महादेव अवस्थी
सोमवार, जेठ १३, २०७६
498

कञ्चनपुर-अर्थशास्त्रमा स्नातकोत्तर यहाँका एक युवाको मासिक आम्दानी १ लाख रूपैयाँ छ । व्यावसायिक कुखुरापालन गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का नरेन्द्र भट्ट सफल व्यवसायीको रूपमा स्थापित छन् । उनले समाजशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् ।
स्नातक अध्ययन पुरा गरेका भाई ललितकुमार भट्टसहित एक दशकयता कुखुरापालन र अण्डा उत्पादनमा लागेका ३७ वर्षीय भट्टले कुखुराको अण्डा बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।

भारतको नैनीतालबाट स्नातकोत्तर पुरा गर्नुअघि वैदेशिक रोजगारीमा जान काठमाडौंसम्म पुगेका भट्टले हाल ८ हजार कुखुरा पालेका छन् । उनले भने, “पाँच सय कुखुराबाट व्यवसायमा हात हालेको थिएँ, मैले अण्डा उत्पादन गर्ने उद्देश्यले कुखुरापालन बढाउँदै लगेको छु ।” हाल मासिक ८ लाख रूपैयाँ बराबरको अण्डाको कारोबार स्थानीय भीमदत्तनगर बजारमा हुने गरेको भन्दै उनले कुखुरा फर्मसँगै दाना उत्पादन (कुखुराको आहारा) र बाँसको नर्सरीसमेत सञ्चालन गरेका छन् । उनले भने “सबै खर्च काटेर मासिक १ लाख जति अण्डा बिक्रीबाट मुनाफा हुन्छ, दाना उत्पादन गरे पनि बिक्री गरेको छैन ।”
८ हजार ‘लेयर्स’ जातको कुखुरा पालेका भट्टले हालसम्म कुनै सरकारी तथा दातृ निकायबाट अनुदान तथा अन्य सुविधा पाएका छैनन् । युवालाई स्वदेशी उत्पादन र रोजगारीमा लगाउन जतिनै प्रोत्साहन गर्ने भनिए पनि पहुँच भएकालाई मात्रै अनुदान र सुविधा मिल्ने गरेको उनले बताए । उनले भने, “यहाँ कुखुरामा लागू हुने बिमासमेत उपयोगी छैन ।”
दैनिक चार हजार कुखुराले अण्डा दिइरहेको जानकारी दिँदै उनले दैनिक ३ हजार ६ सय अण्डा उत्पादन हुने गरेको बताए । उनले यो व्यवसायमा लागेर आफू सन्तुष्ट भएको बताए । उनले भने, “किसानलाई सहुलियत दिनुपर्नेमा दाना र अन्य कच्चापदार्थको मूल्य अकासिँदै जाँदा थप मार परेको छ ।” आफ्नै खेतमा ६ कठ्ठामा माछा पोखरीसमेत निर्माण गरेर गतवर्षदेखि माछापालन सुरु गरेका भट्टले माछा उत्पादन पनि लाभदायक रहेको बताए । उनले भने, “गतवर्ष तीन कठ्ठाको पोखरीबाट करिब ३६ क्विन्टल मागुर जातको माछा बिक्री गरेँ ,आफूसँग १० कठ्ठा जति जमिन छ भने युवाहरू विदेसिनु पर्दैन ।”
उनले कृषिबाट माछा पोखरी बनाउन २५ हजार रूपैयाँ अनुदान पाएको भए पनि त्यो बाहेक अन्य कुनै प्राविधिक सहयोग कतैबाट लिएका छैनन् । अण्डा खपतका लागि अहिलेसम्म बजारको समस्या नभएको भट्टले बताए । उनले करिब १८ महिनापछि कुखुरा पनि मासुका रूपमा बिक्री गर्ने गरेको बताए ।
भट्ट कुखुरा पालन उद्योग, डि.बी कुखुरा पालन उद्योग र स्वामी बासुलिङ कृषि वन उद्योग सञ्चालन गरिरहेका भट्ट दाजुभाईले स्थानीय तह र कृषिलगायतका सरोकारवाला निकायमा पनि पहुँच अनुसारको स्थान मिल्ने गरेको बताए । दुई वर्षअघि कुखुरामा रोग फैलिँदा भने उनले निकै ठूलो क्षति व्यहोर्नु परेको सुनाए । “रोगले ६ हजार कुखुरा मर्दा करिब ३६ लाख नोक्सान भयो, कुखुराको बिमा पनि किसानमैत्री रहेनछ भन्ने त्यो बेला अनुभव भयो,” उनले भने ।