कारोबार संवाददाता
सोमवार, जेठ १३, २०७६
777

इलाम-नेपालमा चिया रोप्न सुरु भएको डेढ शतकपछि नेपाली चियाको पहिचान गर्न थालिएको छ । इलाम र सोक्तिम चिया बगानका बिरुवा छनोट गरी नेपाली जातको विरुवा पहिचान गरेर उत्पादन सुरु गरिएको हो । चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाले यसको खोजी गरेर नेपाली चियाको विरुवाको पहिचान गर्न सुरु गरेको हो ।
१९२० सालमा चिया रोपण थालिएको नेपालमा नेपाली जातकै चियाको विरुवाको उत्पादनका लागि अध्ययन थालिएको हो । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रणमबाट उपहार पाएको चियाको बीउबाट विस्तार गरिएको इलाम र सोक्तिम चिया बगानका बिरुवा छनोट गरी नेपाली जातको विरुवा उत्पादन सुरु गरिएको चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाले जानकारी दिएको छ ।

भारतीय जातको चियाका बिरुवाले झाँगिएको नेपाली चिया बगान र विस्तार योजना अन्त्य गर्न नेपाली जातकै बिरुवाको उत्पादन थालिएको छ । भारतीय चियाविज्ञ एसके प्रधानलाई बोलाएर नेपाली जातकै विरुवा उत्पादन थालेको चिया तथा कफी विकास बोर्ड अहिले आफ्नै प्राविधिकबाट अध्ययन र विरुवा उत्पादन गर्दैछ । बीउबाट रोपण गरिएको इलाम र सोक्तिम चिया बगानका निरोगी बिरुवाको हाँगा काटेर पूर्वी नेपालका ७ जिल्लामा चिया विस्तार योजनामा नेपाली जातको विरुवा उत्पादन गरिँदैछ । २०६५ सालबाट थालिएको अध्ययन र बिरुवा उत्पादनको कामपछि १० वर्षमा ५ सय विरुवा किसानलाई वितरण गरिएको चिया विस्तार योजनाका प्रमुख इन्द्र अधिकारीले बताए ।
इलाम र सोक्तिमका १०÷१० वटा चियाका बोटको हाँगा कटिङ गरेर चिया विस्तार योजनाले पुनः ५ सय विरुवा रोपण गरेको छ । इलाममा भन्दा केही वर्षअघि मात्र चिया रोपिएको भारतमा आफ्नो जातको चियाको बिरुवा विकास गरे पनि नेपालमा अहिलेसम्म भएको छैन । नेपाली चियाको जात (क्लोन ) नहुँदा भारतीय जातका चियाको रोपण बढ्दै गएकाले आफ्नै जात विकासको काम आर्थिक वर्ष २०६४÷६५ सालमा सुरु गरिएको थियो ।
चिया तथा कफी विकास बोर्डको सिमित बजेटबाट भारतीय चियाविज्ञ ल्याएर सुरु भएको अध्ययनको काम बीचमा २ आर्थिक वर्ष बजेट नभएपछि समस्या भएको थियो । बजेट अभावले भारतीय चियाविज्ञले काम छाडे पनि अहिले बोर्डका आफ्नै प्राविधिकबाट काम भइरहेको छ । प्राविधिक टोलीले नयाँ विरुवा उत्पादन गर्ने र यसअघि किसानलाई रोपणका लागि वितरण गरिएको बिरुवाको उत्पादन क्षमताका बारेमा अध्ययन भइरहेको चिया विस्तार योजनाले जनाएको छ ।
जंगबहादुरले उपहार पाएको चियाको बीउबाट १९२० सालमा इलाम चिया बगान रोपिएको र त्यसको ३ वर्षपछि सोक्तिम रोपिएको थियो । बीउबाट रोपिएका दुई बगानका चिया बोटबाट आफ्नै जातको चियाको बोट बनाउन लागेको चिया तथा कफी विकास बोर्डले अध्ययनलाई वृहत बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट थप गर्न आग्रह गरिरहेको छ । धेरैपछि भए पनि नेपाली चियाको पहिचान र संरक्षणमा लागिएको भन्दै जिल्लाका चिया किसान खुसी छन् । यसको संरक्षणमा स्थानीय सरकारले पनि त्यति चासो नदेखाएको किसानहरू बताउँछन् । चियाका विभिन्न जात हुन्छन् । केहि जातको चियाबाट खासै उत्पादन हुँदैन । केही जातको चियाको स्वाद राम्रो हुँदैन । तर उत्पादन कम दिए पनि नेपाली चियाका स्वाद राम्रो भएको विज्ञहरू बताउँछन् । स्वाद राम्रो भएको चियाको मूल्य पनि राम्रो छ । अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग राम्रो भएकाले भारतीय चिया हटाएर सवै नेपाली चिया लगाउनुपर्ने विज्ञहरू बताउँछन् । चियाको विरुवा पनि दुई तरिकाबाट उत्पादन गरिन्छ । हाँगा (डाला)बाट र फलबाट विजु विरुवा । विजु विरुवाबाट उत्पादन भएका चियाले ढिलो उत्पादन दिन्छ भने हाँगाबाट उत्पादन भएको चियाले चाँडो उत्पादन दिन्छ । तर विजुविरुवाबाट उत्पादित विरुवा दिगो हुने बताइएको छ ।