कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
319

स्याङ्जा-कुनै बेला आलुको बीउका लागि भारतको भर पर्नुपर्ने अवस्था थियो । मंसिर महिना लाग्नासाथ स्याङ्जाका कृषक आलुको बीउ खोज्न भारतसम्म पुग्ने गरेका थिए । तर जिल्लाको गल्याङ नगरपालिका–११ जिमुहामा शीत भण्डार सञ्चालनमा आएपछि अब स्याङ्जा आलुखेतीमा आत्मनिर्भर बन्ने दिशामा अग्रसर देखिएको छ ।
आलुको बीउलाई व्यवस्थापन गर्न यहाँका कृषकले शीतभण्डार सञ्चालनमा ल्याएका छन् । आलुखेतीको पकेट क्षेत्रका रूपमा विकसित गल्याङ नगरपालिका–११ मा आलुको बीउ भण्डारण गर्न शीतभण्डार सञ्चालनमा ल्याइएको हो । मंसिरमा लगाएर फागनुमा प्रतिफल पाइने आलुको व्यवस्थापन गर्न नसकेर कुहिएर जाने समस्या झेल्दै आएका कृषकलाई राहत भएको छ ।

एक सिजनको ३-४ महिना मात्र पुग्ने गरी आलु लगाउनुपर्ने बाध्यता थियो स्थानीय कृषकलाई । शीतभण्डार सञ्चालनमा आएसँगै वर्षभरी खान पुग्ने आलु तथा व्यवसायिक आलुखेतीमा कृषकले ध्यान दिन थालेका छन् । स्याङ्जामा आलु बर्षभरीनै बचाएर राख्न सकिने प्रविधिको विकास भएसँगै कृषकहरू आलुखेतीमा आकर्षित भएका छन् ।
विश्व बैकको सहयोगमा १ करोड १७ लाख रूपैयाँको लागतमा आर्थिक वर्ष २०७५-७६ मा निर्माण सम्पन्न भएर शितभण्डार सञ्चालनमा ल्याइएको हो । नेपाल सरकार सिँचाइ तथा जलस्रोत व्यवस्थापनको अनुदान रकम र स्थानीय आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) को सहभागितामा मझौला शीतभण्डारण निर्माण गरिएको हो ।
१ सय ५० मेट्रिक टन क्षमता रहेको भए पनि अहिले प्रचारप्रसारको अभावमा ९० मेट्रिक टन मात्र भण्डारण गरिएको संस्थाका कोषाध्यक्ष चक्रपाणी कँडेलले बताए । “पहिलो वर्ष भएर होला धेरै कृषकले आलु भण्डारण गर्न ल्याएका छैनन्,” कँडेलले भने, “अर्को वर्षबाट आलु भण्डारण बढ्ने अपेक्षा गरेका छौं ।” आलु खाँदा होस वा बीउ किन्दा नै किन नहोस ठूलो रकम भारत जाने गरेको थियो, अब भारतबाट आलु आयात गर्न नपर्ने उनले बताए ।
प्रतिबोरा ३ सय ५० रूपैयाँमा ७ महिनासम्म शितभण्डारमा आलु राख्न सकिने सुविधा भएपछि छिमेकी जिल्ला पाल्पाकासमेत कृषक लाभान्वित भएका छन् । आलुको बीउलाई भण्डारण गर्न पोखरा र भैरहवा पुग्नुपर्ने यहाँका कृषकलाई शीतभण्डार सञ्चालनमा आएपछि राहत भएको छ ।
४ देखि ६ डिग्रीसम्मको चिस्यानमा आलुको बीउ राखिने गरेको छ । नियमित विद्युत् सेवा प्रवाह नहुँदा अत्यन्तै समस्या खेप्न बाध्य भएको कृषकहरूको भनाइ छ । चौविसै घण्टा विद्युत्बाट चिस्याउनु पर्ने भण्डारणमा विद्युत् अबरुद्ध हँुदा जेनेरेटरको व्यवस्था गर्नुपर्दा लागत बढी छ ।
गतवर्ष जिकुहाबाट देशका विभिन्न जिल्लामा आलुको बीउ निर्यात भएको संस्थाले जनाएको छ । अब आफ्नै बारीमा उत्पादन भएको आलु र आलुको बीउको प्रयोग गर्न सके भारत जाने गरेको ठूलो रकम स्बदेशमा रहन्छ । ४ सय २४ सेयर सदस्य रहेको शीतभण्डार गृह साढे २ रोपनी जग्गामा फैलिएको छ ।

प्रकाश डोटेल