गोपाल पोखरेल
बुधवार, बैशाख ११, २०७६
452

संसारभर मानिसको पेसा व्यवसाय फरकफरक छ । सुनकोसी नदी आसपासका जिल्लाका केही गाउँका युवाको पेसा भने नदीमा बाँस तार्नु रहेको छ ।

हसनपुर (भोजपुर)-उदयपुर, खोटाङ, भोजपुर र धनकुटा जिल्लाको सीमा क्षेत्र भएर बग्ने सुनकोसी नदी आसपासका गाउँमा बसोबास गर्ने सर्वसाधारणको जीवन गुजाराको मुख्य आधार नै सुनकोसी नदीमा बगाउँदै बाँसको व्यापार गर्नु हो ।
सुनकोसी नदी आसपासका दर्जनौं गाउँमा प्रशस्त बाँस उत्पादन हुनेगर्छ । सडक सञ्जालले नछोएका ती गाउँमा उत्पादन भएको बाँस वर्षौंदेखि सुनकोसी नदीबाट ढुवानी हुँदै आएको छ ।

हिउँद न वर्षा । युवा नदीमा बाँस ढुवानी गरिरहेका भेटिन्छन् । यहाँ उत्पादन भएका बाँस सुनकोसी नदीबाट सुनसरीको चतरासम्म झार्ने र त्यहाँका व्यापारीद्वारा विराटनगर, काठमाडांै र भारतका विभिन्न स्थानमा बिक्रीका लागि लैजाने गरिएको छ । बाँस पानीमा तैरिने भएकाले उनीहरूले बाँसका घनालाई चोयाले बाँधेर सुनकोसी नदीमा हेल्दै सुनसरीको चतरासम्म ढुवानी गर्ने गरेका छन् ।
“एक पटकमा १५० घनासम्म ढुवानी गर्न सकिने बाँस चतरा पु-याएपछि प्रतिघना ११० देखि १५० रुपैयाँसम्ममा बिक्री हुन्छ,” हतुवागढी ९ हसनपुरका सचिन राईले भने, “चोयाले बाँधेर नदीबाट बाँस ढुवानी गर्नु चुनौतीपूर्ण छ र नदीको बीच भागमा भेटिने ठूलाठूला चट्टानमा बाँस ठोक्किए ज्यानसम्म जाने जोखिम हुन्छ ।” यो पेसा नगरे कतिपयको दैनिक जीवन गुजारा नै नहुने भएकाले पनि जोखिम मोलेरै सुनकोसीमा बाँस हेल्नु परेको उनले बताए । “यो पेसा हाम्रा लागि नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहारजस्तो भएको छ,” स्थानीय हसन राई भन्छन्, “नगरौं भने अन्य आम्दानीको स्रोत छैन, गरौं भने ज्यानको बाजी नै लगाउनु पर्छ ।” आम्दानीको अन्य विकल्प नभएपछि बाध्यतावश यो काम गरिरहेको उनले बताए ।
बाँस ढुवानी गर्न दूरी हेरेर तीनदेखि छ घण्टासम्म लाग्ने गरेको छ । १५० घना बाँस ढुवानी गर्दा एक पटकमा करिब पाँच हजार रुपैयाँ आम्दानी हुन्छ । स्थानीयले बाँसको व्यापारलाई रोजगारीको माध्यम बनाए पनि ढुवानी गर्ने परम्परागत तरिकाले गर्दा उनीहरूको ज्यान भने जोखिमपूर्ण छ । सडक सञ्जाल नभएका कारण जोखिम मोलेरै बाँस ढुवानी गर्न यस क्षेत्रका बासिन्दा बाध्य भएको स्थानीय बताउँछन् ।
“घरको कमजोर आर्थिक अवस्था र परम्परागत कृषि पेसाबाट हुने सानो आम्दानीले परिवारको खर्च धान्न नसकेपछि पछिल्लो समय सुनकोसी आसपासका गाउँमा बाँसको व्यावसायिक खेती हुन थालेको छ,” हतुवागढी गाउँपालिका–९ हसनपुरका वडाध्यक्ष हेमराज राई भन्छन्, “बाँसको उत्पादन प्रसस्त हुँदै गए पनि बिक्रीका लागि सडक अभाव भएपछि ज्यान जोखिममा राखेर सुनकोसीको बाटोबाटै बाँसको ब्यापार गर्नु परेको छ ।