कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६
475

धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्षदेखि स्थानीय तहहरूसँग सहकार्य गरेर काम गर्ने कार्यक्रम ल्याउने बताएका छन् । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वयसमेत गर्न नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री भट्टले स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् । लम्कीचुहा नगरपालिकाको चौथो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले लम्कीचुहा नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको सर्किट बनाउनुपर्ने बताए ।
मुख्यमन्त्री भट्टले लम्की नगरपालिकामा पर्ने कैलालीको पर्यटकीय क्षेत्र चिसापानी–कर्णाली क्षेत्रको विकासमा पनि सहकार्य गरेर लाग्नुपर्ने बताए । चिसापानी–कर्णाली सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार भएकाले त्यस क्षेत्रमा लक्कीचुहा नगरपालिकाले नमूना काम गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले क्षमता र आवश्यकताअनुसार सही ढंगले कार्यान्वयन हुने योजना बनाउनुपर्नेसमेत बताए । “अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ,” उनले भने, “विकासका योजना बनाउँदा पहुँच र निकटताका आधारमा होइन आवश्यकतालाई आधार बनाउनुपर्छ ।”
खरिद ऐनका भएका पुराना प्रावधानले गर्दा तीनै तहका सरकारलाई काम गर्न कठिन भएको भन्दै उनले संघीय सरकारले त्यसलाई सक्दो चाँडै संशोधन गर्नुपर्ने बताए । खरिद ऐनका लामो सयम लाग्ने र झन्झटिलो प्रक्रिया सच्याउनुपर्ने उनको भनाइ थियो ।
लम्कीचुहा नगरपालिकाको चौथो नगरसभामा दुई वटा विधेयक, नगरपालिकाको योजना तथा कार्यक्रम संशोधन, बजेट रकमान्तर, कार्यपालिकाले गरेका निर्णयको समर्थन र लेखा समिति गठन गर्ने कार्यसूची प्रस्तुत भएको छ । नगरपालिकाका प्रमुख महादेव बजगाईंले न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र लम्कीचुहा नगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था गर्न बनेको विधेयक २०७६ नगरसभाबाट पारित हुने बताए ।