कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४
1416

भूकम्पपछिको पुनर्निर्माणमा डकर्मी तालिम लिएपछि गाउँगाउँमा रोजगारीको अवसर सिर्जना भएको छ । डकर्मी तालिम लिएकाहरू अहिले पुनर्निर्माणलाई रोजगारीको माध्यम बनाइरहेका छन् ।
आर्थिक हिसाबले विपन्न तथा सामाजिक रूपमा विभेदमा परेका भूकम्प प्रभावितलाई डकर्मी बनाइएको छ । डकर्मी तालिमका कारण स्थानीयहरू सीप सिकेर गाउँमै स्वरोजगार बनिरहेका छन् । साथै आफ्नो घर निर्माण गर्न सहुलियत भएको उनीहरू बताउँछन् । निजी आवास पुनर्निर्माणबाट मनग्य आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ ।
कमलामाई नगरपालिका–१० माझी गाँउकी प्रमिला माझीले ५० दिने डकर्मी तालिम अवधिमा घर निर्माण गरिसकेकी छन् । डकर्मी तालिम नलिएको भए घर सजिलै कहाँ बन्थ्यो र ? प्रमिलाले भनिन्, “तालिमबाट मिस्त्री खर्च र निर्माण सामग्रीका साथै ठूलो सहुलियत भयो ।”
स्वीस कन्ट्याक्टअन्तर्गत सुरक्षित पुनर्निर्माणका लागि सीप परयोजनाले भूकम्पपछि प्रदान गरेको डकर्मी तालिमपछि प्रमिलासहितको अन्य डकर्मी टोलीले अहिले गाउँमा झण्डै एक दजर्न भूकम्पप्रतिरोधी घर बनाइसकेका छन् । प्रमिला अहिले सिन्धुलीमा मात्र होइन छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोकलगायतका स्थानमा पनि घर बनाउन पुग्छिन् । पहिले गाउँघरमा महिलाहरूले डकर्मी भएर काम गरेको राम्रो मानिदैन थियो । डकर्मीको काम गर्दै अहिले उनले राम्रो आम्दानी गरिरहेकी छन् । प्रमिला घर बनाउने कामलाई निरन्तरता दिने सोचमा छन् । सरकारले अहिले निजी आवास अनुुदान वितरण एवं पुनर्निर्माण समय सीमा तालिका सार्वजनिक गरेपछि झनै आपूmहरूलाई काम गर्न भ्याइनभ्याइ भएको उनको भनाइ छ ।
कमलामाई नगरपालिका–५ चिसापानी झोराकी सुमित्रा आछामीले पनि परियोनाअन्तर्गत ९ दिने तालिम लिइन् । भूकम्पप्रतिरोधी घर बनाउन तालिम लिएपछि अहिले उनलाई फुर्सद छैन । ठेक्कापट्टाको कामसमेत गर्ने सुमित्रा भूकम्पले भत्काएको गाउँको घर, गोठ, विद्यालय बनाउन नेतृत्वदायी भूमिकामा छन । पहिले मासिक २५ हजार आम्दानी हुन्थ्यो भने अहिले मासिक रूपमा ३५ हजारसम्म आम्दानी हुने गरेको बताउँछिन् ।
सुमित्राजस्तै कमलामाई नगरपालिका– ६ धुरा बजारका वीरबहादुर तामाङ पनि भूकम्पअघि पनि घर बनाउने काम गर्थे । तामाङले पहिले आफूले ७ देखि ८ सय रुपैयाँ पाउने गरेकोमा हाल १२ देखि १५ सय रुपैयाँसम्म दैनिक ज्याला पाउने गरेको बताए । सुरक्षित पुनर्निर्माणका लागि सीप परियोजनाले गाउँमै तालिम दिएपछि मासिक रूपमै ३५ हजार रुपैयाँ आम्दानी भइरहेको बताए । परियोजनाले पुनर्निर्माणका लागि स्थानीय बासिन्दालाई नै अग्रसर गराउँदै उनीहरूको रोजगारी र आम्दानी बढाउँदै भूकम्पबाट हुने जोखिमलाई कम गर्ने लक्ष्यका साथ भूकम्प प्रभावितलाई डकर्मी तालिम दिइएको छ । डकर्मी तालिमका कारण सिन्धुलीको पुनर्निर्माणले गति लिएको र गाउँमै रोजगारीको अवसरसमेत वृद्धि भएको स्वीसकन्ट्याक्ट सिन्धुलीका जिल्ला संयोजक गीता लिम्बूले बताए । “सुुरुसुुरुमा तालिम गराउन हामीलाई असाध्यै गाह्रो भयो, विस्तारै सीप सिकाएपछि स्थानीयमा चेतनाको विकास भएको छ, पुनर्निर्माणले गति लिएको छ,” लिम्बुले भने ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले त्यस्तो कार्यक्रमलाई सूचीकृतमात्रै गरेको छैन कार्यान्वयनका लागि सहजीकरण पनि गरेको छ । प्राधिकरणले तय गरेको कार्यक्षेत्र र कार्यविधिमा रहेर निर्माण गरिएका त्यस्ता घरले तीनवटै किस्तावापतको सरकारी अनुदानसमेत पाइसकेका छन् । स्थानीयवासीले प्राप्त गरेको सीप र रोजगारीको अवसर नै सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको संयोजक लिम्बूको भनाइ छ । तालिमका क्रममा निर्माण भएका घर तथा तालिमको गुणस्तर सुुनिश्चित गर्न परियोजा, राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समिति र स्थानीय तहबाट नियमित स्थलगत अनुगमन गरिएको छ ।

तालिमपछि ६० घर बने
तालिम अवधिमै ६० वटा निजी घरनिर्माण भएका छन् । ५० दिनको तालिम अवधिमा २०÷२० जना प्रशिक्षार्थीको समूहले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको डिजाइनअनुसार दुई÷दुईवटा भूकम्पप्रतिरोधी घर निर्माण गरेका छन् ।
संस्थाले जिल्लाको कमलामाई नगरपालिका, गोलञ्जोर गाँउपालिका, मरिण गाँउपालिका र सुनकोशी गाँउपालिकाका ६ सयजनालाई ५० दिने डकर्मी तथा ४ सयजनालाई ९ दिने तालिम दिइएको छ । तालिमको अवधिमा परियोजनाले प्रतिव्यक्ति ५ हजार रुपैयाँ बराबरको निर्माण उपकरण पनि प्रदान गरेको छ । भूकम्पबाट अतिप्रभावित विपन्न समुदायका घरधुरीका १८ देखि ६० वर्षसम्म भूकम्पप्रतिरोधी प्रविधिसहितको नेपाल भवन आचारसंहिता तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्डसँग सम्बन्धित निःशुल्क तालिम दिइरहेको छ ।
जिल्लामा ३४ हजार ९८८ भूकम्पपीडित लाभग्राही सूचीमा परेका थिए । जसमा ३२ हजार ९ जना लाभग्राहीले पहिलो किस्ता लिएका छन् भने जम्मा ७ हजार ६०६ घर धुरीले मात्र दोस्रो किस्ता लिएका छन् । यस्तै तेस्रो किस्ता लिनेको संख्या २ हजार ३२ रहेको जनाएको छ । जिल्लामा हालसम्म २७ सय २१ घर निर्माण सम्पन्न भएको छ ।

कृञ्जला पुलामी