कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
293

बारा-नेपाली कांगे्रसका उपसभापति विमलेन्द्र निधिले प्रदेश र संघीय सरकारबीचको खिचातानीले बारा र पर्साका हावाहुरी पीडित अन्योलमा परेको बताएका छन् । बाराको सिमरामा आयोजित कांग्रेस प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले उक्त कुरा बताएका हुन् ।
वर्ष अगावै पीडितले घर पाउनु पर्ने कुरामा जोड दिँदै नेता निधिले संघीय र प्रदेश सरकारलाई नअल्मलिन आग्रह गरेका थिए । मुलुक संघीयतामा गएकाले प्रदेशभित्रका जिल्लामा प्रदेश सरकार आफैले संघीय सरकारको मुख नताकी पुनर्निर्माणमा चाँडोभन्दा चाँडो पहल गर्न सुझाएका थिए । निधिले पुनर्निर्माणमा जुट्न प्रदेश कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।

जनधनको क्षतिबाहेक पनि किसानको करोडौंको अन्नबाली नष्ट भएको प्रति दुःख प्रकट गर्दै निधिले त्यसतर्फ कसैको ध्यान नपुगेको गुनासो गरे । उनले तत्काल राहतको काममा देशभरबाट सहयोग जुटिसकेकाले अब पुनर्निर्माणका लागि विलम्ब नगर्न प्रदेश तथा संघीय सरकारलाई आग्रह गरेका थिए ।
पीडितहरूलाई राहतलगायतका विषयमा कसरी सहज हुनसक्छ भन्नेबारे प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर २ को आठवटै जिल्लाका कांग्रेस सभापतिहरूले प्रदेश सरकारले पुनर्निर्माणमा ढिलाइ गरेको आरोप लगाएका थिए । उनीहरूले आ–आफ्नो जिल्लाको तर्फबाट एक–एक लाख नगद रुपैयाँ सोही कार्यक्रममा जम्मा गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयबाट प्राप्त २५ लाख, महेन्द्रनारायण निधि प्रतिष्ठानको तर्फबाट दुई लाख, काग्रेसका सांसद तथा नगरप्रतिनिधि र सभापतिबाट प्राप्त कुल ४१ लाख रुपैयाँ संकलित रकम पुनर्निर्माणका लागि प्रदेश राहत कोषमा जम्मा गरिने कांग्रेस बारा सभापति जयचन्द्र चौरसियाले बताए । अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर २ मा रहेका केन्द्रीय सदस्य, संघीय सांसद, प्रदेश सांसद, पार्टीबाट निर्वाचित नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र विभिन्न भातृ संगठनका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।