कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
367

तेह्रथुम-गाउँपालिकालाई अन्धकारमुक्त बनाउने उद्देश्यका साथ उज्यालो छथर अभियानअन्तर्गत ३ सय परिवारलाई मिटरबक्स र कालोतार दिन सुरु गरिएको छ । आर्थिक रूपमा विपन्न र अहिलेसम्म विद्युत्को पहुँचबाट वञ्चित रहेका परिवारलाई कालोतार र मिटरक्स दिन सुरु गरिएको हो ।
आर्थिक वर्ष ०७४-७५ मा अभियान घोषणासँगै १० लाख रकम विनियोजन गरी काम सुरु भएको थियो । यस आवमा १० लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको जनाएको छ । गाउँपालिकाका प्रत्येक वडामा विद्युत्बाट वञ्चित रहेका घरको तथ्यांक संकलन गरी मिटरबक्स र कालोतार दिन सुरु गरिएको अध्यक्ष सन्तवीर लिम्बुले बताए । छथर–२ का चित्रबहादुर लिम्बुलाई कालोतार र मिटरबक्स कानुन तथा न्यायमन्त्री भानुभक्त ढकालले छथरको शुक्रबारेमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । भौगोलिक रूपमा विकट गाउँमा रहेका ४९ घरलाई सोलार वितरण गरिएको छ ।

कालोतार र मिटरबक्स गाउँपालिकाले धमाधम वितरण सुरु गरिरहेको छ । हरेक नागरिकको घरमा उज्यालो आवश्यक छ । समृद्ध छथर निर्माणका लागि यहाँका नागरिकको पहिलो समस्यालाई समाधान गर्नु स्थानीय सरकारको भूमिका भएका कारण नागरिकको समस्यालाई मध्यनजर गर्दै योजना निर्माण गर्दै आएको अध्यक्ष लिम्बुले बताए ।
३६ सय ३६ घर रहेको यो गाउँपालिकालाई आव ०७६-७७ वर्षभित्र अन्धकारमुक्त बनाई उज्यालो छथर बनाउने लक्ष्य रहेको प्रवक्ता राजन नेपालीले बताए । केन्द्रीय प्रसारणमार्फत विद्युत् जडान भएको यो गाउँपालिकामा रहेको नागरिक आर्थिक अभावकै कारण अझै अन्धकारमा बस्न बाध्य छन् । अन्धकारमा बस्दै आएका नागरिकलाई गाउँपालिकाको यो अभियानले राहत मिल्ने भएको छ । गाउँपालिकाका नागरिकलाई कालोतार र मिटरबक्सका साथै भौगोलिक रूपमा विद्युत् विस्तारका लागि समस्या भएका परिवारलाई सोलार वितरण गरेको छ ।