सागर परियार
शुक्रवार, जेठ ३१, २०७६
683

पहिलो मार्सी फलेको खेत

जुम्ला-जुम्लामा मार्सी धानको इतिहास सार्वजनिक भएको छ । ११ सय वर्ष पहिले महापुरुष लछालकृति पैकलोले तातोपानी–२ को लाछुज्यूलोमा धान रोपेको किवंदन्ती सार्वजनिक भएको हो । किंवदन्तीअनुसार लछालकृति पैकेलो, तातोपानी–२ को झारखोली भन्ने जंगलमा बेवारिसे अवस्थामा थिए । ११ सय वर्षअघि कुचे बुढा भन्ने व्यक्तिले जंगलमा रोइरहेको अवस्थामा पैकलो नामको बच्चालाई भेटे । उसलाई घरमा ल्याएर लालनपालन गरेपछि एक दिन पैकलो आफैं गएर हाल धानका खेत रहेको लाछुज्यूलोको घना जंगलमा कालीमार्सी धान उत्पादन हुने भन्दै खन्न थाले ।
“११ सय वर्षको समयमा पैकेलोले एक्लै खनेर धान रोपेपछि ५ महिनाको अवधिमा कालीमासी धान उत्पादन भएको हो,” स्थानीय ८० वर्षिय नन्दप्रसाद अधिकारीले आफ्ना बूढाबाजेको भनाइलाई उदृत गर्दै भने, “खेत खन्ने क्रममा हिलो लागेपछि हिलो पुछ्न पैकेलोले घुँडा कोचेर पानीको मुहान निकालेको समेत इतिहास जिवित छ ।” जसलाई मुखमुल भनेर नामाकरण गरिएको उनले बताए ।
पैकेलो एक महापुरुषका रुपमा तातोपानीको विकासमा जुटेपछि सिंजाका शक्तिशाली जालान्धर राजाले उनलाई विभिन्न प्रलोभनमा पारी एकै राज्यमा दुई राजा नहुने भन्दै मारेको समेत इतिहास छ । स्वर्गीय लेखक रत्नाकर देवकोटाको एक पुस्तकमा पैकेलोले जुम्लामा अनिकाल नहोस् भन्दै घना जंगल फाँडेर खेत बनाउने शक्ति दिएको र त्यसपछि मात्रै सबैले खेत बनाउँदै मार्सी रोप्ने गरेको उल्लेख छ ।
पहिलाको घना जंगल अहिले जिल्लाकै सबैभन्दा बढी मार्सी धान फल्ने ज्यूलो बनेको छ । लाछुज्यूलोमा धान रोपिसकेपछि मात्रै बाबा चन्दननाथले सेरा खेतमा कास्मिरबाट ल्याएर धान रोपेका हुन् । त्यसैगरी छुमचौर ज्यूलोमा पनि दशकपछि मात्रै रोपाईं भएको थियो । ११ औं शताब्दीमै जालान्धर राजाले पैकेलो महापुरुषलाई मारेपछि उनको एतिहास ओझेलमा परेको किंवदन्ती छ ।
तर, हाल स्थानीय सरकार यसको संरक्षणमा जुटेको छ । लछालकृति पैकेलाको संरक्षण अभियानमा वडा नं. ३ का वडाध्यक्ष डिल्ली रावल अग्रसर भएका छन् । अहिले उक्त गुरुफोक्टो तातोपानी–२ का धनबहादुर बुढाले खेती गर्छन् । त्यो खेतमा वर्सेनि अरु खेतमा उत्पादन नभए पनि गुरुफोक्टोमा एक सुपो उत्पादन हुने धनबहादुर बुढाले सुनाए ।

रोपाईं महोत्सव
जुम्लामै पहिलो मार्सी धान फलेको लछालकृति पैकेलोको नामाकरण गरेको खेत (गुरुफोक्टो)मा बिहीबार जिल्लाव्यापी रोपाईं महोत्सव गरिएको छ । एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसान गरी हजारौंको सहभागितामा रोपाईं महोत्सव गरिएको हो ।
स्थानीय सरकार आएपछि जुम्लामै पहिलो मार्सी फलेको गुरुफोक्टो र मार्सीको पहिचान जोगाउन जिल्लाव्यापी रुपमा रोपाईं महोत्सव गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए । उनका अनुसार कार्यपालिकाको बैठकमा छलफल गरी जेठ ३० मा पैकेलोको सम्झनामा सार्वजनिक बिदा दिने बताए । मार्सी धानको पहिलो खेत गुरु फोक्टोलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा पूर्वराज्यमन्त्री गोमा कुँवर जोड दिइन् । जिससका प्रमुख लालबहादुर सार्कीले पैकलोको इतिहासलाई जिवित राख्ने मार्सीको जगेर्ना गर्न गुरुयोजना बनाउन सुझाव दिए ।
जुम्लावासीले भने पैकेलोको शालिक बनाउन र अध्यक्षकोष स्थापना गर्दै संरक्षणको काम गर्न सुझाव दिएका छन् । जुम्लाका सबै जनप्रतिनिधिले गुरुफोक्टोको संरक्षण र मार्सी बचाउनका लागि जिल्लाव्यापी अभियान चलाउने प्रतिबद्धता जनाएका छन् । गुठिचौरका अध्यक्ष हरिबहादुर भण्डारीले तातोपानी धार्मिक, प्राकृतिक तथा सांस्कृति पर्यटनको हब भएको दाबी गरे । उपाध्यक्ष गंगादेवी महतले प्रत्येक वर्ष जेठ ३० गते जिल्लाव्यापी धान रोपाईं महोत्सव गर्ने बताइन् ।