कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
467

गोरखा-भूकम्पपछिको पुनर्निर्माणमा अग्रस्थानमा रहेकोले गोरखाको वारपाक–सुलिकोट गाउँपालिका सम्मानित भएको छ । भूकम्पपछिको पुनर्निर्माणमा अग्रस्थानमा रहेकोले गोरखाको वारपाक–सुलिकोट गाउँपालिका सम्मानित भएको छ । गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाले ‘२०७२ गोरखा भूकम्पको चौथो स्मृति सम्मान’ प्राप्त गरेको हो । पुनर्निर्माणमा अग्रस्थानमा रहेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बारपाक–सुलिकोट गाउँपालिकालाई सम्मान गरेको हो । भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङलाई सम्मानपत्र हस्तान्तरण गरे । गाउँपालिकाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गरी निजी आवास तथा विद्यालय पुनर्निर्माणमा उल्लेखनीय योगदान गरेवापत सम्मान गरिएको सम्मान पत्रमाउल्लेख छ ।  यसैगरी पुनर्निर्माणमा उत्कृष्ट वडालाई सम्मान गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णयअनुसार जिल्ला पुनर्निर्माण सहजीकरण समितिले ४ वटा वडा सम्मानित गरेको छ । जिल्लाका ९४ वडामध्ये निजी आवास पुनर्निर्माणमा अग्रस्थानमा रहेको आरुघाट गाउँपालिका–२, बारपाक–सुलिकोट गाउँपालिका–२ र ५ र धार्चे गाउँपालिका–५ लाई सम्मान गरिएको हो । बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा भूकम्प स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य हरेराम पराजुलीले सम्बन्धित वडाका अध्यक्षलाई सम्मानपत्र प्रदान गरे । जिल्लाको पुनर्निर्माणमा अग्रस्थानमा रहेको आरुघाट गाउँपालिका–२ मा भूकम्पले भत्किएका ९४.५ प्रतिशत घर बनिसकेका छन् । यस्तै, दोस्रो स्थानमा रहेको बारपाक–सुलिकोट गाउँपालिकाको वडा नं २ र ५ मा ९२.६ प्रतिशत र तेस्रो स्थानमा रहेको धार्चे गाउँपालिका–५ मा ९१.६५ प्रतिशत घर बनिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । सबै पक्षबाट सहयोग प्राप्त भएकाले आफ्नो वडा पुनर्निर्माणमा अग्रस्थानमा रहेको आरुघाट गाउँपालिका–२ का अध्यक्ष सोमप्रसाद घलेले जानकारी दिए । “घर बनाउन बाँकी सबै घरमा पुगेर समयमा नै घर बनाएर किस्ता निकाल्न सूचना टाँसे,” उनले भने, “प्राधिकरणले पुससम्म किस्ता निकाल्ने म्याद दिँदा मैले कात्तिकभित्र नै किस्ता निकाल्नुपर्ने सूचना दिएर स्थानीयलाई घर बनाउन दबाब दिए । स्थानीयले पनि धमाधम निर्माण थाले, इन्जिनियरले पनि काममा अल्झाएनन्, सबैको साथले पुनर्निर्माण अघि बढेको हो ।”कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण समितिका कार्यकारी सदस्य पराजुलीले गुनासो फस्र्योटका लागि भएको अन्तिम सर्वेक्षणमा स्थानीय तहलाई थप जिम्मेवारी रहेको बताए । “वडा र पालिकाले पठाएको सिफारिसलाई आधार बनाएर गुनासो फस्र्योट हुन्छ,” उनले भने, “वास्तविक पीडित नछुटुन्, गैरभूकम्प पीडित नपरुन् भन्नेमा स्थानीय तह जिम्मेवार भएर लाग्नुहोस् ।” नेपाल कम्युनिष्ट पार्टीका नेता यादव देवकोटाले नीतिगत उल्झनका कारण कतिपय भूकम्पपीडितले समस्या भोग्नुपरेकाले पीडितका समस्या सुल्झाउन प्राधिकरणको ध्यानाकर्षण गराए । नयाँ शक्ति पार्टीका गोरखा नगर कमिटी संयोजक नारायण खत्रीले गोरखा दरबार पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि ब्यक्त गरे ।