कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
429

धनकुटा-राम्रो उत्पादन र गुणस्तर वृद्धिका लागि खेतीबालीमा प्रमाणित शुद्ध बीउ छनोट गर्नुपर्छ । अनाज तथा तरकारीको बीउ छनोट र व्यवस्थित भण्डारणको ज्ञान र प्रविधि नहुँदा धनकुटाका अधिकाशं किसानले खाद्यान्नलाई नै बीउको रूपमा वर्षौंदेखि प्रयोग गर्दै आएका छन् ।
विशेष गरेर अहिले बाली लगाउने मुख्य सिजन चलिरहेको छ । उत्पादन बढाउनका लागि सवैभन्दा पहिले राम्रो बीउको प्रयोग गर्नुपर्ने हो । तर, ज्ञानको कमीका कारण धेरैजसो किसानले खाद्यान्नलाई नै बीउको रूपमा प्रयोग गर्दा कृषिबालीमा आनुवांशिक क्षयीकरण भई उत्पादन र गुणस्तर घट्दो छ । सिँचाइ, गोडमेल र राम्रो हेरचाह भए पनि शुद्ध र गुणस्तरीय बीउ प्रयोग नगरिए जातीय शुद्धता नष्ट भई गुणस्तर खस्कनुका साथै हरेक वर्ष २० प्रतिशतसम्म उत्पादनमा कमी हुने कृषि वैज्ञानिकहरू बताउँछन् । धान, गहुँ , मकै, कोदोलगायत अन्न तथा दलहन र तेलहन जातका बीउको उमार शक्ति कम्तिमा पनि ८० प्रतिशत हुनुपर्छ । तर, यसबारे किसान जानकार छैनन् । धनकुटा नगरपालिकाका रामबहादुर राईले भने, “मल र पानी राम्रो भयो भने अन्नबाली फली हाल्छ, बीउले खासै असर गर्छ जस्तो लाग्दैन् ।”

कतिपय किसान भने कमसल बीउ प्रयोग गर्दा आनुवांशिक क्षयीकरण भई उत्पादन र गुणस्तर घट्छ भन्नेबारे जानकारी भए पनि कृषि र बीउ उत्पादन गुणस्तर पहिचान गर्ने निकायले भरपर्दो विकल्प नदिएको र नभएकाले खाद्यान्यको रूपमा प्रयोग गर्न राखेको अन्नबालीलाई नै छानेर बीउको रूपमा प्रयोग गर्ने गरेको बताउँछन् ।
सहिदभूमि गाउँपालिकाकी सुष्मा राईले भनिन्, “कृषि र बीउ उत्पादन गुणस्तर पहिचान गर्ने निकायले भरपर्दो विकल्प नदिएसम्म हामी किसानले खाद्यान्नलाई नै बीउको रूपमा प्रयोग गरिरहनुपर्ने अवस्था छ ।” बजारमा उपलब्ध हुने प्रमाणीकरण नभएका बीउको जथाभावी प्रयोग, अव्यवस्थित भण्डारण र खाद्यान्नलाई नै बीउको रूपमा प्रयोग गर्दा उत्पादनमा हुने नोक्सानी किसानले नै बेहोर्नु परिरहेको छ । धनकुटामा रहेको कृषि अनुसन्धान केन्द्र पाख्रिवासका कृषि वैज्ञानिक अमृतप्रसाद पौडेलले भने किसानले जानेर नजानेर खाद्यान्नलाई नै बीउको रूपमा प्रयोग गरिरहेका छन् । तर बाली हेरेर बीउलाई समय समयमा परिवर्तन भने गरि रहनुपर्छ । बीउ–बिजन ऐन २०४९ ले सरकारले सूचीकृत गरी सिफारिश गरेका तथा बीउ–बिजन समितिद्वारा उन्मोचित बीउ मात्रै प्रयोग र बिक्री अनिवार्य गरेको छ । धनकुटाको कृषि अनुसन्धान केन्द्र पाख्रिबासले पूर्वी पहाडी जिल्लाका किसानका लागि धान, मकै, दलहन, तेलहन, मुसुरो दाललगायत अनाज र तरकारीको बीज वृद्धि कार्यक्रम चलाए पनि त्यो किसानका लागि पर्याप्त छैन । साथै सरकारी तवरबाट नियन्त्रणको प्रयास नहुँदा खुला सिमाना र फितलो क्वारेन्टाइनको फाइदा उठाउँदै ल्याइने फलफूल, तरकारी, अन्नबाली, दलहन, तेलहन जस्ता कृषिउपजका कमसल बीउ भित्रिन नदिई सरकारी स्वामित्वका बीउ बिजन कम्पनी, अनुसन्धान केन्द्र र कृषकस्तरका बीज वृद्धि कार्यक्रममार्फत किसानलाई चाहिने जति प्रमाणित शुद्ध बीउ उपलब्ध गराउनु आश्यक रहेको किसान बताउँछन् ।

विकास घिमिरे