सागर परियार
मंगलबार, जेठ २१, २०७६
387

ऐतिहासिक सेरा खेतको रोपाईं

जुम्ला-नेपालकै प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको ऐतिहासिक सेरा (खेत) ज्यूलोमा रोपाईं गरिएको छ । जुम्लाको सदरमुकाम खलंगास्थिल चन्दननाथ भैरवनाथ बाबाको ३५ हजार वर्गमिटर खेतमा रोपाईं सुरु गरिएको हो । सेरा खेतमा रोपाईं गर्न चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे रोपहार (स्थानीय भाषामा रोप्नेरी) का रूपमा सहभागी भएका थिए ।
लामो समयदेखि सरकारी सेवामा रहेकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जुम्लाको रोपाईंमा खस पहिरनमै सजिएर सहभागी हुन पाउँदा खुसी महसुस भएको बताइन् । चन्दननाथ सहकारीको आयोजनामा रोप्नेरी जुटाएर सेरा खेतमा रोपाईं गरिएको हो । जुम्लाभरीका सयौं भक्तजनको उपस्थितिमा सेरा ज्यूलोको खेतमा भव्यताका साथ रोपाईं गरिएको चन्दननाथ गुठीले जनाएको छ ।

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले कालिमार्सी धान र चन्दननाथ भैरवनाथ मन्दिर जुम्लाको मात्र नभएर नेपालकै पहिचान भएको बताइन् । यसलाई जोगाउनु स्थानीय जनप्रतिनिधिदेखि अन्य सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । कालीमार्सी धानसँग जुम्ली पहिचान जोडिएकाले यसको संरक्षण र सम्वद्र्धन गर्न स्थानीय सरकार पनि जिम्मेबार भएको सन्देश दिन रोप्नेरी बनेको उनको भनाइ थियो ।

कृषि विज्ञ बालकराम देवकोटाले धान रोपेपछि पाक्नलाई आवश्यक पर्ने १ सय ५० देखि १ सय ६५ दिन लाग्ने बताए । असारमा धान रोपे कात्तिकसम्म पनि नपाक्ने भएकाले यहाँ परम्परादेखि नै जेठमै धान रोप्ने चलन रहेको उनले बताए । समुद्री सतहदेखि २ हजार ७ सय ९० मिटर उचाईमा रहेको जुम्लाको छुमचौर ज्यूलोमा मार्सी धान फल्ने गर्दछ । तर, पछिल्लो समयमा मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा स्थानीय किसानदेखि जनप्रतिनिधिसमेत लाग्दै आएका छन् ।
बजारमा मार्सी चामलको माग बढ्दो छ । तर ब्लास्ट रोगको संक्रमण र असिना पानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको १३ सय हेक्टरमा मार्सी खेती हुँदै आएको छ । यो धान शितोष्ण हावापानीका लागि उपयुक्त मानिन्छ ।