कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
361

काभ्रे-भूकम्प गएको ४ वर्ष पुग्दा काभ्रेमा ३२ हजार ६ सयले घर बनाएका छन् भने २२ हजारले घर बनाउन सुरु नै गरेका छैनन् । भूकम्प गएको ४ वर्ष पुग्दा काभ्रेमा ३२ हजार ६ सयले घर बनाएका छन् भने २२ हजारले घर बनाउन सुरु नै गरेका छैनन् । पहिचान लाभग्राहीमध्ये ७३ हजार ९ सय ९९ घरधुरीले घर निर्माणार्थ सम्झौता गर्न आएमध्ये पहिलो किस्ता ७३ हजार ९ सय ९९ लाभग्राही, दोस्रो किस्ता ५१ हजार ६ सय ६५, तेस्रो किस्ता ३२ हजार ६ सय ७३ लाभग्राहीहरूले लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिए । यो रेकर्डअनुसार झण्डै ४० प्रतिशत काममात्र सम्पन्न भएको देखिन्छ । तर सम्झौता गरेर पहिलो किस्तावापत ५० हजार लिएका २२ हजार ३ सय ३४ भूकम्पपीडितले अझै घर निर्माण सुरु नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।पहिलो किस्तामा नेपाल सरकारबाट ७१ हजार २ सय २२ र गैरसरकारी संस्थाबाट २ हजार ७ सय ७७ लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण भएको छ । त्यस्तै दोस्रो किस्तावापत नेपाल सरकारबाट ४९ हजार ४ सय र गैरसरकारी संस्थाबाट २ हजार २ सय ६५ लाभग्राहीलाई किस्ता वितरण भएको छ । त्यसैगरी तेस्रो किस्ता नेपाल सरकारबाट ३१ हजार ८२ र गैरसकारी संस्थाबाट १ हजार ५ सय ९१ लाभग्राहीले लिएका छन् । सोहीअनुसार गुनासो व्यवस्थापन अन्तर्गत २५ हजार १ सय १७ को दर्ता भएको छ । त्यसमा पुनरावलोकन गरिएको गुनासो २४ हजार ८ सय ४९ रहेकोमा २१ हजार ५ सय ३८ लाभग्राहीको फस्र्योट भएको छ । ३६ जना लाभग्राहीले रकम फिर्ता गरेका छन् ।जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख प्रमुख रेग्मीले फर्जी भूकम्पपीडित भएका कारण उनीहरूले अझै आवास निर्माण सुरु नगरेको बताए । काभ्रेमा ९० हजार ४ सय ९७ घरधुरी सर्भेक्षण भएकोमा ८३ हजार ३ सय ८३ पहिचान भएका थिए । जसमा पूर्ण क्षति भएको ७७ हजार ६ सय ८३ रहेको छ भने आंशिक क्षति भएका तथा प्रवलीकरण गर्नुपर्ने ५ हजार ६ सय ८० रहेका थिए । 
७० प्रतिशत विद्यालय बने भूकम्पले क्षतिग्रस्त सामुदायिक विद्यालय पुनर्निर्माणले गति लिएको छ । भूकम्प गएको चार वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) का अनुसार प्राधिकरण, अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाको सहयोगमा क्षतिग्रस्त सामुदायिक विद्यालय भवन निर्माणले तीव्रता पाएको हो ।जिल्ला आयोजना कार्यान्वनय इकाईका इन्जिनियर शोभित श्रेष्ठले हालसम्म सम्झौता भएका विद्यालय भवनमध्ये ७० प्रतिशत काम सम्पन्न भएको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोभित श्रेष्ठका अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत १ सय ८६ मध्ये ९८ विद्यालय पुनर्निर्माण सम्पन्न भएका छन् । एडीबीको भूकम्प आपतकालीन सहायता परियोजनामार्फत २८ मध्ये २१ विद्यालय निर्माण सम्पन्न भएका छन् । एसियाली विकास बैंक (एडीबी) मार्फत नै थप १० विद्यालय निर्माण सुरु भएका छन् । १० वटा बोलपत्र आह्वान हुने प्रक्रियामा छन् । भारतीय दूतावासमार्फत १० विद्यालयका लागि बजेट विनियोजन भएर विस्तृत अध्ययन भइरहेको छ । जिल्लाका ५ सय ९० सामुदायिक विद्यालयमध्ये तीन सय ५३ पूर्ण रूपमा र एक सय ७४ विद्यालयमा अधिक क्षति पुगेको थियो ।जिल्ला आयोजना कार्यान्वयन इकाईको तथ्यांकअनुसार ५ हजार २ सय २० कक्षा कोठामध्ये ९ सय ५४ पूर्ण, ९ सय १४ अधिक र १ हजार ४ सय ८३ कक्षा कोठामा सामान्य क्षति भएको थियो ।

११ करोडमा बनेको सञ्जीवनी नमुना मावि हस्तान्तरण
भुकम्पले क्षति पुगेको काभ्रेको सदरमुकाममा रहेको नमुना माध्यमिक विद्यालय पुनःनिर्माण भएर हस्तान्तरण भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण भएको ३६ कोठे विद्यालय भवनको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले आउँदो एक वर्ष भित्रमा पुनर्निर्माण टुंग्याउने बताए । धरहरा लगायतका केही संरचना एक वर्ष भित्रमा नसकिने तर्क गर्दै उनले कला, वास्तुकला, सामान लगायतमा ध्यान दिनुपर्दा केही ढिलाई भएको तर्क गरे ।  कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकूलप्रसाद बास्कोटाले अर्थ सँग जोडेर उत्पादनमुखी शिक्षा आबश्यक रहेको र सरकारले त्यस्ता खाले शिक्षा दिन लागेको जानकारी दिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २० महिना भित्र सबै क्षतिग्रस्त विद्यालय भवन निर्माण सक्ने दाबी गरे । उनले देशभर ३ हजार ५ सय ८३ विद्यालय पुनः निर्माण भएको जानकारी दिए । एडीबीका राष्ट्रिय निर्देशक मुख्तार खामुद खानोबले विभिन्न ९ नमुना विद्यालय निर्माण गरिरहेको जानकारी दिए । हस्तान्तरण भएको विद्यालय ११ करोड २४ हजारको लागतमा बनेको ३ वटा भवनमा ३६ कोठा छन् । छात्रावाससहितको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्यावलगायतका सुविधा छन् । जिल्लाको नमुना विद्यालयको रुपमा रहेको यस विद्यालयमा ७ सय २७ विद्यार्थी अध्ययनरत छन् ।

कपिल कोइराला