कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
1299

इलाम-पूर्वी पहाडि जिल्ला इलामका केही किसानले स्कुस बेचेरै गुजारा चलाउने गरेका छन् । स्कुसको मुन्टा, फल र जरासमेत खान सकिने भएकाले केही किसानले यसबाटै गुजारा चलाउने गरेका हुन् ।
चैत महिनामा रोपिने स्कुसको वैशाखदेखि असारसम्म मुन्टाको तरकारी बनाएर खान सकिन्छ । असारदेखि फल लाग्ने भएकाले यसलाई तरकारी र उसिनेर खाजाका रूपमा खान सकिने किसानहरू बताउँछन् । असारदेखि उत्पादन भएको फल कात्तिकसम्म रहन्छ । त्यसपछि यसको जरा (तरुल) तरकारी र खाजाकै रूपमा प्रयोग हुने गरेको छ ।

स्कुस किसानका लागि भरपर्दो आम्दानीको स्रोतसमेत बन्दै गएको छ । बजारमा तरकारीको अभाव भइरहेका बेला जिल्लाका किसान आफूले रोपेको स्कुसको मुन्टा बेचेर राम्रै आम्दामी गरिरहेका छन् । क पटक टिपेको हप्ता दिन नबित्दै पुनः टिप्न मिल्ने भएकाले यसको मुन्टा बेचेर किसानले हजारौं आम्दानी गर्ने गरेका हुन् । रोङ गाउँपालिकाका किसान जीवन राईले एकै सिजनमा २ सय ५० मुठा मुन्टा बेचेको वताए । उनले मुन्टा प्रतिमुठा ४० देखि ८० रूपैयाँसम्ममा बिक्री गरेको वताए । कम लगानीमा धेरै आम्दानी हुने स्कुस उत्पादन गर्न खासै मेहनत पनि गर्नु नपर्ने किसानहरू बताउँछन् । उनले मुन्टाबाट करिब ५० हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
मुन्टा बिक्री हुने समय सकिएपछि स्कुस बेच्ने र त्यसबाट १ लाख रूपैयाँ आम्दानी गर्ने सोच राखेको उनले बताए । स्कुस सुरुसुरुमा प्रतिकिलो ५० रूपैयाँमा बिक्री हुन्छ । उत्पादन बढी भएपछि भाउ सस्तो हुने किसानहरूको भनाइ छ । तर स्कुसको फल एकै बोटबाट धेरै उत्पादन हुने किसानहरू बताउँछन् । स्कुस फलको आम्दानी सकिएपछि जराबाट समेत उत्तिकै आम्दानी हुने उनी बताउँछन् । स्कुसको जरा प्रतिकिलो ८० देखि १ सय ५० रूपैयाँमा बिक्री हुने गरेको छ ।
रोङ गाउँपालिकामा उत्पादित तरकारी किसानले झापा लैजाने गरेका छन् । पहाडमा उत्पादित तरकारी तराईका जिल्लामा महंगो मूल्यमा बिक्री हुने गरेको छ । रोङ गाउँपालिका किसानले मेची राजमार्गमा निकालेरै पनि तरकारी र फलफूल राम्रो मूल्यमा बिक्री गरिरहेका छन् । उनीहरूले मेची राजमार्ग हुँदै राजमार्गका पसल, झापाको चारआली, बाहुनडाँगी, काँकडभिट्टा र भारतको नक्साल, बागडुग्रासम्म उत्पादन भएको मुन्टालगायतका तरकारी पु¥याईरहेका छन् । बहु बर्षे बालीका रूपमा पर्ने स्कुस जिल्लाका प्रायः सवै ठाउँमा उत्पादन हुने गरेको छ ।
रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिकरूपमा स्कुस खेती गरिन्छ । इलामको फिक्कल, कन्याम, कोल्बुग, माघे, जिर्मले, गोदकलगायतका गाउँमा पनि यसको व्यवसायिक खेती हुँदै आएकोछ । राजमार्ग आसपासका क्षेत्र र पर्यटकीय क्षेत्र भएकाले यहाँ उत्पादित स्कुसको मुन्टा बेच्न टाढा लैजानुपर्दैन । गाउँघरबाटै बिक्री हुन्छ । गाउँघरमै आउने ब्यापारीले राम्रो मूल्य हालेर लैजाने गरेको किसानहरू बताउँछन् ।