नरी बडु
बुधवार, बैशाख १८, २०७६
702

बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित नेपाल–भारत सिमानाका जुलाघाटबाट अबैध समानहरू आउने गरेको जनगुनासो बढ्न थालेको छ । जिल्लामा सशस्त्र प्रहरीको क्याम्प स्थापना भई अवैध समान बरामद हुन थालेपछि यस्तो गुनासो आउन थालेको हो । उक्त नाकाबाट प्रतिबन्धित सामग्रीका साथै भन्सार छलेर पनि लाखौंका सामग्री भित्रिने गरेको छ ।
शनिबार राति मात्रै भारतबाट नेपाल ल्याउँदै गरेको अवैघ बिडी सशस्त्र प्रहरीले फेला पारेको छ । जिल्लाबाट खटिएको सशस्त्र प्रहरीकोे मोबाइल गस्तीले जिल्लाको दशरथचन्द नगरपालिका–१० को महाकाली किनारमा राति साढे नौ बजे बेवारिसे अवस्थामा छोडेको बिडी फेला पारेको सशस्त्र प्रहरी बल नं. ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक विकास थापाले बताए ।

“हाम्रो गस्ती गइरहेको थियो मान्छे कोही भेट्टिएन ६ पेटी बिडी बाटोमा व्यवारिसे अवस्थामा राखेको थियो,” उनले भने । व्यवारिसे पाइएको बिंडी सशस्त्र प्रहरीले महाकाली भन्सार कार्यालय जुुलाघाटलाई बुझाएको छ ।
एक पेटी बिडीको मूल्य भारतमा १४ हजार ५ सय र नेपालमा २३ हजार दुई सय पर्छ । अहिले बिडीलाई भारतबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । तर, महाकाली भन्सार प्रमुख दिल्लीराम सुवेधीले भने प्रतिबन्धित समान भन्सारको नाकाबाट नल्याई तस्करहरूले लुकाइछिपाइ नेपालमा ल्याउने गरेको जिकिर गरे ।
जिल्लाको अन्य केही ठाउँमा डुंगा र टिउपबाट सामान ओसारपसार हुने गरेको भए पनि जुलााघट क्षेत्रबाट भने यस्तो हुँदैन । बिडीमात्रै होइन जुलाघाट भन्सारबाट अन्य प्रतिबन्धित थुप्रै गैरखाद्य सामग्रीहरू नेपाल आउने गरेका छन् । भारतमा म्याद सकिएका थुप्रै खाद्य सामग्रीहरूसमेत सोही नाकाबाट नेपाल भित्रिने गरेको स्थानीयको गुनासो छ । गएको वर्ष बजार अनुगमनका क्रममा जुलाघाट नाकामा नै पारी भारतबाट ल्याउँदै गरेको करिब दुई क्विटल पेय पदार्थ म्याद सकिएको पाइएको थियो । अहिले नेपाल सरकारले अण्डालगायत अन्य केही समानहरूलाई भारतबाट ल्याउन प्रतिबन्ध लगाएको छ, तर ती सामग्रीहरू नेपाली बजारमा देख्न सकिन्छ ।
बैतडी जिल्लाको अधिकांश सीमाना भारतसँग जोडिएको छ । रातिको समयमा डुंगा र टिउवमा नदी तारेर भन्सार छली गरी समान वारपार गराउँदा पनि सम्बन्धित निकाय भने यसमा खासै चासो देखाउँदैनन् । नेपाल र भारत जोड्ने एक मात्र बैतडीको झुलाघाट नाकामा पुल छेउमै महाकाली भन्सारको कार्यालय र प्रहरी चौकी छ । तर, अहिलेसम्म उक्त प्रहरी चौकीले अवैध समान बरामद गरेको सुन्नमा आएको छैन । सशस्त्र प्रहरीको गस्तीले मात्रै कहिलेकाहीँ भन्सार छली भई ल्याएका सामग्रीहरू बाटोमा फेला पार्छ । यस्ले पनि उक्त क्षेत्रका लापवाही प्रष्ट हुन्छ ।
सशस्त्र प्रहरी बैतडी आएको आठ महिना भयो । योभन्दा अगाडि पनि कर छली गरी ल्याउँदै गरेको २ लाख १३ हजार रुपैयाँबारबरको कपडा जफत गरी भन्सारलाई बुझाएको थियो ।