कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
876

नेपालगन्ज-बाँके र बर्दियाका गहुँखेती गर्दै आएका किसानका लागि थोरै क्षेत्रफलमा धेरै उत्पादन दिने नयाँ जातको पोषणयुक्त गहुँको बीउ तयार गरिएको छ । परम्परागत बीउ प्रयोग गरेर उत्पादन बढाउन नसकेका गहुँखेती गर्दै आएका बाँके–बर्दियाका किसानका लागि उत्पादन बढाउने उद्देश्यले नयाँ जातको पोषणयुक्त गहुँका बीउ तयार गरिएको हो ।
कृषि अनुसन्धान केन्द्र खजुराले नयाँ जातको गहुँको बीउ उत्पादन गरेर सफल परीक्षणसमेत गरेपछि अब जिल्लामा गहुँखेती निकै राम्रो हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गहुँखेतीविज्ञ मदनराज भट्टका अनुसार कृषिमा पुरानो परम्परावादी शैलीले खेती गर्दा उत्पादन पनि अत्यन्तै थोरै हुने र किसान पनि सन्तुष्ट नहुने भएको कारण यहाँको हावापानी र माटो सुहाउँदो नयाँ प्रविधि र पोषणयुक्त जातको बीउका लागि पहल गरिएको छ । सिफारिस गरिएका नयाँ जातका गहुँको बिउ प्रतिहेक्टर कम्तिमा पनि ५ मेट्रिक टनदेखि बढीमा ८ मेट्रिक टनसम्म उत्पादन हुने भट्टले बताए ।
उनले परम्परागत खेती हुँदै आएको गहुँको जातको सट्टा एचडी, एनएल १३२७, जिंकोल, माईल, विएल ४६९९, विएल ४३३५, विएल ४३४१ र बोरलक १०० लगायतको ८ जातका गहुँका बीउको नमूना परीक्षणका लागि बाँके र बर्दियामा छरिएको बताए । चार-चार कठ्ठामा बाँकेमा १२, बर्दियामा १२ र सुर्खेतमा २ गरी २६ स्थानमा बीउ उत्पादन खेती गरिएको जानकारी उनले दिए ।
बीउ खेती गरिएको स्थानमा मुंग खेती गरिने र मुंग खेती गर्दा किसानलाई खाली समयमा पोषिलो दाल खानका लागि पाउनुको साथै गहुँ काटेर खाली हुने जमिनबाट आम्दानी भएर पनि धान खेती गर्दा धानको उत्पादनमा समेत वृद्धि हुने उनले बताए ।
बाँके डुडुवा–२ का किसान नरेन्द्र शर्र्माले गाउँमै पाउने बीउ प्रयोग गरेर खेती गर्दा छरेको बीउसमेत उत्पादन नहुने ठाउँमा परीक्षणका लागि गरिएको बोरलक १०० नामक नयाँ जातको गहुँको उत्पादन सोचेको भन्दा अत्यन्तै बढी भएको बताए ।
शर्माले अहिले ४ कट्ठामा बोरलक १०० जातको गहुँखेती गरेको भन्दै नयाँ जातको बीउबाट थोरैमा पनि १० क्विन्टल उत्पादन हुने आंकलन गरेको बताए ।
सोही प्रकारले बाँके डुडुवा–२ का अर्का किसान रामनाथ मुराउले परम्परागत जातको गहुँखेती गर्दै आएका बाँके र बर्दियाका किसानले लगानीसमेत उठाउन धौ–धौ भएको बेला नयाँ जातको गहुँको बीउ पाएपछि उत्पादन बढी हुनुको साथै पोषिलो आईरन र जिंकसमेत पाईने गहुँखेती गरेर आफूहरू उत्साही भएको बताए ।
किसानका लागि थोरै लगानीमा धेरै उत्पादन हुने प्रजातिका बीउबिजन आवश्यक भएकाले अहिले परीक्षणको रूपमा नयाँ जातको पोषणयुक्त गहुँको बीउखेती उत्पादनमा सहभागी भएको उनले बताए ।
बर्दिया बढैयाताल–२ का दिनेश थारुले करिव सवा २ विगाहामा रैथाने गहुँखेती गर्दै आएकोमा मल, बीउ, सिँचाइ र जोताइको मूल्य नै उठाउन कठिन हुने गरेकोमा अहिले भने अवस्था बदलिएको बताए ।