कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
1283

वित्तीय व्यवस्था समस्या : नगरपालिका

इलाम-शिक्षक सेवा आयोगमार्फत स्थायी भएर आएका शिक्षकहरूलाई सूर्योदय नगरपालिकाले हाजिर गर्न दिएको छैन । जिल्ला शिक्षा विकास इकाईले आफूहरूसँग सल्लाह नै नगरी शिक्षक पठाएको भन्दै सूर्योदय नगरपालिकाले हाजिरी गर्न नदिएपछि नयाँ जोशसहित विद्यालय पुगेका स्थायी शिक्षकहरू अलमल परेका छन् ।
लामो प्रयासपछि शिक्षक सेवा आयोगबाट आन्तरिक प्रतिस्पर्धाबाट छनोट भई इलामको सूर्योदय नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा आएका शिक्षकलाई हाजिर गर्न नदिएपछि शिक्षकहरू तनावमा परेका हुन् ।

सूर्योदय नगरपालिकाले आफूसँग कुनै समन्वय नगरी जिल्ला शिक्षा समन्वय इकाईले जथाभावी रूपमा शिक्षक नियुक्ति गरेको र उनीहरूको तलब भत्ता तथा वित्तीय ब्यवस्थापनमा समस्या आउने भएकाले हाजिरी गर्न नदिएको बताइएको छ ।
यसरी कार्यधिकारको विवादले शिक्षकहरूको मनोबल गिरेको छ । नगरपालिकाले शिक्षक सेवा पास गरी नियुक्ति लिएर गएका शिक्षकलाई हाजिरी गर्न दिएको छैन । आफूहरूसँग समन्वय नगरी जिल्ला शिक्षा विकास समन्वय इकाई इलामले नियुक्ति दिएर पठाएको भन्दै नगरपालिकाले शिक्षकहरूलाई हाजिर गर्न नदिएको हो ।
शिक्षक सेवा आयोग पास गरी विभिन्न विद्यालयमा अध्यापनका लागि गएका शिक्षकलाई हाजिर नगराउन भन्दै नगरपालिकाले पत्र नै लेखेर हाजिरी नगर्नु÷नगराउनु भनेको छ । आफूहरूसँग कुनै छलफल नगरेको तथा इकाईले समन्वय नै नगरी पठाएका शिक्षकलाई विभिन्न विद्यालयमा पठाएकाले हाजिरी गर्न नदिएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए । उनले शिक्षा इकाइले नगरपालिकासँग समन्वय नगरी कुनकुन विद्यालयमा कति शिक्षकको आवश्यकता छ तथा कुन–कुन विद्यालयमा कति शिक्षक पठाउने लगायतका कुरामा समन्वय नगरेको बताए ।
जथाभावी ढंगले शिक्षक पठाउँदा पठनपाठनमा समस्या आउने भएकाले हाजिरी गर्न नदिएको उनको भनाइ छ । कति शिक्षकले नियुक्ति पत्र लिएर आफ्नो नगरपालिकामा आएको आफूहरूलाई जानकारी नभएको मेयर राईले बताए । उनका अनुसार कुन–कुन विद्यालयमा पठाएको भन्ने कुरा नै नगरपालिकालाई थाहा नभएकाले यस्तो परिस्थिति आएको हो ।
तथ्यांकअनुसार सूर्योदय नगरपालिकाभित्र मात्र विभिन्न विद्यालयमा गरी जम्मा ३ सय ९५ जना स्थायी शिक्षक अभाव छ । तर अभाव भयो भन्दै जथाभावी ढंगले समन्वय इकाईले शिक्षक पठाएपछि समस्या आएको मेयर राईले बताए । शिक्षा समन्वय समितिले आफूहरूसँग समन्वय नगरेसम्म आयोग पास गरेर नियुक्ति लिएर आएका शिक्षकलाई हाजिरी गर्न नदिने मेयर राईले चेतावनीसमेत दिएका छन् ।
यता नेपाल सरकारले गरेको कामलाई कसैले रोक्न नहुने जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख होमप्रसाद भण्डारीले बताए । जिल्लामा आयोग पास गरेर आएका शिक्षकलाई इकाईले नियुक्त दिएर पठाइसकेको छ । जिल्लाका सबै विद्यालयमा स्थायी शिक्षकको आवश्यकता रहेकोे र आयोग पास गरेर आएका शिक्षकलाई विद्यालयमा नियुक्ति दिएर शिक्षक पठाउन शिक्षाले स्थानीय तहसँग खासै समन्वय गर्नु नपर्ने भएकाले सबै स्थानीय तहसँग समन्वय नगरी पठाएको प्रमुख भण्डारीको भनाइ छ । आयोग पास गरेर आएका शिक्षकहरूको तत्काल ग्रेडस्तर वृद्धि गर्न नियुक्ति दिनुपर्ने भएकाले पनि पास गरेकालाई नियुक्ति दिएर जिल्लाका दशवटै स्थानीय तहका विद्यालयमा पठाएको भण्डारीको भनाइ छ । निमावि र मावि तहका शिक्षकलाई २९ गते र आधारभूत तहका शिक्षकलाई २८ गते नियुक्तिपत्र थमाएर पठाइसकेका उनले बताए । सबै कार्य इकाईले प्रक्रिया पु¥याएर नै गरेको समेत भण्डारीको भनाइ छ ।
इकाईका अनुसार जिल्लामा जम्मा २ सय ५९ जना शिक्षक शिक्षक सेवा आयोग पास गरेर आएका छन् । त्यसमा ३८ जना शिक्षकलाई सूर्योदय नगरपालिकाका विभिन्न विद्यालयमा नियुक्तिपत्र दिएर पठाएकोे छ । अन्य शिक्षकलाई भने यस्तो बाधा नभएको समेत बताइएको छ । स्थानिय तहले सवै प्रक्रिया पुरा गरेर आएकाहरुलाई रोक्न नहुने वताइएको छ ।
यता विधि र प्रक्रियाबाट स्थायी सेवामा आएका शिक्षकलाई हाजिर नगराउने निर्णय शिक्षकमाथि विभेद भएको शिक्षक महासंघ इलामका अध्यक्ष पूर्णप्रसाद गौतमले बताए । इकाईले पठाएका शिक्षकलाई विद्यालय तथा नगरपालिकाले रोक्न थाले देशैभर ठूलो समस्या आउने देखिन्छ ।

टीका खतिवडा