अनिश शर्मा गैरे
शुक्रवार, बैशाख २०, २०७६
715

पानीको अभावले बसाइँ सराइ भएको, जनजीवन कष्टकर बनेका समाचार त सुन्दै आएका हौं । तर गुल्मीको मुसिकोट नगरपालिकाले नगरवासीको पानी पीडामा मल्हम लगाउन ट्यांकर र ट्र्याक्टर किन्न अनुदान दिएपछि भने पानीको मूल्य सस्तिएको छ । स्थानीयले एकलिटर पानीको ४ रुपैयाँ तिर्दै आएकामा अनुदान पाएका साधनले भने प्रतिलिटर पानी १ रुपैयाँमा बेच्ने गरेका छन् ।
उता नगरभित्र खानेपानीका मात्र करोडौंका योजना सम्पन्न भएका छन् भने कतिपय बन्दै पनि छन् । करोडौंका योजनाबाट पनि पानी आपूर्ति नहुँदा स्थानीय सुविधाबाट वञ्चित छन् भने नगरपालिका पनि समस्यामा परेको छ ।
नगरपालिकाले पिउने पानीको अभावमा खोलाको पानी प्रतिलिटर तीनदेखि चार रुपैयाँसम्ममा किन्न बाध्य मुसिकोट–३ र ४ साविक बडागाउँमा अनुदानमा ट्यांकर उपलब्ध गराएपछि त्यस क्षेत्रका जनताले एक रुपैयाँमा पानी पाउन थालेका छन् । नगरपालिकाले अनुदानमा ट्र्याक्टर र ट्यांकर उपलब्ध गराएपछि उनीहरूले लिटरलाई ४ रुपैया तिर्नुपर्ने बाध्यता हटेको हो ।
अब उनीहरूले लिटरमा तीन रुपैयाँ घटाएर १ रुपैयाँ बराबरमा पिउने पाउने प्रयोग गर्न थालेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । त्यस क्षेत्रमा स्थायी रूपमा प्रत्येकका घरमा खानेपानी पु¥याउने उद्देश्यसहित एक घर एक धारा अभियानमा जोड्ने गरी काम पनि भइरहेको तर हाललाई भने केही मात्रामा भए पनि सहजता दिलाउने उद्देश्यका साथ त्यसो गरिएको भण्डारीको भनाइ छ ।
वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसी खानेपानीको समस्या भोग्दै आएका जनतालाई थोरै भए पनि राहत दिने उद्देश्यले नगरपालिकाले नै ट्याक्टरको भाडा तिरीदिने र अन्य आवश्यक खर्च पनि उपलब्ध गराएर हाल प्रतिलिटर एक रुपैयाँ बराबरमा स्थानीय बासिन्दाले पानी पाउन थालेको जानकारी दिए ।
“ठुलाचौर, गोहडा, मैदान, ठुलापोखरा लगायतका गाउँवासी जनप्रतिनिधि नहुनु अघिसम्म तल खोलाको पानी ट्यांकीमा भरेर ट्र्याक्टरमा ओसार्दै प्रतिलिटर चार रुपैयाँसम्म तिरेर खान बाध्य थिए,” उनले भने, “अहिले नगरपालिकाले अनुदानमा ट्र्याक्टर र ट्यांकर दिएपछि तीन रुपैयासम्म कम मूल्य तिरेर जनताले पानी पाएका छन् ।”
उनले उक्त समस्या समाधानका लागि लिफ्ट खानेपानी योजना सुरु गरिएको तर स्थानीय तहबाट मात्रै योजना सम्पन्न गर्न नसक्ने भएपछि केन्द्र सरकारसँग खानेपानी योजना सम्पन्न गर्नका निम्ती बजेट माग गरिएको जानकारी दिए ।
हालको वडा नम्वर ३ र ४ साविक बडागाउँ गाविसमा पर्दछ । वडा नम्वर ४ को हलोगाडे, उपल्लो गाउँ, तल्ला गाउँ, दजाकोटसम्मका जनताले पनि प्रतिलिटर चार रुपैयाँसम्म तल खोलाको पानी किनेर खाने गरेकोमा अब सो रकम तिर्नुपर्ने बाध्यता नरहेको वडा नम्बर ४ का वडाध्यक्ष ओमबहादुर केसीले बताए ।

एक घर एक धाराको प्रयास जारी
नगरपालिकाका मेयर सोमनाथ सापकोटाले खानेपानीको समस्या समाधान गर्न आफूहरू प्रयासरत रहेको बताए । “हालसम्म साना परियोजनाका खानेपानी योजना धेरै सम्पन्न भइसकेका छन्, केही सम्पन्न हुने चरणमा छन्,” उनले भने, “खानेपानीका ठूला परियोजना सम्पन्न गर्न केही समय लाग्ने देखिएको छ ।” उनले केही वर्षपछि खानेपानीको समस्या पूर्णरूपमा समाधान गर्ने गरी काम भइरहेको र जनताले एक रुपैयाँ पनि नतिरी पानी प्रयोग गर्ने दिन आउने बताए ।

६ करोडका योजना सम्पन्न
मुसिकोट नगरपालिकाले हालसम्म करिब ६ करोड बराबरका खानेपानी योजना सम्पन्न गरेको छ भने ७ सय ६७ परिवारलाई घरघरमा खानेपानीको धारा पु¥याएको छ । केही दिन अघिमात्रै बडागाँउमा श्रममन्त्री गोकर्ण विष्टले खानेपानीको उद्घाटन गरे । ११ वर्षदेखि पानी बोक्न थालेका मुसिकोट नगरपालिका–३ बडागाउँ ठूलापोखराका लोकबहादुर कार्कीले घरमै पानीको धारो खस्दा जुनी नै फेरिएको महसुस भएको बताए । “पानी बोक्दा थाप्लो र कम्मरमा निलडाम हुन्थ्ये,” कार्कीले भने, “दुई महिनामा घरमै पानी खस्यो, अझै सपना जस्तो लाग्छ । बेतपानी पुग्दा एक घण्टा । साढे एक घण्टामा धरमपानी ।” सोही ठाउँकी लक्ष्मी घर्तीको बिहान पधेँरामै बित्थ्यो । दुई छोरी र आफूले दैनिक तीन खेप बोके पानी पुग्थ्यो । अहिले घर्तीले चाहिएको पानी घरमै भर्छिन् । बेतपानी ठूला पोखरा लिफ्टिङ खानेपानी योजना संचालनमा आएपछि मुसिकोट नगरपालिका ३ वडागाउँका नागरिकको वर्षौंदेखिको खानेपानी समस्या समाधान भएको छ ।
१ करोड ३० लाखको जलकुने सौरपाटा खानेपानी योजना सम्पन्न भएसँगै १ सय ७१ परिवारले घरघरमा खानेपानीको सेवा पाएका छन् । त्यसैगरी १ सय ६९ परिवारलाई पानी पु¥याउने १ करोढ ४० लाख लागतको छोरधारा बांगे खानेपानी आयोजना, १९० परिवारलाई खानेपानी पु¥याउने भुवाचिदी बेलटारी खानेपानी आयोजना, ९१ परिवारलाई पानी पु¥याएको ठूलापोखरा खानेपानी आयोजना, ३४ परिवारलाई पानी पु¥याउने अरमजा खानेपानी, ३८ परिवारलाई खानेपानी पु¥याउने गरी बेतपानी ठुलोपोखरा खानेपानी आयोजना सम्पन्न भएका छन् । त्यस्तै कुनाकोखोरीया खानेपानी आयोजनाले ३२ परिवारलाई खानेपानीको सुविधा दिएको छ भने खस्थोक खानेपानी आयोजनाले ४२ परिवारलाई खानेपानीको पहुँच पु¥याएको छ ।

करोडौंका योजना जारी
नगरपालिकाका बिभिन्न क्षेत्रमा करोडौं लागतका खानेपानी योजना बन्ने क्रममा छन् । वडा नम्बर १ मा खानीखोला आरुचौर थामडाँडा खानेपानी आयोजनाले १७० परिवारलाई खानेपानीको पहुँच दिनेछ । यो आयोजना ७ लाख लागतमा सम्पन्न हुँदैछ । प्रदेश सरकारले एक करोड सहयोग गरेको कालुडा छत्रकोट कोटफेरा खानेपानी आयोजनाले १ सय ५३ परिवारलाई खानेपानीको पहुँच यसै अवमा पु¥याउने नगरपालिकाका वास शाखाका प्रमुख सीता भुसालले बताइन् । यो आयोजनालाई नगरपालिकाले २० लाख रुपैयाँ रकम छुट्याएको छ । त्यस्तै २८३ परिवार लक्षित मौरीभीर वामी खानेपानी आयोजना ५० लाखको लागतमा यसै आर्थिक वर्षमा सम्पन्न हुँदैछ । २१२ परिवार लक्षित वामी करङखोला खानेपानी आयोजना ४८ लाख ५० हजारको लागतमा यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी काम भइरहेको भुसालले बताइन् । त्यस्तै २०९ परिवार लक्षित पाउखोला पेगा खानेपानी, २५३ परिवार लक्षित खोलापानी खानेपानी, २६५ परिवार लक्षित नरखोला धरमपानी आयोजना, १३० परिवार लक्षित भगलाम गैरा दजाकोट खानेपानी आयोजनाको काम भइरहेको छ । त्यसैगरी १६८ परिवार लक्षित अमलघाट खानेपानी आयोजना, ३२ परिवार लक्षित नौघाट खानेपानी, ३४ परिवार लक्षित गजुङा खानेपानी आयोजना तथा २९ परिवार लक्षित विचारेनेटा उपल्लोथाम खानेपानी आयोजनाका काम भइरहेका छन् । यस आवभित्र २२ सय परिवारलाई खानेपानी पु¥याउने स्थानीय सरकारको लक्ष्य छ ।

सातामा धेरै पढिएको