कारोबार संवाददाता
शुक्रवार, जेठ २४, २०७६
335

प्यूठान-रोजगारी र आम्दानी बढाउने उद्देश्यले प्यूठानका कृषकले सामूहिक लगानीमा कृषि फार्म सञ्चालनमा ल्याएका छन् । प्यूठान नगरपालिका–९, मरन्ठाना बूढादेवीका स्थानीय कृषक सामूहिक कृषि फार्ममा लागेका हुन् । ६० रोपनी जग्गा भाडामा लिई उनीहरूले विभिन्न तरकारी खेती, स्थानीय जातका कुखुरापालन, व्यावसायिक भैंसी, बाख्रा र माछापालन गर्न थालेका हुन् ।

कुसुनढुंगा एकीकृत कृषि फार्म गठन गरी १८ जनाको सामूहिक लगानीमा कृषि फार्म सञ्चालनमा ल्याइएको फार्मका अध्यक्ष बोमबहादुर भण्डारीले बताए । “प्रतिव्यक्ति दुर्ई लाखका दरले फार्ममा लगानी गरेका छौं” भण्डारीले भने, “दैनिक ज्यालादारी रूपमा ७ जनाले फार्ममा काम गर्दै आएका छन् ।” गत कात्तिकदेखि फार्म सञ्चालनमा ल्याइएको हो । १० वटा भैंसी, २४ वटा उन्नत जातका बाख्रा तथा खसी, माछा, स्थानीय जातका कुखुरा पालनसँगै फार्ममार्फत बेमौसमी तरकारी उत्पादन गरिँदै आएको छ । भौतिक पूर्वाधारको विकास गर्दै कृषि तथा पशुपालनलाई वृद्धि गर्दै लैजाने योजना रहेको भण्डारीले बताए । “भौतिक संरचनाको विकास गर्दै फार्मलाई दीर्घकालिन रूप दिन लागि परेका छौं,” उनले भने, “विस्तारै उत्पादन क्षमतालाई समेत वृद्धि गर्दै लैजाने योजना छ ।”
कृषि उत्पादनका हिसावले उर्वर भूमि, सिँचाइका लागि बारैमास बग्ने खोला र बजारको पायकका दृष्टिले समेत यस क्षेत्र व्यावसायिक कृषिका लागि उत्तम मानिन्छ । विदेसिएका युवालाई गाउँमै फर्काउनसमेत कृषि फार्म नमूना हुने समूहको विश्वास छ । “युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आयआर्जनका सम्भावनामा उत्प्रेरित गराउन फार्म प्रेरणा बन्ने छ,” अध्यक्ष भण्डारीले भने । कृषि तथा पशुपालनको व्यवसायिकतासँगै वडाको समुन्नति हुने वडाअध्यक्ष नेहरसिंह केसी बताउँछन् । “परम्परागत खेती प्रणाली छाडेर व्यवसायिमुखी बन्नु जरुरी छ,” उनले भने । वडाले कृषि उत्पादन र स्वरोजगार बढाउनका लागि विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उनले बताए ।

गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । उत्पादन र आम्दानी राम्रो भएपछि उनीहरू व्यावसायिक कृषिमा अगाडि बढ्न थालेका हुन् । प्रदेश सरकारको ‘स्मार्ट कृषि’ परियोजना मार्फतसमेत यहाँ व्यवसायिक खेती प्रणाली अगाडि बढाइएको छ ।
प्रज्वल पहाडी