कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६
623

जिल्लाका उत्तरी भेगमा रहेका भेडीगोठबाट करोडौँ आम्दानी हुने गरेको तथ्यांकले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा भएका घुम्ती भेडीगोठहरूबाट सो रकम आम्दानी हुने गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले जनाएको हो ।
भेडीगोठमा रहेका भेडाहरूको उन तथा मासुबाट मात्रै १० करोडभन्दा बढी आम्दानी हुने गरेको केन्द्रका पशु विकास अधिकृत खिला घिमिरेले बताए । लमजुङमा साविकका २१ वटा गाविसमा ९० वटा भेडीगोठ रहेका छन् । ति भेडी गोठमा १७ हजारभन्दा बढी भेडाबाख्राहरू छन् । घुम्ती भेडीगोठमा पालिएका भेडाहरूबाट मात्रै वार्षिक २ सय टन मासु उत्पादन हुने गरेको घिमिरेले बताए ।

“प्रतिभेडा ३० हजार रुपैयाँभन्दा बढी मूल्य पर्दछ,” घिमिरेले भने, “ऊनको मूल्य पनि प्रतिधार्नी ४ सय रुपैयाँभन्दा बढी छ, भेडीगोठबाट प्रतिगोठ वार्षिक ५ लाखभन्दा बढी रकम आम्दानी हुने गरेको छ ।” भेडाको मासुबाट मात्रै १० करोड भन्दा बढी रकम आम्दानी हुने गरेको घिमिरेले बताए । यसैगरी सो भेडिगोठमा भएका भेडाबाट वार्षिक ५ हजार किलो ऊन उत्पादन हुने कार्यालयको तथ्यांकमा उल्लेख छ । उत्पादित ऊनमध्ये आधाजसो मात्रै बिक्री गर्ने गरिएको छ ।
“पहिला उपकरण नहुँदा उनको प्रशोधन झन्झटिलो थियो,” घिमिरेले भने, “अहिले प्रशोधनको लागि मेसिनको व्यवस्था गरेका छौँ, आम्दानी बढ्ने निश्चित छ ।” ऊनबाट वार्षिक २ लाख ५० हजार आम्दानी हुने गरेकोमा अव त्यो आम्दानी पनि बढ्ने अनुमान गरिएको छ । भेडाको उनलाई प्रशोधन गरी स्थानियहरूले राडी पाखी लगायत उनिका कपडा बनाएर बिक्री गर्ने गर्दछन् ।
त्यसैगरी भेडीगोठमा पालिएका बाख्राबाट पनि करोडौं आम्दानी हुने गरेको छ । घुम्ती भेडीगोठहरूमा १० हजारको हाराहारीमा बाख्रा भएको पनि कार्यालयले जनाएको छ । खसीबोकाको मासुबाट मात्रै ६ करोड भन्दा बढी आम्दानी हुने कार्यालयको तथ्याँकमा उल्लेख छ । किसानहरूले वार्षिक एक करोडभन्दा बढी नाफा गर्दछन् । भेडीगोड भएका कृषकले आफ्नो घरखर्च कटाएरै सो नाफा आम्दानी गरेको पशु विकास अधिकृत घिमिरेले बताए । भेडीगोठबाट भएको आम्दानी केही प्रतिशत साहुलाई बुझाउने र बाँकी भेडा गोठालाहरूले राख्ने गर्दछन् ।
फरक फरक स्थानमा भएका भेडीगोठहरूको तथ्यांक लिने क्रममा उनिहरूको आम्दानीको पनि तथ्यांक राखिएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार जिल्लामा ८ सय ५८ घरले घुम्ती भेडीगोठमा भेडा पालन गरेका छन् ।
घुम्ती भेडीगोठमा पालिएका भेडाहरू अधिकांश पोखरा, काठमाडौंलगायतका क्षेत्रमा निर्यात हुने गरेका छन् । मासुजन्य उपभोगका लागि भेडा तथा बाख्रा सहरमा निर्यात गरिएका हुन् ।
सम्भावना भएर पनि अपेक्षित आम्दानी हुन नसकेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा. रुपेश श्रेष्ठले बताए । भौगोलिक विकटता, राज्यको न्यून पहँुच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन नसकेको डा. श्रेष्ठको भनाइ छ । - सन्देश पौडेल