लक्ष्मण ढुंगाना
शुक्रवार, जेठ ३१, २०७६
961

बर्दिया-देशभरका किसान अहिले बर्खे धान खेतीका लागि बीउ राख्ने तयारीमा छन् । कतिपय ठाँउमा ब्याड राखिसकिएको छ भने केही स्थानमा तयारी भइरहेको छ । तर, बर्दियाको राजापुर क्षेत्रका कृषक भने बीउ राख्न मात्र होइन पाकेर पहेंलपुर भएको चैते धान भिœयाउनसमेत व्यस्त छन् । लगानीको तुलनामा आम्दानी बढी हुने भएपछि राजापुर क्षेत्रका कृषक चैतेधानप्रति आकर्षित भएका हुन् । अन्न भण्डारको रूपमा पहिचान बनाएको राजापुरमा चार वर्ष अघिदेखि चैतेधान खेती हुन थालेको हो । सुरुमा २३ हेक्टर जमिनबाट चैतेधान खेती विस्तार गरिए पनि गतवर्ष क्षेत्रविस्तार गरेर १ सय ३० हेक्टरमा कृषकले धान लगाएका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यान्वयन एकाइका अनुसार यसवर्ष राजापुर क्षेत्रमा करिव ५ सय हेक्टरमा धान खेती गरिएको छ । बाह्रै महिना सिँचाइ सुविधाका साथै कम लगानीमा उत्पादन राम्रो हुने भएपछि  भएपछि यहाँका किसान चैते धानप्रति आकर्षित भएको परियोजनाका प्रमुख वीरेन्द्र पराजुलीले बताए । चैतेधानमा यसक्षेत्रमा निकै सम्भावना रहेको भन्दै आगामी आर्थिक वर्ष २०७६-७७ मा १ हजार हेक्टर र २०७७-७८ मा २ हजार हेक्टरमा पु-याउने लक्ष्य राखेको उनको भनाइ छ । उनका अनुसार परियोजना लागू भएपछि राजापुर क्षेत्रमा मेसिनरी प्रयोग बढाएर लागत कम गरी उत्पादन बढाउनतर्फ कृषक अग्रसर भएका छन् । हाल धान रोप्ने, काट्ने सवै प्रविधि आइसकेकाले एक हजार हेक्टर क्षेत्रविस्तार भएपछि धान सुकाउने प्रविधि ल्याएर त्यसक्षेत्रमै मिल सञ्चालन गरी ब्रान्डिङ गरेर बिक्री वितरण गर्ने योजना छ । परियोजनाले यस आर्थिक वर्षमा डेढ करोड बजेट कृषकलाई अनुदानमा वितरणका लागि खर्च गर्दै छ ।परियोजनाअन्तर्गत आधुनिक प्रविधिको प्रयोग, स्वच्छ र गुणस्तरीय बीउ, विषादी, प्रविधि हस्तान्तरण गर्नुका साथै बजारीकरणमा सहयोग गरेर मुलुकलाई धानमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यअनुरूप परियोजनाले काम गरिरहेको उनको भनाइ छ ।चैतेधानको क्षेत्र विस्तार भए पनि बिक्रि वितरणका लागि भने समस्या हुने भएको छ । राजापुरमा रहेको खाद्य संस्थानले चैते धान खरिद नगर्ने भएका कारण कृषकलाई आफूले उत्पादन गरेको धान बिक्रीमा समस्या हुने भएको हो । गत वर्ष पनि व्यवसायी र खाद्य संस्थानले चैते धान खरिद नगर्दा किसान मर्कामा परेका थिए । यस वर्ष पनि खाद्य संस्थानले धान नकिन्ने जनाएको छ । धान बिक्री नहुने भएपछि आफूहरू चिन्तित बनेको गेरुवा गाउँपालिका वडा नम्बर ४ गिदरपुरका प्रदेसु थारुले बताए ।खाद्य संस्थानअन्तर्गत आधुनिक धान चामल कारखाना राजापुरले केन्द्रबाट चैतेधान खरिदका लागि निर्देशन नआएकाले यस वर्ष पनि खरिद नहुने भएको हो । यस क्षेत्रमा बर्खामा १६ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । सो धान खाद्य संस्थानले खरिद गर्ने गरेको छ । चैतेधानको समेत क्षेत्र विस्तार हुँदै गईरहे पनि चैते धानमा चिस्यान बढी भएका कारण खरिद नहुने गरेको बताइएको छ । परियोजनाले चिस्यान घटाउने प्रविधिका लागि पहल गर्ने जनाएको छ ।