रेशमराज रोकाया
मंगलबार, माघ २३, २०७४
2927

हुम्लाको सिमिकोट गाउँपालिका–७ डाँडाफयाको ग्वालेखोरका केल्सरा शाहीले २ वर्ष अगाडि महिनावारी भएको बेला चिसोले निमोनिया र टाइफाइट भएर ज्यान गुमाउनु पर्यो । उनी डाँडाफया कैलाश माविबाट ८ कक्षा उत्तीर्ण विद्यार्थी थिइन् ।
राति घरभन्दा छुट्टै चिसो ठाउँमा बस्दा जाडोले उनलाई महिनावारी भएकै बेला ज्यान गुमाउनु परेको हो । हिउँदको माइनस् १० डिग्रीको जाडो, खुल्ला ढोका, चिसो हावाहुरी, भत्किन लागेको साँघुरो गोठमा ४ देखि ६ दिनसम्मको बसाइ हुम्लाका महिलाले महिनावारी भएको बेला जिउनु पर्ने एक कहाली लाग्दो वातावरण हो । जब महिनावारीको समय आउँछ, उनीहरूलाई त्रास फैलन थाल्छ, त्यही कहाली लाग्दो गोठको वातावरणले सताउँछ । सुत्केरी हुने बेलामा प्रशस्त पोषणयुक्त खाना, न्यानोघर र कपडा उनीहरूका लागि एक सपनामात्र गरेको छ ।
खार्पुनाथ गाउँपालिका–१ प्युस गाउँकी जसु सार्की चिसोले थुरथुर छाउगोठमा काँपिरहेकी थिइन् । पर्याप्त ओढ्ने कपडा नहुँदा उनलाई महिनावारी हुने बेला किन आउँछ र आफू महिला भएकोमा हीनताबोध गर्दछिन् । चिसो खप्न नसक्दा घर जाउँ भने देउता लाग्ने डर नजाउँ मरिने अवस्था कसरी ६ दिन बिताउने चिन्ता जसुलाई छ । कहिलेकाहीं त एक्लै सुत्नु पर्ने हुँदा वन्यजन्तु र अरु समाजमा भएका विकृत मनस्थिति भएकासँग जसु डराउँछिन् । कहिलेकाहीँ सुत्नको लागि साथीलाई हारगुहार गर्ने गरेको उनले बताइन् ।
सुरुको वर्षमा छाउ अर्थात् महिनावारी हुँदा किशोरीले लाजले घरका परिवारलाई भन्न हिचकिचाउने गरेका छन् । सिधै गोठमा बास बसेमा सबैले थाहा पाउने, छुट्टै नबसौं भने घरमा देउता लाग्ने डर उनीहरूले पाल्दै आएको भ्रम र यथार्थता हो । हुम्लाका अधिकांश गाउँमा महिलाले महिनावारी र सुत्केरी हुँदा बस्नका लागि घरभन्दा छुट्टै ओढार वा छाउ गोठमा बस्नुपर्ने अवस्था अझै छ । यो एक प्रथाको रूपमा विकसित हुँदै आएको छ । ओढारमा बस्दा सर्प, बिच्छीजस्ता विषालु किराले डस्नेसमेत डर छ ।
मालिका मावि प्युसमा कक्षा १० मा अध्ययनरत शर्मिला शाहीको पनि पीडा झन् बढी छ । छाउगोठबाट उनी ट्युसन पढ्नका लागि बिहानै ७ बजे उठेर विद्यालय पुिग्छन । कुनै महिना विद्यालयमा नै महिनावारी हुँदा विद्यालयमा सबैले जिस्काउने समेत गरेको उनको अनुभव छ । साथीले जिस्काउँदा महिनावारी भएको बेला विद्यालयमा हप्तौं पढाइ छुट्ने गरेको र आफू पढाइमा कमजोर हुने गरेको बताइन् ।
महिनावारी भएको बेला पोसिलो खानेकुरा आवश्यक हुने गरेको भए तापनि छाउगोठमा चिसो खाना खान उनीहरू बाध्य छन् । सफा कपडा फेर्ने, शौच गर्ने ठाउँ नहुँदा कति महिलालाई यौनजन्य रोग लाग्ने गरेको समेत उनको अनुभव छ । सबैले प्रयोग गर्ने शौचालय नहुँदा जंगलमा शौच गर्नुपर्ने अवस्था रहेको शाहीको भनाइ छ । घरघरमा शौचालय त छ तर त्यो पनि देउता लाग्ने डरले प्रयोग गर्न दिइँदैन, घर त बस्न पाइँदैन शौचालय पनि प्रयोग गर्नमा संकोच छ । एउटै सानो गोठमा अप्ठ्यारो गरेर १५ देखि २० जना कोच्चिएर सुत्नु पर्ने कहाली लाग्दो अवस्था छ । अहिले त गोठ बनाइयो, केही वर्ष पहिला आमा दिदीहरूले एक घण्टा टाढा गएर ओढारमा बस्ने गरेको कक्षा ८ मा अध्ययन गर्ने सरला शाहीले बताइन् । महिनावारी भएको बेला बालबालिका पनि आमासँगै चिसोमा सुत्नु पर्ने भएकाले उनीहरूलाई निमोनिया समेत हुने गरेको छ । गाउँमा निमोनिया भएर वर्षमा २ देखि ७ जनासम्म अकालमा ज्यान गुमाउने परेको अनुभव उनीहरूसँग छ । चिसोले महिलालाई निमोनिया हुने, जिउ सुनिनेलगायतको समस्या हुम्लाका अधिकांश महिलालाई हुने गरेको छ । घरको जगसम्म पनि छुन नपाइने, छोएमा देउता लागि कुष्ठरोग लाग्ने त्यहाँको अन्धविश्वास हो । आजभोलि सबैले पढेलेखेका भए पनि कसैले यो समस्याका बारेमा बोल्ने गरेको पाइएको छैन ।

स्वास्थ्यकर्मी नै गोठमा बास
महिनावारी हुँदा घरमा बस्न नपाउने भएकाले गाउँमा कोही बिरामी भए पनि उपचार गर्न घरमा जान समेत नदिने गरेको राहदेव सामुदायिक इकाइकी अनमी आइतु कटेलको छ । गाउँमा बिरामी हुन्छन् उपचार गर्नका लागि घरमा नै जानु पर्छ, उनीहरू उपचार नपाई छटपटाइरहेका हुन्छन् तर घर पस्नका लागि अनुमति दिइँदैन आइतुले भनिन् । महिनावारी भएको बेला किशोरीहरू बलात्कारको जोखिममा बस्नु पर्ने अवस्था रहेको खार्पुनाथ– १ की सर्मिला शाहीले बताइन् ।
सिमिकोट र गाउँमा जनचेतनाको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले तालिम, सभा, गोष्ठी गर्ने तापनि यसको सकारात्मक प्रभाव परेको छैन ।