कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
609

पाल्पाको तिनाउँ गाउँपालिकाले फुसको छानो विस्थापन गर्ने कार्यक्रमअन्तर्गत गाउँका विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ ।
गाउँपालिकाका विपन्न परिवारको आर्थिक अवस्था हेरेर फुसको छानोमा आगोलागी तथा हावाहुरीको समस्या हुने भएकाले उनीहरूलाई कर्कट पाताको घर छाउनका लागि गाउँपालिकाको फुसको छानो हटाउने कार्यक्रमअन्तर्गत जस्तापाता वितरण गरिएको गाउँपलिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

गाउँपालिकाभित्रका ५६ घर परिवारलाई ३ बण्डलका दरले जस्तापाता वितरण गरिएको हो । “यस वर्ष २० लाख बजेट विनियोजन गरेका थियौं,” अध्यक्ष घर्तीले भने, “हाम्रो गाउँपालिकामा करिब ४ सय घर फुसका छाना छन्, उनीहरूलाई पनि अर्को वर्षको बजेटबाट फुसको छानो विस्थापनको लागि सहयोग गरेर फुसको छानोरहित गाउँपालिका बनाउने अभियानमा लागेका छौं ।”
गाउँपालिकामा रहेका विपन्न परिवारलाई आर्थिक स्तर उकास्ने कार्यक्रमसहित प्रदेशबाट समेत विभिन्न खालका कामको सुरुवात गरिएको प्रदेश सांसद तुलाराम घर्तीले बताए । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका गाउँमा आयस्तर वृद्धि, सडक, खानेपानी लगायतका क्षेत्रमा आफूले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाएको बताए ।
यस वर्ष गाउँपालिकाले दलीत तथा विपन्न परिवारलाई छनोट गरेर वितरण गरेको र आगामी वर्षमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष घर्तीले बताए ।

 


सातामा धेरै पढिएको