसका सामग्री निर्माण गर्नेलाई गाउँपालिकाले अनुदान दिने र बजारीकरणमा सहयोग गर्ने योजना बताएको छ ।
स्थानीयले उत्पादन गरेका बाँसका फर्निचर र सजावटका सामग्री इलाम घुम्न आउने पर्यटकले लैजाने गरेका छन् । सात सय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्ममा सामानअनुसार बिक्री हुने गरेको छ । गाउँपालिकाले बजारीकरणको समस्या समाधानका लागि इलामको प्रवेशद्वार जोरकलशमा बाँसका सामानको स्टल राख्ने तयारी थालेको छ । गाउँपालिका अध्यक्ष राईले इलाम घुम्न आएका पर्यटकले चिनो लिएर जाने गरी काम गर्ने योजना बनाएको वताए । गाउँमा नै केही नयाँ काम गरेर नामसँगै दाम कमाउने युवाहरूको सीप र कलालाई प्रवद्र्धन गर्न आफूहरूले विभिन्न कार्यक्रम अगाडि ल्याउने गाउँपालिकाको लक्ष्य छ ।

टीका खतिवडा