घनश्याम पौडेल
शनिवार, बैशाख २८, २०७६
442

विजयनगर गाउँपालिकाले पाँच वर्षे आवधिक गाउँपालिका विकास योजना बनाउन सुरु गरेको छ । विकास सूचकका लागि पाश्र्वचित्र र गुरुयोजना बनाउन लागिएको हो । चालू आर्थिक वर्षमै यो काम सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए ।
गुरुयोजना निर्माणका लागि परामर्शदाता, गाउँ कार्यपालिका, विषयगता शाखा प्रमुख र स्थानीय सरोकारवाला समूहबीच लुम्बिनीमा बृहत छलफल भएको छ । लुम्बिनी सामाजिक विकास केन्द्रले तयार गर्ने गुरुयोजनाका लागि परामर्शदाताको टोली प्रमुख डा. केदार दाहाल, संस्थाका सल्लाहकार इन्द्रमणि पौडेल, शिक्षाविद हुमलाल घिमिरेलगायतले गुरुयोजनाका लागि आधारपत्र प्रस्ततु गरे । डा. दाहालले भने, “आवधिक योजना गाउँपालिकाको विकासका लागि महत्वपूर्ण दस्तावेज भएकाले उक्त दस्तावेज निर्माणका लागि अध्ययन, अनुसन्धान गरेर सही तथ्यांक संकलन गर्न सबै एकजुट हुनुपर्ने बताए ।”

गाउँपालिकामा रहेका ७ वटा वडामै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिँचाइ, सरसफाइ, धार्मिकस्थल, खोलानाला, बाटोघाटो लगायतका सबै स्थानको तथ्यांक संकलन गरी गुरुयोजनाको काम अगाडि बढाइने लुसाविकेका कार्यकारी निर्देशक कृष्ण पौडेलले बताए । गुरुयोजना निर्माणपछि सडक, सिँचाइ र स्थानीय पूर्वाधार निर्माण गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्य गर्न, जेखिम व्यवस्थापन र वातावरण संरक्षण, गुणस्तरीय सेवा प्रवाह र प्रशासकीय सुधार, कृषि तथा पशुपालनमा केन्द्रित हुन थप टेवा पुग्ने गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाको विकास गर्नका लागि सडक सञ्जाल, तालतलैया शंकरपुर ताल, कर्जा तालको संरक्षण, विसवा खोला, चिरई, गँगटे, सुक्खा खोलालगायतका वन तथा नदीजन्य वस्तुको संरक्षण, धार्मिक स्थलहरूको संरक्षण, कृषि तथा पशुपालनअन्तर्गत भैंसी, बाख्रा तथा माछापालन, बेमौसमी तरकारी खेती र विजवृद्घि गर्नका लागि सम्भावना बोकेको क्षेत्र हो विजयनगर ।
गाउँपालिकाले दीर्घकालीन नीतिमा बहुआयमिक विकास गरी समृद्ध, स्वच्छ र सुन्दर गाउँपालिकाको विकास गर्ने, सडक संजाल विस्तार तथा सुधार गर्ने, कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यको विस्तार गर्ने, वडा पहिचान पूर्वाधारको विकास गर्ने, ताल पोखरीहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने, सामाजिक समानता, समावेशी तथा सहभागिता वृद्धि गर्ने, अशल सुशासन प्रत्याभूति गर्ने, राजस्व परिचालन क्षमता सुदृढ गर्नमा गुरुयोजना निर्माण पश्चात सहज हुने गाउँपालिका अध्यक्ष थापाले बताए ।
गुरुयोजना निमार्णसँगै विकास निमार्णका काम अगाडि बढाउनमा सहज हुने गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बताइन् । एक पटक निर्माण गरेपछि पाँच वर्ष विकासका लागि गाउँपालिकाले पटक पटक गुरुयोजना बनाउन नपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवन्द्रीप्रसाद चौधरीले बताए ।
परामर्शदाता संस्था लुम्बिनी सामाजिक विकास केन्द्रले आवधिक योजना, गुरुयोजना, बाल प्रोफाइल, खोलाहरूको प्रारम्भिक वातावरणीय परीक्षणलगायतका क्षेत्रमा काम गर्दै आएको संस्थाले जनाएको छ ।