कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४
1161

देउखुरी गढवा गाउँपालिका–३ खैरा निवासी कुलुरकुमार थारु कुमालको छ दशक बढी जीवन माटोका भाँडा बनाउनैमा बितिसक्यो । आफुले थाहा पाउने बेलादेखि माटोबाट बन्ने सामग्री घण्टा , ठेगी, हाँडी, पाला, गमलालगायतका सामान बनाउन सिकेका कुलुरकुमालले अहिले पनि तिनै सामग्री बनाउँदै आएका छन् । तर माटो पनि सहज छैन, धेरै स्थानमा धाउनु पर्छ । बाढीले सजिलो माटोको खानी पुरिएको छ । त्यसैले धेरै खोला नालाको किनार धाउनुपर्छ ।
छ दशकको समयमा आफै बनाएका माटोका सामग्री भरिया लगाएर बेच्न हिँडेका उनी अहिले पनि देउखुरीदेखि घोराही, तुलसीपुरलगायतका स्थानमा बेच्न हिँड्ने गरेको बताउँछन् । घरपरिवार पाल्नका लागि मुख्य स्रोत नै यही माटोका भाँडा भएको उनी बताउँछन् । माटोसँगै खेलें, माटोमै हुर्किएँ, कुलुरकुमार भने, “मैले बनाएका माटाका भाँडा धेरै राम्रा बने, धेरैले मन पराए तर मेरो जीवन भने बन्न सकेन ।” पुख्र्यौली पेसा भएकाले पनि मैले सानैबाट माटोका भाँडा बनाउन थालेको हु , त्यहींबाट आएको पैसाले परिवार पाल्दै आएको छु । उनले माटोबाट घण्टा , गमला, हाँडी, पाला, मट्टे, कौैसीलगायतका सामग्री बनाउने गरेका छन् । त्यहींबाट आएको पैसाले आफनो आठजनाको परिवार पाल्दै आएका छन् । “बस्ने बासबाहेक अरु सम्पति छैन, हाम्रो खेतबारी, धानखेत भनेकै यही माटोका भाँडाकुँडा बनाउने पेसा हो,” उनले भने, “बनाएका सामग्री पोल्नका लागि काठ दाउरा नपाउँदा पछिल्लो समय अफ्ठेरो हुने गरेको छ ।” पहिले जति भए पनि काठ, पराल पाइन्थ्यो तर अहिले माटो पाउनसमेत समस्या छ । उनका अनुसर अहिले पुर्जी काटेरमात्र काठ काट्न पाइने गरेको छ ।

उनले माटोका भाँडा बेचेर वर्षमा ३०/४० हजारसम्म पैसा कमाउने गरेको बताए । सोही गाउँ निवासी टेकबहादुर कुमाल पनि माटोका सामग्री बनाउन थालेको वषौँ बित्यो तर जीवन बदल्न नसकेको दुःखेसो गरे । “माटोका भाँडा बनाउन थालेको धेरै वर्ष भयो, पहिले १०/२० रुपैयाँ पर्ने सामान सयौं रुपैयाँमा बिक्न थाले,” उनले भने, “तर हामीहरूले बनाएको माटोका सामग्रीको उचित मूल्य पाएनौं ।” उनले पनि गमला, कुथुर्के, पाला, ठेगी, कौसी, हाँडीलगायतका सामग्री बनाउँदै आएका छन् । “पहिले माटोका घण्टा , माटोकै फ्रिजलगायतका सामग्री बनाउने गर्थें,” उनले भने, “तर पछिल्लो समय बजारमा आएका स्टिल तथा प्लास्टिक सामग्रीका कारण फ्रिज, घैंटा बिक्न छाडेपछि बनाउन छोडेको छु ।” यो पेसामा धेरै मेहनत र आम्दानी कम हुने भएकाले पछिल्लो पुस्ता यो पेसातर्फ आकर्षित छैनन्,” उनले भने, “अब पुख्र्यौली पेसा हराउने अवस्था आएको छ ।”
माटोको भाडालाई संरक्षणसँगै यो पेसामा नयाँ पुस्तालाई अग्रसर बनाउन भन्दै केही संघसंस्थाले तालिम दिने गरे पनि श्रमअनुसार सामग्रीको उचित मूल्य नहँुदा पेसा नै संकटमा पर्ने अवस्था रहेको उनले बताए । उनीहरूजस्तै देउखुरीको खेरा गाउँमा माटोका सामग्री बनाउने करिब ३० देखि ४० घरपरिवार रहेको उनीहरू बताउँछन् ।

अमरराज आचार्य