कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
520

जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्षदिनमा ९ महिना उच्च हिमाली भेगमा बित्छ । घरखर्च चलाउनका लागि चौरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन् । हरेक वर्षको पुसदेखि कात्तिकसम्म शेर्पाले बिकट हिमाली भेगमा रहेको चौरी खर्कमा बिताउने गरेका छन् । यो समयमा उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौरी र आसपासका चौंरीपालक किसानसँग मात्र हुन्छ ।
पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका उनी मात्रै हैन, सिन्धुपाल्चोककै पारी गाउँको नामले चिनिने जुगल गाउँपालिका–३, गुम्बाका दर्जन बढी चौंरीपालक किसानको दैनिकी हो यो । चौंरीपालकहरू चौंरीबाट हुने आम्दानीका लागि ९ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको जाङ्बुले सुनाए । “पढेको छैन, अरू सीप पनि छैन,” उनी भन्छन्, “परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।”
वर्षमा पाँचभन्दा बढी ठाउँमा चौंरीको गोठ सार्नुपर्छ । साथसाथै चौंरीपालकहरूले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौरीको गोठ सार्छन् । पुम्बासेर्पू समुद्री सतहबाट ४ हजार ५ सय मिटरमा पर्छ । “बाबु र हजुरबादेखि थाहा भएसम्म यही पेसा गरे, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ ।” जुगल हिमालको फेदिमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भने, “चौरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ ।” बच्चैदेखि हिमाली भेगमै बसेकाले जंगली जनावरको डर नलाग्ने उनले बताए ।
खर्कका पुरुष सदस्यहरू रासन सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले ९ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरू जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् ।
६ जनामध्ये ४ जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभर दुःख गरेर दुई साढे दुई लाख रुपैयाँ आम्दानी हुने बताउँछन् । “आफैं बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ,” पेरोम्जी भन्छन्, “दुःख धेरै आम्दानी कम भएपनि चित्त बुझाउनु परेको छ ।” पेरोम्जीका पछिल्ला दुई सन्तान आफन्तकोमा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।
बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उनी चौंरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सकेकी छैनन् । “गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन् म त केही बुझ्दिन,” मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भनिन्, “बा–आमालाई सघाउनु परेकाले गोठमै बस्नुपर्छ गाउँका कुरा केही थाहा हुँदैन ।”
साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चौरी पालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमश्रृंखलाको बेसक्याम्प पुम्बासेर्पूसम्म गोठ सार्छन् । सरकारले कृषि क्षेत्रमा बजेट दिन्छ भन्ने गाउँ पुग्दा सुने पनि आफूहरूले कुनै सहयोग नपाएको मिङ्मार शेर्पा बताउँछिन् । गोठमा चौरी बिरामी भए पनि मान्छे बिरामी भए पनि खर्कमा पाउने जडिबुटी नै उपचारको माध्यम भएको उनले बताइन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौंरी व्यवसाय हो ।

किशोर बुढाथोकी