अमरराज आचार्य
शुक्रवार, बैशाख ६, २०७६
1325

दाङका पहाडी गाउँपालिका बंगलाचुलीको वडा नं. ४ र ८ को १५ हेक्टर जमिनमा चैते धान रोपाइँ सुरु भएको छ ।
चैतमा धान रोप्दा किसानले दुई सिजन धानखेती गर्न सक्ने र त्यसबाट किसानलाई राम्रो आम्दानीसमेत हुने भएपछि बंगलाचुली गाउँपालिका–३ को हासिपुर र वडा नं. ८ को डोहटे र कोइराले भन्ने स्थानमा चैते धान रोपिएको बंगलाचुली गाउँपालिका कृषि शाखाका प्रमुख दानसिंह रोकायाले बताए । शाखा प्रमुख रोकायाका अनुसार कार्यालयले किसानलाई पोत्साहन स्वरुप १५ क्विन्टल धानको बीउ प्रदान गरेको छ । सिजनको खेतीभन्दा चैतमा धान रोप्दा राम्रो आम्दानी हुने भएपछि किसानको मागअनुसार चैते धानको बीउ वितरण गरेको उनले बताए । “गाउँपालिकामा सिँचाइको सुविधा हुने स्थानमा चैते धानखेती हुने गरेको छ,” शाखा प्रमुख रोकायाले भने, “राम्रो आम्दानी हुने भएकाले किसानको मागअनुसार कार्यालयले किसानलाई धानको बीउ प्रदान गर्ने गरेको छ ।” कम किसानले कम क्षेत्रफलमा चैते धान रोप्ने गरे पनि उत्पादन राम्रो हुने गरेको उनले बताए । पहिलेदेखि किसानले चैते धानखेती गर्दै आएको र त्यहीअनुसार माग भएपछि शाखाले बीउ प्रदान गरेको उनले बताए ।

कार्यालयसँग १५ हेक्टर जमिनमा चैते धानखेती हुने गरेको तथ्यांक रहे पनि कतिपय किसानले आफै बीउ खोजेर गर्ने भएकाले यो तथ्यांक बढ्नसक्ने उनको भनाइ छ । कृषि शाखाका रोकायाका अनुसार वडा नं. ४ मा ४ क्विन्टल २२ केजी र वडा नं. ८ मा ३ क्विन्टल हर्दिनाथ–३ र चैते धानको बीउ वितरण गरेको रोकायाले बताए । चैतमा रोपेको धान असारको अन्त्यतिर पाक्ने र किसानले पुनः धान रोप्न सक्ने भएकाले पहाडी गाउँपालिकाको सिँचाइ सुविधा भएको स्थानमा चैते धान रोप्ने गरेको रोकाय बताउँछन् । उनका अनुसार शाखाले किसानलाई प्राविधिक सल्लाह सुझाव दिने गरेको छ ।
त्यस्तै देउखुरीको राजपुर गाउँपालिकाको गुरुङ खोलालगायतका स्थानमा चैते धान हुने गरेको छ । दुई वर्ष पहिलेको तथ्यांकअनुसार गुरुङखोलामा २२ हेक्टर जमिनमा चैते धानखेती हुने गरेको छ । बंगलचुलीसँगै जिल्लाका देउखुरीका स्थानीय तहका विभिन्न वडामा चैते धानखेती हुने गरेको थियो । सिँचाइ सुविधा हुने स्थानमा जिल्लाका विभिन्न स्थानमा चैते धान खेती हुँदै आएको थियो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७४ सालमा जिल्लाका विभिन्न स्थानमा करिब ९५ हेक्टर जमिनमा चैते धान रोपाइँ भएको थियो ।
कार्यालयको तथ्यांकअनुसार गुरुङखोलामा २२ हेक्टर, रङसिङ खोलामा १२ हेक्टर, गढवामा ११.५ हेक्टर, मुलाबारी र हाँसिपुरमा २४ हेक्टर, गहतेरामा ११ हेक्टर, पुरन्धारामा १३ हेक्टर र डुरुवाको आसीपारामा पाँच हेक्टर जमिनमा चैते धानखेती गरिएको थियो । तर अहिले कृषि ज्ञान केन्द्रसँग तथ्यांक नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । “कृषि सेवा केन्द्र हुँदा सबै क्षेत्रको तथ्यांक आउने गरेको थियो, अहिले आउने गरेको छैन,” बस्नेतले भने, “तथ्यांक नआउने गरेकाले कहाँ कति चैते धानखेती हुन्छ भन्न सक्ने अवस्था छैन ।” देउखुरीमा केही वर्ष पहिले चैते धानखेती हुने स्थानमा मकै सुपरजोन सुरु भएपछि कतिपय किसान मकै खेतीतिर लागेको र कतिपय किसानले माछापालन सुरु गरेपछि चैते धानखेतीमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।