कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
325

प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठीले उखु किसानलाई तत्काल अनुदान दिन माग गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजत कार्यक्रममा सांसद त्रिपाठीले सरकारको अकर्मण्यता र चिनी मालिकहरूको उदण्डताका कारण उखु किसान ठूलो मारमा परेको बताए । उनले सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकले ३० प्रतिशत अनुदान दिनुपर्ने बताए ।
सांसद त्रिपाठीले चिनी मिलहरू डेढ महिना ढिलो चलेको र अहिले केही मिल बन्द भएको बताए । यसको प्रत्यक्ष असर उखु किसानलाई परेको भन्दै उनले किसानलाई अनुदान दिएर सहयोग गर्नुपर्ने बताए । “सरकारको अकर्मण्यताका कारण उखु किसानले खेतमै उखुमा आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको छ,” उनले भने, “चिनी मिल सञ्चालकहरूले डेढ महिना ढिलो मिल सञ्चालन गर्दा पनि सरकार मुकदर्शक भएर बस्यो, मिल सञ्चालकमाथि कुनै हस्तक्षेप गर्न सकेन ।”

किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदा पनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ । “यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्छ, ढिलो मिल चलाएका कारण मिल सञ्चालकले पनि ३० प्रतिशत अनुदान दिनुपर्छ,” उनले भने । उनले नयाँ बजेट बन्ने प्रक्रियामा रहेको भन्दै यो माग बजेट बन्नुपुर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिए ।
आफूले किसानका समस्या समाधान गराउने उद्देश्यले मन्त्रीहरूको पटक–पटक ध्यानाकर्षण गराईसकेको पनि उनले जनाए । “सरकारले अविलम्ब स्थानीय सरकारलाई निर्देशन दिनुपर्छ,” उनले भने, “जुनजुन जिल्लामा समस्या छ, ती जिल्लाका अनुमानित लागत लिएर उनीहरूलाई अनुदान दिनुपर्छ ।”