प्रकाश पाक्साँवा
बुधवार, बैशाख ४, २०७६
305

तेह्रथुम-एक दशकअघि बाक्लोबस्ती रहेको जिल्लाको छथर गाउँपालिका सुक्खाग्रस्त भएसँगै बसाइँ सराइले गाउँ नै रित्तिन थालेको छ । खानेपानी अभाव तथा वन्यजन्तुका कारण गाउँ रित्तिन थालेका हो ।
खानेपानीको चरम अभावका साथै जंगली जनावरले सताउन थालेसँगै यहाँका स्थानीय बर्सेनि बसाइँ सरी अन्यात्र जाने क्रम बढ्दो छ ।

पुस्तौनी बिताएको गाउँघरलाई पछिल्लो पुस्ताले त्याग्दै सुविधाको खोजीमा बसाइँ सर्नेको संख्या बढ्दो रहेको वडा कार्यालयहरूले जनाएका छन् । गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रका नागरिकहरू ५ वर्षको अवधिमा सयौं घर बसाइँ सरिसकेका छन् । छथर–३ को वडा कार्यालयले जनाएअनुसार ५ वर्षअघि ५ सय २० घर रहेको वडामा यस वर्षको तथ्यांकमा ३ सय ६८ घरमात्र छन् । गत वर्ष ३ सय ९२ घर रहेको यो वडामा मात्रै वैशाख यता २४ घर बसाइँ सरी अन्यत्र गएको वडा कार्यालयका कर्मचारी कुलदिप जोशीले बताए । पञ्चकन्यामा मात्र नभई फाक्चामाराबाट मात्रै यसवर्ष २१ घर बसाइँ सरेर अन्यत्र गएका छन् । ५ सय २९ घर रहेको यो गाउँमा अहिले ५ सय ८ घरमात्र छन् ।
छथर गाउँपालिकाको प्रत्येक वडाबाट बसाइँ सर्ने क्रम तीव्र रहेको वडाहरूले जनाएका छन् । त्यस्तै वडा नम्बर २ हमरजुङबाट मात्रै १७ घर बसाइँ सरिसकेका छन् । यस वर्षमात्रै यस गाउँपालिकाबाट करिब सय घरको हाराहारीमा बसाइँ सरेको वडाको तथ्यांकले देखाएको छ । तीव्र बसाइँ सराइले कयौं घर भत्किएका छन् । बसाइँ सराइको लहरले अधिकांश बस्ती शून्य बन्दै गएको वडा कार्यालयको तथ्यांकले पनि पुष्टि गर्छ ।
खासगरी यहाँ रहेका पानीको मुहान सुक्न थालेसँगै बसाइँ सर्नेको क्रम चुलिँदै गएको हो । “खानेपानी समस्या र सेवा सुविधाबाट टाढिँदै गएपछि बसाइँ सराइ बढ्न थालेको वडा नम्बर ३ का वडासचिव इन्द्रप्रसाद भट्टराईले बताए,” उनले भने, “बसाइँ सराइ रोक्न थालिएका योजना पनि सन्तोषजनक छैनन् ।” छाडेका घर वर्षामा छानो चुहिएर पर्खाल भत्किएका छन् । करेसाबारीमा बहुवर्षे तरकारी बाली र घर छेउ बगैंचामा ऐंजेरूले ढाक्दै गएका बोटमा बेवारिसे अवस्थामा फलेका फलफूल देख्दा अनौठो लाग्छ । ठूलाटार बारी र खेत बाँझै छन् । कतिपयमा झारपात र रूखबिरुवाले ढाकेर जंगलजस्तै बनेको छ ।
“बसाइँ सराइ रोक्ने प्रयासमा खानेपानीको योजना सञ्चालनमा रहेको छथरमा बसाइँ सरी आउनेलाई ब्यावसायिक अनुदानको कार्यक्रम अगाडि सारेको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । गाउँपालिकाले ल्याएको अनुदान कार्यक्रमले यहाँका स्थानीयलाई पटक्कै छोएको छैन । खानेपानी समस्या र वन्यजन्तुको हैरानीले बसाइँ सरी जाने क्रम बढ्दो छ । गाउँपालिकामा बसाइँ सर्नेमात्र नभई आउने क्रम पनि सुरु भएको छ । यस आर्थिक वर्षमा पूर्वका विभिन्न जिल्लाबाट १३ घर बसाइँ सरी आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । झुरुप्प बसेको सिंगो गाउँ नै सल्लाह गरेर गएजस्तै देखिएको छथर–४ फाक्चामाराका स्थानीय सिद्धिमान लिम्बुले बताए । ३६ सय ३६ घर रहेको गाउँपालिकामा १६ हजार ५ सय ४१ जनसंख्यालाई आगामी ५ वर्षभित्र २५ हजार जनसंख्या पु¥याउने लक्ष्यका साथ अगाडि सारिएको कार्यक्रम चुनौती बनेको छ ।
बसाइँ जानेमध्ये अधिकांश तराईका झापा, सुनसरी र मोरङ जाने गरेका छन् । केही गाउँपालिकाको केन्द्रका साथै आसपासका क्षेत्रमा पनि सरेका छन् । सबैले सुविधाको खोजीमा गाउँ छोड्न थालेपछि आफू पनि बाध्य हुनुपरेको यहाँका स्थानीयको भनाइ छ । गाउँमा खानेपानीको चरम समस्या छ । घण्टौं टाढा पानी भर्न जानुपर्ने अवस्थाबाट दिक्क भएर गाउँले अन्यत्र जान बाध्य भएका हुन् । पुराना पँधेरा कुवा सुक्दै गएको र खानेपानी योजना सञ्चालन भए पनि दीर्घकालीन योजना नहुनु बसाइँ सराइको मुख्य कारण हो । प्रत्येक निर्वाचनमा खानेपानीको मूल मुद्दा बनाएर नेताले चुनाव जिते पनि यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । आकासेपानीको भरमा खेती गर्न कठिन छ । हरेक बस्तीका अधिकांश घरका युवा वैदेशिक रोजगारमा पुगेका छन् । उनीहरूको कमाइले सुविधा सम्पन्न स्थानमा जग्गा खरिद गर्ने तथा घर बनाउने गरेपछि बसाइँ सराइ चुलिएको हो ।