कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
293

रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन निर्माण रोक्न आदेश दिएका छन् ।
केही साता अघिमात्र आफैं उपस्थित भएर शिलान्यास गरेको नगर उद्योग वाणिज्य संघको भवन निर्माण तत्काल रोक्न पत्राचार गरेपछि उनको दोहोरो चरित्र रहेको भन्दै व्यापारीहरू आक्रोशित भएका छन् । चन्द्रपुर नगरपालिकाले वडा नं. ५ मा निर्माण हुँदै गरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा चन्द्रनिगाहपुर सिटि जेसिजको भवन निर्माणको काम रोक्न नगरपालिकाले पत्र पठाएपछि नगरप्रमुखको चरित्र दोहारो भएको भन्दै व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक जमिन जथाभावी वितरण गरेको भन्दै केही स्थानीयले विरोध गरेपछि चन्द्रपुर नगरपालिकाले निर्माणको कार्य तत्काल रोक्न पत्र पठाएको छ । वडामा रहेको सार्वजनिक जमिनमा पार्क बनाउने स्थानीय तहको नीति रहेको र सोविपरीत नगरपालिकाले जथाभावी सार्वजनिक वितरण गरेको भन्दै गुनासो गरेपछि आपूmले तत्काल भवन निर्माण रोक्न आदेश दिएको नगरप्रमुख रामचन्द्र चौधरीले बताए । सार्वजनिक जमिनमा निर्माण हुँदै गरेको संघ र जेसिजको भवन तत्काल रोक्न स्थानीयले दबाब दिएका थिए ।

चैत २ गते संघीय सांसद देवप्रसाद तिमल्सिना, प्रदेश सांसद धनलाल ठोकर र नगर प्रमुख रामचन्द्र चौधरी तथा वडाअध्यक्ष संजय काफ्लेको संयुक्त टोलीले उक्त भवन निर्माणका लागि शिलान्यास गरेका थिए । तर निर्माणको २५ दिनपछि नगर प्रमुख चौधरी आफैले दुवै संस्थालाई निर्माणको काम तत्काललाई रोक्न पत्र पठाएका हुन् । चन्द्रनिगाहपुर सिटि जेसिजका अध्यक्ष निर्मल भण्डारीले उक्त भवन निर्माणका लागि ५ लाखभन्दा बढी रकम खर्च भएको बताए । भवन निर्माणका लागि नगर प्रमुख चौधरीले नै शिलान्यास गरेको र निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्थामा एक्कासि आएर निर्माणको काम रोक्न पत्र पठाउनु दुःखद भएको उनले बताए । चन्द्रपुर नगर उधोग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जयसवालले भवन निर्माणको काम सुरु गरिसकेको अवस्थामा निर्माणकार्य रोक्न पत्र पठाएको भन्दै दुःख व्यक्त गरेका छन् । नगरवासीकै सम्पत्ति निर्माण हुने क्रममा अनावश्यक बखेडा झिक्नु दुःखद भएको उनको भनाइ छ । नगर उद्योग वाणिज्य संघले भवन निर्माणका लागि समिति गठन गरी निर्माण कार्यलाई तीव्रता दिएको बेला नगरपालिकाले पत्र पठाएपछि व्यापारीहरू निराश भएको उनले बताए । चन्द्रपुर नगर उधोग वाणिज्य संघले जग खन्ने काम सुरु गरेको छ भने सिटि जेसिजले जगको काम सकेर बिम र पिल्लरको कामको सुरुवात गरेको थियो ।

सुब्बा कार्की