महादेव अवस्थी
बिहिवार, जेठ ९, २०७६
413

कञ्चनपुर-अन्य बालीभन्दा तरकारीमा कम लगानीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका किसान तरकारी खेतीमा लागेका छन् । हाल यहाँका ३ सय ५० घर परिवारले तरकारी खेती गरिरहेका छन् ।
किसानले २ कठ्ठादेखि २० विघासम्ममा तरकारी खेती गरिराखेको वडा –६ का अध्यक्ष नत्थरामु चौधरीले जानकारी दिए । उनले भने, “बालुवलाफाँटा तरकारीमय भएको छ, बिक्रीको समस्या हुन नदिन वडाले गाउँमै तरकारी संकलन केन्द्र निर्माण गर्दैछ ।” वडा कार्यालयले तरकारी संकलन केन्द्र निर्माण गर्न दुई लाख रूपैयाँसमेत बिनियोजन गरेको वडाअध्यक्ष चौधरीले बताए ।

यहाँ तरकारी खेती गर्ने अधिकांश चौधरी समुदायका महिला छन् । पुरुषहरू अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गर्ने गरेका छन् । थारुको बाहुल्यता रहेको बालुवाफाँटामा सयौं महिला व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
गाउँमा उत्पादन गरेको तरकारी बिक्रीका लागि कैलालीको अत्तरीयास्थित सञ्जीमण्डी पु-याउने गरेको कृषक रिमादेवी चौधरीले बताइन् । उनले तरकारी खेती आयस्रोतको प्रमुख माध्यम रहेको भन्दै वार्षिक १ लाख ५० हजार रूपैयाँसम्मको तरकारी बिक्री गरिरहेको बताइन् । तरकारी बिक्री गरेरै छोरा÷छोरीको स्कूल खर्च चलाई रहेको उनले सुनाइन् । गाउँका महिलाले कृषि समूह सञ्चालन गरेर बचतसमेत गर्ने गरेका छन् । चौधरीले हरेक महिना मासिक रूपमा अनिर्वाय बचत गर्ने गरेको बताइन् ।
२०५२ सालदेखि तरकारी फलाउँदै आएका लालबहादुर चौधरीले गाउँमा इन्द्रेणी कृषि सहकारीसमेत सञ्चालनमा ल्याएका तरकारी किसानहरू मासिक रूपमा बचत गर्नुका साथै व्यवसाय गर्न सहकारीबाट ऋण समेत लिने गरेका बताए । उनले भने, “मैले पनि तरकारी खेती गर्न ४१ हजार रूपैयाँ ऋण लिएको थिएँ ।” उनले सबै ऋण तिरेर अहिले मासिक १५ हजार रूपैयाँ आम्दानी गरिरहेको बताए । गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउँकामा बोकेर तरकारी बेच्न अत्तरीया जानुपर्ने बाध्यता रहेको सुनाए । उनले नजिक कुनै बजार नहुँदा समस्या भएको बताए ।
१३ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेकी स्थानीय लक्ष्मी चौधरीले तरकारीबाट भएको आम्दानीले घरको खर्चका साथै बालबालिकाको पढाइ खर्च चलिरहेको बताइन् । कृष्णपुर नगरपालिकाले समेत बालुवाफाँटामा तरकारी पकेट क्षेत्र बनाएर किसानलाई विभिन्न सहुलियत तथा अनुदान दिइरहेको वडाध्यक्ष नत्थुराम चौधरीको बताए । उनले भने, “कृषि समूहमार्फत पकेट क्षेत्रका किसानलाई अनुदान तथा सहुलियत दिएका छौं ।” उनले किसानलाई प्रोत्साहनका लागि वडा कार्यालय थप कार्यक्रमहरू ल्याउने जानकारी दिए ।