सागर परियार
शुक्रवार, बैशाख १३, २०७६
633

२०७३-७४ को तथ्यांकअनुसार जुम्लामा कुल ६ हजार ९० हेक्टरमा यो धान लगाइन्छ भने कुल २ हजार ९ सय मेट्रिन उत्पादन हुने गरेको छ ।

जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर विश्वमै सबैभन्दा अग्लो स्थानमा कालीमार्सी धान फल्ने क्षेत्र हो । पछिल्लो समय यो क्षेत्र पर्यटकीय हिसावले पनि अघि बढिरहेको छ । जुम्लाको कुल ६ हजार ९० हेक्टर जमिनमा मार्सीको खेती हुन्छ । जसको २५ प्रतिशत उत्पादन छुमचौरमा हुने गरेको छ । समुद्री सतहदेखि ३५ सय मिटर उचाइ रहेको छुमचौरको मार्सी फल्ने ज्यूलो निकै प्रख्यात थियो ।
तर पछिल्लो किसानले खेती गर्न छोड्ने खतरा देखिएको छ । अधिकांश युवा विदेश जाने र घरमा भएका बुढापाखा सबै खेतमा मार्सी रोप्न नसक्ने हुँदा लोपोन्मुख अवस्थामा जान सक्ने कृषिविज्ञहरू बताउँछन् । जुम्ली कालीमार्सी धानको हबका रूपमा हेरिने छुमचौर ज्युलोमा बर्सेनि धान रोप्न तथा यसको एतिहास जोगाउनका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा किसानले जोड दिँदै आएका छन् ।
यसअघि पनि मार्सी जोगाउन तथा प्रचारप्रसारका लागि सहकारी दिवसदेखि धान दिवस पनि प्रायः छुमचौरमै मनाउने गरिन्थ्यो । सोही अनुरूप पातारासी गाउँपालिकाले यस वर्षदेखि दुर्लभ कालीमार्सी धान जोगाउन डीपीआर तयारीको कामलाई तिब्ररूपमा अघि बढाएको छ ।
गुरुयोजना निर्माणका लागि डीपीआरको काम अगाडि बढाइएको छ । कृषि विज्ञहरूसँग आवश्यक विषयमा छलफल भइरहेको प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । डीपीआरमार्फत जुम्ली कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम, खेती प्रणाली तथा उत्पादकत्व बढाउन तथा यसको संरक्षणका लागि आधार तयार हुने भएको छ ।

मार्सीबाटै पातारासीको पहिचान
कालीमार्सी धानको संरक्षणका साथै पातारासी गाउँपालिकालाई कृषि पर्यटनको नमूना गाउँपालिका बनाउने डीपीआरको महत्वपूर्ण भूमिका रहने गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । “सोहीअनुसार डीपीआरको काम अघि बढाएका छौं,” उनले भने, “मार्सीधानले बजार पाउन थालेपछि अहिले यसको उत्पादन तथा संरक्षणमा स्थानीयसमेत जुटेका छन् ।” यसको व्यावसायिक खेती भने हुन सकेको छैन । छुमचौर ज्यूलोमा नियमित धान रोप्न गाउँपालिकाले बर्सेनि बीउ वितरण गर्दै आएकोसमेत अध्यक्ष बोहोराले बताए । यसका लागि सिँचाइ कुलो व्यवस्थित गर्नेदेखि अन्य व्यवस्थापनमा किसानको जोड छ । २०७३-७४ को तथ्यांकअनुसार जुम्लामा कुल ६ हजार ९० हेक्टरमा यो धान लगाइन्छ भने कुल २ हजार ९ सय मेट्रिन टन उत्पादन हुने गरेको छ ।

बीमाले किसानमा उत्साह
कालीमार्सी जोगाउन डीपीआर तयार हुँदैछ भने अर्कोतर्फ कालीमार्सीतर्फ किसानलाई आकर्षित गर्न बिमा कम्पन्नीहरूले मार्सी बिमालाई अघि बढाएका छन् । “चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बिमा पनि आवश्यक छ,” किसान ताराबहादुर बोहोराले भने, “अहिले किसानमा बिमाले उत्साह छाएको छ ।”
मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुची घट्दै गएको थियो । तर किसान र उत्पादनको सुरक्षाका लागि बिमा गर्न थालेपछि किसान उत्साहित भएका छन् ।
मार्सी धान नै लोप हुने जोखिम बढ्दै गएपछि बिमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । बिमा कार्यक्रमपछि किसान यसकोे खेती गर्न उत्साहित भएका छन् । अहिले जुम्लाका अधिकांश किसानले मार्सी धानको ब्याड राखिसकेका छन् ।
जिल्लामा धान खेतीका लागि बिमा अभियान सुरु गरिएको यो पहिलोपटक हो । जिल्लाका सातवटै गाउँपालिका र नगरपालिकामा मार्सी धान खेती हुने गरेको छ । किसानकै आग्रहमा मार्सी धानको बिमा गरिएको शिखर इन्स्योरेन्सका ऋषिराम पाण्डेले बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख डा. तपेन्द्र शाहले किसानलाई मार्सीको बिमा गर्दा राम्रो हुने बताए । उनले रोग, असिना, खडेरी, धान झर्नेजस्ता समस्याले घाटा बेहोर्नुपर्ने चिन्ता नभएपछि किसान ढुक्कले मार्सी उत्पादनमा जोड दिनसक्ने बताए ।