कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
587

कृषि अध्ययन केन्द्रको रूपमा विकास गर्ने तयारी

सिन्धुपाल्चोक-इन्द्रावती गाउँपालिकास्थित नवलपुरको एक कृषि फार्ममा २५ बढी प्रजातिका विरुवाको खेती हुने गरेको छ । अलैंचीको बेर्ना उत्पादनबाट सुरु भएको फार्ममा उत्पादन र परीक्षण गर्ने गरी खेती हुने गरेको हो ।

नवलपुरकै क्षेत्रबहादुर तामाङको अगुवाइमा स्थापना गरिएको फार्ममा बेर्ना उत्पादनका साथै खेतीसमेत हुने गरेको छ । बेरोजगार भएर साउदी छिर्दा विदेश बसेर प्रशस्त पैसा कमाउने मात्रै सपना बुनेका तामाङले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न फार्मको स्थापना गरेका हुन् । खाडीको आयातित माटोमा भएको कृषि फार्ममा काम गर्दागर्दै हावापानी र माटो सबै उपयुक्त भएको आफ्नो ठाउँमा आएर काम गरेको उनले बताए । खाडीको २६ महिना बसाइलाई पाठशालाको रूप दिँदै आफ्नै पाखोबारीमा कृषि फार्म सञ्चालन गर्ने उद्देश्य बोकेर २०७२ मा नेपाल फर्केर फार्म सुरु गर्ने निष्कर्षमा पुगेका थिए । अंगुर खेती गर्ने लक्ष्य लिएका उनलाई विज्ञहरूले त्यो हावापानीमा अंगुर फस्टाउन नसक्ने सल्लाह दिएपछि बहुमुखी फार्म सञ्चालन गर्ने सोच बनाएर विभिन्न प्रजातिका बीउ र बेर्ना लगाएका हुन् । उनले आफ्नै र भाडामा लिएको गरी ३० रोपनी जमिनमा फार्म सञ्चालन गरेका छन् । अर्काको फार्ममा काम गर्न खाडी गएका उनै तामाङले अहिले १२ जनाभन्दा बढी युवालाई रोजगारी दिएका छन् ।
फार्ममा भएका सबै उत्पादन अग्र्यानिक रहेको तामाङले बताए । नेपाली मात्र हैन विदेशी माटोमा फस्टाउने विरुवा पनि उनको रोजाइमा परेका छन् । रक्त सञ्चारलगायत रोगमा प्रयोग हुने औषधि बन्ने बिलोवा जातको बिरुवा लगाएका उनले आफ्नो फार्मको नाम पनि बिलोवा अग्र्यानिक कृषि फार्म जुराए । उनको फार्ममा कफी र अलैंचीको बेर्नाले उत्पादन दिन थालिसकेका छन् । आफ्नै ब्राण्डको कफी उत्पादन गर्ने सोचले कफी प्रशोधन मेसिन ल्याइसकेका छन् । “अबको उत्पादन यहीँ प्रशोधन भएर आफ्नै ब्राण्डमा बजारमा पठाउँछौं,” फार्ममा कार्यरत सुदिप सापकोटाले भने, “परीक्षणमा सुरु गरिएका विरुवाहरू पनि राम्रो भएकाले व्यावसायिक रूप दिने तयारी छ ।”
फार्ममा अस्टे«लियाको राष्ट्रिय फल भेकाडेभिया पनि रोपिएको छ । “बिरुवा राम्रो सप्रेको छ, फल दिन थालेपछि थाहा हुन्छ अनि बिरुवा थप्ने सोच बनाएका छौं,” क्षेत्रबहादुरले भने, “धेरै बिरुवा परीक्षणका लागि लगाएका छौं, प्रायः सबै राम्रो देखिएको छ ।”
फार्ममा एभोकाडो, रुद्राक्ष, बुद्धचित्त, कफी, अलैंची, सुन्तला, जुनार, स्याउ, अलभाण्ड, दाँते ओखर, अनारलगायतका बिरुवा रोपिएको उनले जानकारी दिए । “धेरै जमिन बाँझो छ, यसको सदुपयोग ग-यो भने विदेस जानु पर्दैन भन्ने सन्देश दिन पनि मैले यो फार्म सुरु गरेको हुँ,” क्षेत्रबहादुरले भने, “यसलाई कृषि अध्ययन, अवलोकन केन्द्रको रूपमा विकास गर्नुपर्छ भन्ने सोच पनि बनाएको छु ।” उनले भने जस्तै कृषि विषय अध्ययन गर्नेहरूका लागि यो फार्म उपयुक्त अवलोकनस्थल बन्न सक्ने फार्मलाई नजिकबाट नियालेका इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ बताउँछन् । तामाङको भनाइमा एउटै फार्ममा धेरै प्रजातिका विरुवाको खेती बिरलै हुने भएकाले यो फार्म अध्ययन अवलोकनको केन्द्र बन्न सक्छ । “प्रचारप्रसार राम्रो हुने हो भने बिलोवा अध्ययन केन्द्र बन्नेमा शंका नै छैन,” तामाङले भने, “यस्ता उदाहरणीय कामको सराहना गर्नुपर्छ ।”
तीन वर्षअघि १५ लाख रूपैयाँ लगानी गरेर सुरु गरेको यो व्यवसायमा अहिलेसम्म ५० लाख भन्दा बढी खर्च भइसकेको क्षेत्रबहादुरले जानकारी दिए । उनको फार्म देखेपछि नर्वेजियन नागरिकहरू प्रभावित भएर उनीसँग साझेदारी गर्नसमेत आए । नर्वेजियनसँगको साझेदारीमा कैंजले, तिललुङ्बा र कात्तिकेमा समेत उनले फार्म सुरु गरेका छन् । “विदेशको गर्मीमा काम भन्दा यहीँ नै आनन्द महसुस भएको छ,” क्षेत्रबहादुरले भने ।

किशोर बुढाथोकी