कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
595

समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवती गुरुयोजना सार्वजनिक गरिएको छ ।
लिस्तीमाई गुठी सेवा समिति भोटेकोसी गाउँपालिका–१ सिन्धुपाल्चोकले आइतबार रिपोर्टर्स क्लब नेपालमा गरेको कार्यक्रममा गुरुयोजना सार्वजनिक गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका–१ मा स्थित लिस्तीकोट धार्मिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक दृष्टिकोणले जिल्लाकै एक महत्वपूर्णस्थल हो । लिस्तीकोट क्षेत्रमा रहेको उग्रचण्डी लिस्तीमाई भगवती मन्दिरलाई केन्द्रमा राखेर यस भेगकै सम्पूर्ण धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदालाई समेटेर नेपालकै एक नमुना पर्यटकीय स्थल निर्माण गर्ने पवित्र उद्देश्यका साथ उग्रचण्डी भगवती गुरुयोजना निर्माण गरिएको आयोजकको दाबी छ ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद् अग्नि सापकोटाले सार्वजनिक गरिएको गुरुयोजना अग्रगामी विकासको प्रारुप रहेको बताएका छन् । कृषि विकास नै नेपालको विकासको आधार भए पनि धार्मिकस्थल तथा पर्यटकीयस्थलको पनि प्रमुख भूमिका रहने भन्दै उनले सिन्धुपाल्चोक एक ऐतिहाँसिक जिल्ला भएको स्मरण गराए । लिस्तीकोट विकासका लागि असीमित सम्भावना बोकेको क्षेत्र रहेको बताउँदै उनले भूकम्पपछि बन्द रहेको तातोपानी नाका चाँडै नै खुल्नेसमेत जानकारी दिए ।
चिनियाँ सरकार तातोपानी नाकालाई भू–गोलको कारण देखाउँदै बन्द गर्ने मनस्थितिमा पुगे पनि आफ्नो पार्टीको सहकार्यमा उक्त नाका खुलाउन आफूहरू सफल भएको पनि उनको दाबी थियो । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणको अवसरमा राष्ट्रपति सि जिङपिङसँगको वार्ताको माध्यमबाट आफूहरू सो मार्ग खोल्न सफल भएको उनले जानकारी गराए ।
करोडौं राजस्व उठने तथा नेपाल र चीन जोड्ने नाकाको हिसाबले सिन्धुपाल्चोकले गर्विलो इतिहास बोकेको उनको भनाइ थियो । आफूहरूले चुनावको समयमा जनतासँग गरेका वाचा पूरा गर्दै गरेको जानकारी गराउँदै उनले चीनतर्फ निर्माणकार्य सम्पन्न हुने अवस्थामा रहे पनि नेपालतिर भने आशातित कार्य हुन नसकेको गुनासो पोखे ।
कार्यक्रममा बोल्दै पूर्वन्यायाधिवक्ता मुक्ति प्रधानले लिस्तीकोट एक धार्मिक तथा साँस्कृतिक पर्यटन बोकेको क्षेत्र रहेको धारणा राखेका थिए । प्रस्तावित गुरुयोजनाअनुरुप लिस्तीकोटको विकासमा जोड दिनसके समग्र सिन्धुपाल्चोक नै यसबाट प्रभावित हुने उनको धारणा थियो । राज्यले लिस्तीकोटको पहिचान र गौरवालाई चिनेर अगाडि बढ्न आवश्यक रहेको बताउँदै उनले राज्यले नजिकको दूरीबाट हेर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले गुरुयोजनालाई कसरी सफल बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन् । आफूहरूसँग धेरै नै धार्मिक तथा पौराणिकस्थल रहेको बताउँदै उनले त्यसबाट लाभ लिन सबैले आ–आफ्नो स्थानबाट सहयोग र प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपाका नेता सरल सहयात्री पौडैलले भोटेकोसी गाउँपालिका तातोपानी नाकाले मात्र प्रसिद्ध नभएर थुपै्र ऐतिहासिक तथा धार्मिकस्थलले भरिपूर्ण गाउँपालिका रहेको बताए । जिल्लाकै पहिलो स्थानमा रहने गरी जलयात्रा, जलविद्युत् र पर्यटनको विकासको दृष्टिकोणबाट सम्पन्न भूगोल रहेको उनको भनाइ थियो । स्थानीय तहले पाएको अधिकारको प्रयोग गर्र्दै उक्त क्षेत्रको शैक्षिक विकास अबको अग्रगामी विकास रहेको उनको भनाइ थियो ।
कार्यक्रममा भोटेकोसी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले गाउँपालिकाको विकासमा महत्वपूर्ण कार्यको थालनी भएको बताए । राष्ट्र निमार्णमा यस्ता गुरुयोजनाले महत्वपूर्ण योगदान दिने बताउँदै उनले सबै मिलेर योजना सम्पन्न गर्न आवश्यक रहेको स्पष्ट पारे ।