कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
407

ताप्लेजुङ-सिरिजंघा गाउँपालिका–८ का खड्ग गुरुङले लगाएको चिराइतो बारीमै थन्किएको छ । उनले दुई वर्ष यता लगाएको चिराइतो बिक्री नहुँदा बारीमै थन्किएको हो । बर्सेनि घट्दो मूल्यका कारण खेती गर्नेको संख्या पनि घट्दो छ । खेती गर्नेहरूको चिराइतोसमेत बारीमै छ । गुरुङले भने, “प्रतिमन (४० किलो) को २५ हजार रूपैयाँसम्म बिक्री गरियो, मुस्किलले दुई हजार मूल्यमा बिक्री गर्न किन खेती गर्नु ?” आर्थिक वर्ष २०७३-७४ मा करिब ८० मन चिराइतो उत्पादन गरेका गुरुङको वारीमा प्रत्येक वर्षको उत्पादित ३० मनभन्दा बढी चिराइतो खेर गएको छ । बारीमा पाक्ने र उम्रने भए पनि स्याहार नहुँदा चिराइतो खेतीको जग्गा झाडीमा परिणत हुँदै गएको छ ।
अर्का किसान मनवीर राईका अनुसार दुई वर्षयता कारोबार नै ठप्प छ । राईले भने, “न त खेती छ, न त चिराइतो नै !” वडामै सबैभन्दा बढी चिराइतो उत्पादन गर्ने किसानले परिचित राईको घरमै करिब ४०-५० मन चिराइतो कुहिन लागेको छ । वार्षिक सय मन हाराहारी उत्पादन गर्ने गरेका राईले गाउँका अरु किसानको समेत चिराइतो खरिद गर्थे ।

पूर्वी पहाडको चिराइतो तिब्बतसमेत निर्यात हुने गरेको थियो । ७ वर्षअगाडि ओलाङचुङगोलामा चिराइतो प्रतिमन ४५ हजारसम्ममा कारोबार भएको थियो । राईले भने, “गाउँमा प्रतिमन २५ हजारमा खरिद गर्थें, ओलाङचुङगोलामा प्रतिमन ४० हजारसम्ममा बिक्री गर्ने गरेको थिएँ ।” उनका अनुसार तिब्बतका व्यापारीले नेपालीको चिराइतो गुणस्तरीय भएकाले खरिद गर्थे । पूर्वी पहाडका चिराइतो हेलिकोप्टरमार्फत ढुवानीसमेत हुने गरेको थियो । ताप्लेजुङवाहेक पाँचथर, इलाम, तेह्रथुम र संखुवासभाको चिराइतो हेलिकोप्टरबाट ओलाङचुङगोलासम्म ढुवानी गर्ने गरिएको थियो ।
गुरुङ र राई त प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका अधिकाँश किसानले चिराइतो खेती छाडेका छन् । कात्तिकदेखि पुससम्म संकलन गर्ने र माघदेखि जेठसम्म जिल्ला बाहिर निर्यात हुने गरेको थियो । फुङलिङ नगरपालिका–५ का व्यवसायी इन्द्रबहादुर गुरुङले गतवर्षदेखि चिराइतो व्यापार गर्न छाडे । गुरुङले भने, “उत्पादन छ तर माग छैन ।” यतिसम्मकी सदरमुकाममा व्यापारीलाई चिराइतोको मूल्य थाहा छैन । विगत लामोसमय चिराइतो व्यापारमा संलग्न व्यवसायी भद्रवीर रेग्मीका अनुसार बजारमा चिराइतोको व्यापार ठप्प छ । माग घट्नुको कारणबारे सोधिएको जिज्ञासामा अधिकाँश व्यापारीले अनभिज्ञता प्रकट गरे ।
फुङलिङ नगरपालिका–९ का दावारेञ्जी शेर्पाले अघिल्लो वर्ष प्रतिमन १६ हजारले ४० मन चिराइतो खरिद गरे । शेर्पाले किने लगत्तै भाउ ओरालो लाग्यो । यद्यपी भाउ बढ्ने आशामा एक वर्ष त्यत्तिकै राखे । यस वर्षको सिजन अन्त्य हुन लाग्दासमेत नबढेपछि केही समय अघि प्रतिमन साढे सात हजारले बेच्न बाध्य भएको शेर्पाले बताए । शेर्पाले भने, “भाउ झन् घट्ने छाँट देखेपछि घाटा सहेरै बेचेको हुँ । व्यापारमा घाटा नाफा स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाएको छु ।” शेर्पा स्वयम् कृषकसमेत हुन् । उनले ४५ रोपनीमा चिराइतो लगाएका छन् ।
जिल्ला वन कार्यालयका प्रमुख श्रीमोहनलाल कर्णका अनुसार चालू आर्थिक वर्षमा ४ हजार ५ सय किलो चिराइतो उत्पादन भएको छ । ६७ हजार ५ सय राजस्व संकलन भएको थियो । प्रतिकिलो १५ रूपैयाँ राजस्व तोकिएको छ । अघिल्लो वर्ष भने ४ हजार ४० केजी उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालय प्रमुख कर्णले भने, “खेती गर्नका लागि जमिन र हावापानी अनुकूल छ । तर बजार भाउकै कारण खेती कमजोर भएको पाइयो ।” चालू आर्थिक वर्षमा चिराइतो खेतीसम्बन्ध्ीा कार्यालयको कुनै कार्यक्रम नभएको उनले बताए । अलैंचीजस्तो वर्षौ राख्न चिराइतो सम्भव हुँदैन । त्यही भएर स्टक गर्ने चलन छैन ।
समुद्री सतहबाट करिब १२ सयदेखि ३ हजार मिटर उचाइसम्म चिराइतो खेती गरिन्छ । औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवद्र्धक टनिक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ । ‘स्वेरसिया चिराता’ वैज्ञानिक नामको यो जडीबुटी कीटाणुनाशक मानिन्छ । चिराइतो जंगली जनावरले नखाने र रोगकीरासमेत नलाग्ने जडिवुटी हो ।
देवराज गुरुङ