कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
760

इलाम-व्यावसायिक रूपमा घोडा पाल्न छोडेपछि प्रोत्साहनका लागि इलाममा यससँग सम्बधित कार्यक्रम अघि सारिएको छ ।
किसानलाई घोडा पाल्दा सहज होस् भनेर सयसँग सम्बन्धित कार्यक्रम अघि सारिएको हो । पहिला पहिला जिल्लाका ग्रामीण भेगमा धेरै किसानले घोडा पालन गर्दथ्ये । तर सडकको सहजतासँगै यहाँका किसानले घोडा पाल्न छोडेपछि घोडापालन किसान लक्षित कार्यक्रम अघि बढेको छ ।

सूर्योदय नगरपालिका–८ को कन्याम दूध चिस्यान केन्द्र तथा प्रशोधन केन्द्रले किसानलाई घोडाको जुरी गद्दी बनाउने तालिम नै दियो । घोडाका लागि जुरी गद्दी बनाउने तालिममा चिस्यान केन्द्रमा दूध ढुवानी गर्ने २० जना घोडापालक किसानको सहभागिता रहेको थियो । केन्द्रका अध्यक्ष इकाराम प्रधानले स्थानीय स्रोत र साधनको प्रयोग गरी घोडा खेप्दा प्रयोगमा आउने जुरी गद्दी निर्माण गर्दा सजिलो भएको वताए । यसले घोडाको ढाडमा घाउ नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पशु स्वास्थ्य तालिम तथा परामर्स सेवाका डा. डोविन भुषालले पशु स्वास्थ्य समस्यालाई दृष्टिगत गरी जिल्लाका विभिन्न स्थानमा जुरी गद्दी बनाउने, नाल खुर व्यवस्थापनजस्ता तालिम सञ्चालन गरिएको बताए । तालिमको सहजीकरण फूर्वा तामाङले गरेका थिए ।
घोडाको पिठ्युँमा भारी बोकाउँदा घाउ आउने भएकाले त्यसबाट जोगाउन जुरी र गद्दी लगाइन्छ । विशेष गरेर दूध बोक्दा क्यान र क्याक समाउने कानले घोडाको पिठ्युँमा घाउ बनाउने गर्दछ । यसरी भारी बोकाउँदा सुरुमा नै घाउ आयो र रोकथाम गर्न नसके पछि घोडाले भारी नै बोक्न नसक्ने र बिरामी हुने र मर्न पनि सक्ने पशु चिकित्सकको भनाइ छ ।
हाल जिल्लाको कन्याम क्षेत्रका किसानले मात्र ब्यावसायिक रूपमा घोडा पाल्दै आएका छन् । कन्याम र आसपासमा मात्र हाल ब्यावसायिक रूपमा घोडा पाल्ने गरिएको छ । फरक यति छ कि पहिला भारी बोकाउन घोडा पालिन्थ्यो ऐले चढेर फोटा खिचाउन घोडा पालिन्छ । ऊ बेला बाध्यताले घोडा पाल्ने गरिन्थ्यो तर ऐले रहरजस्तै बनेको छ । “पहिला पहिला मानिस र घोडा हिँड्ने बाटोको फरकफरक नामकरण नै गरिन्थ्यो, तर ती नाम आज कता हराए ?” एक वृद्धले भने गाउँमा जताततै सवारी साधन पुग्न थालेपछि घोडा मासिँदै गएका छन् ।
कन्याम क्षेत्रमा थोरै किसानले चिस्यान केन्द्रसम्म दूध पु¥याउन घोडाको प्रयोग गर्ने गर्दछन् । तर कन्याममा र जिल्लाका पर्यटकीय क्षेत्रमा हाल घोडामा सवार गराएर पर्यटकबाट पैसा असुल्न थालिएको छ ।
जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याममा घोडा दर्ता नै गराएर यसरी घोडा खेप्न थालिएको छ । सूर्योदय नगरपालिकामा तीन दर्जन बढी घोडा दर्ता भएर सो क्षेत्रमा सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । घोडा चलाएवापत ब्यवसायीले नगरपालिकालाई दैनिक ५० रुपैयाँ बुझाउँदै आएका छन् ।
घोडामा चढेर सेल्फी खिचेको ५० रुपैयाँ र कन्याम चियाबारी घुमेको एक सय रुपैयाँ लिने गरिएको छ । जिल्ला र जिल्ला बाहिरका पर्यटकले घोडा चढ्नु आफ्नो सोख पूरा गर्नु बताएका छन् । मोरङका पर्यटक दिनेश श्रेष्ठले अरुले घोडा चढेर फेसबुकमा अपलोड गरेको देखेपछि आफ्नो पनि इच्छा जागेको बताए । उनले निकै अगाडिदेखिको आफ्नो रहर पूरा भएको बताए । उनीजस्तै झपाकी मनीषा राईले पनि ताप्लेजुङ जाने क्रममा बाटैमा पर्ने कन्याममा घोडा चढेर आफ्नो रहर पूरा गरेको बताइन् । धेरै पर्यटक हाल कन्याममा घोडचढीको मजा लिन यस क्षेत्रमा आउने गरेका छन् ।
यस क्षेत्रमा सञ्चालित घोडाले मासिक ३० देखि ५० हजारसम्म कमाउने गरेको ब्यवसायी छिरिङ शेर्पाले बताए । उनले पर्यटकको चहलपहल भएअनुसार नै कमाइ हुने गरेको जानकारी दिए । उनका अनुसार एउटा घोडा खरिद गर्न पनि एक लाखदेखि तीन लाखसम्म पर्ने गरेको बताए । जिल्लाका कम किसानले मात्र घोडा पालेका छन् ।

टीका खतिवडा